PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आफ्नै पार्टीका नेतालाई काउन्टर दिँदै गगन थापाले भने: 'विपत्तिका बेला सरकार फेर्ने माग बेमौसमी बाजा'



पहिलोपोस्ट

आफ्नै पार्टीका नेतालाई काउन्टर दिँदै गगन थापाले भने: 'विपत्तिका बेला सरकार फेर्ने माग बेमौसमी बाजा'

काठमाडौं: नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले विपत्तिका बेला सरकार फेर्ने माग बेमौसमी बाजा भएको टिप्पणी गरेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस संक्रमणको विपत्तिका बेला राष्ट्रिय सहमतिको सरकारको आवश्यक रहेको बताएका बेला नेता थापाले सरकार फेर्ने कुरा बेमौसमी बाजा भएको टिप्पणी गरेका हुन्।

उनले अहिले सरकारले काम गर्ने र प्रतिपक्षले सहयोग गर्ने बेला भएकोमा समेत जोड दिएका छन्। नेता थापाले उपेन्द्र यादवको समाजवादी पार्टी र रवीन्द्र मिश्रको साझा पार्टीले गरेको कोरोना भाइरस विरुद्ध लड्न सर्वपक्षीय उच्चस्तरीय समिति गठनको मागलाई पनि बेमौसमी बाजा नै भनेका छन्। थापाले सरकारलाई सघाउने कुरा तालीमात्र नभई गल्तीमा गाली पनि भएको बताए।

'सरकारले पनि बुझोस्, सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो। कहिले सुझाव त कहिले दबाब हो। संकटमा दृढतापूर्वक सरकारसंगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं', थापाले भनेका छन्। 

यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग नभएको बताएका थिए। यसबारे कुनै छलफल समेत नभएको शर्माको भनाई छ।

'संकटमा सरकारलाई सघाउनु, सुझाव र दबाब दिनु हाम्रो कर्तव्य होl सरकारमा संगै नभएर पनि संगै लड्न सकिन्छl यही हो नेपाली कांग्रेसको आधिकारिक धारणा,' उनले ट्वीटरमा भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell