PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

लकडाउनमा दृष्टिविहीन : कमाई बन्द हुँदा राहतको पर्खाइमा, 'कहाँ पाइएला मास्क, कहाँ भेटिएला स्यानिटाइजर?'



फूलमाया पुरी

लकडाउनमा दृष्टिविहीन : कमाई बन्द हुँदा राहतको पर्खाइमा, 'कहाँ पाइएला मास्क, कहाँ भेटिएला स्यानिटाइजर?'
फाइल फोटो

काठमाडौं : मालती पहरी लगनखेलस्थित गडिखेलमा बस्छिन्। उनका श्रीमानले सडकमा बसेर  गीत गाएर कमाएको धेरथोर पैसाले परिवारको छाक टर्ने गरेको थियो। मालती र उनका श्रीमान दुवै दृष्टिविहिन।

दुई छोरा र एक छोरी छन् उनीहरुका। कोरोनाको संक्रमण फैलिने त्राससँगै कमाइमा पनि संकट आइपरेको छ उनीहरुलाई। दिनमा सयदेखि -एक हजारसम्म कमाउने उनीहरुको अहिले त कमाउने बाटै बन्द भएको छ।

भन्छिन्,‘पहिले कमाएको पैसा केही खुत्रुकेमा जम्मा गरेको थिएँ। त्यसैले जसोतसो यतिन्जेलसम्म चल्यो, अब खै के खाने होला।’

उनलाई कोरोनाको संक्रमण फैलिनेभन्दा पनि अझै ‘लकडाउन’ को समय थपिएको कुराले चिन्तित बनाएको छ। पाँच जनाको परिवार अलिअलि भएको पैसा पनि छोरीको एसइइ परीक्षाका लागि ‘फि’ तिरेर सकिएको उनी बताउँछन्।

‘पैसा नतिरे प्रवेश पत्रै नदिने भनेर स्कूलले भनेपछि फि बुझाएँ। तर प्रवेश पत्र ल्याएकै भोलिपल्ट परीक्षा रोकियो’  उनले भनिन्।

रेडियोमा समाचार सुनेर कतैबाट केही राहत पाइन्छ की भन्ने आशामा छिन् उनी।

***

भक्तपुरकी ४० वर्षीया ज्ञानु श्रेष्ठ छोराकै लागि भएपनि आफू बाँच्न चाहेको बताउँछिन्। ‘म एक्लै थिएँ भने त मरेर पनि केही हुँदैन थियो। तर छोराको लागि भए नि मैले बाँच्नुपर्छ’ उनले भनिन्।

उनका श्रीमानको निधन भइसकेको छ १० वर्षअघि। १२ वर्षीया छोरो एस्ओएस् बालग्राममा पढिरहका छन्। आफू दृष्टिबिहिन भएकै कारण श्रीमानका परिवारले बुहारीका रुपमा नस्वीकारे कुरा उनले बिर्सिएकी छैनन्।

थिमीमा बस्दै आएकी श्रेष्ठ कहिले अगरबत्ती बनाउने त कहिले मैनबत्ती बनाउँथिन्। आफ्नो गुजारा चलाउँथिन्। तर ‘लकडाउन’ सुरुभए सँगै उनको काम ठप्प भयो। खानै समस्या हुने भयो उनलाई। त्यसैले लकडाउनको अघिल्लो दिन नै लगनखेलस्थित दाजुकोमा शरण लिन पुगेकी छिन् उनी।

‘घरकाले हेर्दैनन्। काम बन्द भएपछि के गरी खाने त्यही भएर मरिन्छ की भन्ने डरले माइत आएँ’, उनले भनिन्।

***

कोरोना भाइरसको त्रासले गरिएको लकडाउनमा शारीरिक अपाङ्गता भएका र दृष्टिविहिन साथीहरुलाई अति नै कठिन भएको बताउँछन् नेत्रहीन संघ भक्तपुरका अध्यक्ष सुरेश राजभण्डारी।

‘ह्वील चियरमै बस्नु पर्ने अवस्थाका अपाङ्ग र उपत्यकामा एक्लै डेरा गरी बस्ने दृष्टीविहीन साथीहरुलाई साह्रै अफ्ठ्यारो परेको छ। उनीहरुलाई सहयोगीको खाँचो छ’ राजभण्डारीले भने।

हात धुन ह्यान्ड वास, स्यानिटाइजर, साबुनजस्ता सरसफाइका सामग्री अभावले जोखिम हुने चिन्ता व्यक्त गर्छन् उनी।

‘त्यस्तै कतिपय दृष्टिबिहीनलाई त हातै समाएर हिड्नुपर्छ। तर, हामीलाई भने मास्क पनि पाउनै मुस्किल छ’ उनले भने।

‘हिजोदेखि साथीहरु निकै आत्तिएका छन्’, सुरेश भन्छन्, ‘राहत वा सहयोगबारे बुझ्न तारन्तर फोन गरिरेहेका छन्।’ अध्यक्ष राजभण्डारीले भक्तपुरको त्यस्ता साथीहरुको व्यक्तिगत विवरण संकलन गर्न सुरु गरेको बताए।

चैत्र १६ गते आइतबार बिहानै देखि निकै ब्यस्त भयो नीरा अधिकारीको फोन  पनि। उनलाई बिहानैदेखि साथीहरुले फोन गरेर सोधिरहे – लकडाउन त अझै थपिन्छ अरे नी हो? फेरि घरमा खानेकुरा सकिँदै गयो, अब के खाने होला? छोराछोरीलाई के खुवाउने होला?

तर, उनीसँग उत्तर छैन।  उनी फोन गर्नेहरुलाई सम्झाउँछिन्, ‘ जे जति छ त्यसैले छाक टार्दै गर्ने। सरकार र नगरपालिकाले केही गर्ला नि। राहत प्याकेजका कुराहरु आइरहेका छन्।’

नीरा अधिकारी दृष्टिविहिन हुन् र नेत्रहिन संघकी सल्लाहकार पनि। उनी विगत एघार वर्षदेखि अधिकृत तहको सरकारी जागिर गर्दैछिन्। त्यसैले पनि उनलाई चिन्ने दृष्टिबिहिनहरुले फोन गरिरहेको उनी बताउँछिन्।

नीराका अनुसार बैंकमा पैसा छ तर झिक्न जान सकेकी छैन दृष्टिबिहिन सारदा पौडेलले।

नीरा अधिकारी आफ्नो कार्यकक्षमा।

सडकमा गीत गाएर आफ्नो दैनिक गुजरा चलाउनेदेखि लिएर सरकारी कर्मचारी बिन्दा भूर्तेलसम्मले फोन गरिरहेका छन् उनलाई।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत बिन्दा पनि लकडाउनकै कारण अफ्ठेरोमा परेकी छिन्। उनी भक्तपुरस्थित आफन्तको कोठामा सात दिनदेखि बस्दै आएकी छिन्।

दैनिक सडकका पेटी र चोकचोकमा बसेर गीत गाएर आफ्नो खर्च जोहो गर्नेहरुको बिजोग भएको नीरा बताउँछिन्। त्यस्तै अगरबत्ती वा मैनबत्ती तथा अन्य सामाग्री बेचेर आफ्नो गुजारा चलाउनेको पनि दयनीय अवस्था रहेको उनको बुझाइ छ।

साथीहरुको अवस्थालाई सोचेर निन्द्रै लाग्न छाडेको बताउँछिन् अधिकारी। २०७२ सालमा त्यत्रो भूकम्प जाँदा पनि काम गरियो। तर अहिले त यो के भाइरस आयो बाहिर निस्किनै जोखिम भयो’ निराश सुनिइन् नीरा।

भन्छिन्,‘म आफै पनि दिदीको घर भैंसीपाटीमा बसेकी छु। सोमबार पाँच बजेसम्मै अफिस, ललितपुर महानगरपालिकामा काम गरियो। मंगलवारदेखि सरकारले नेपालभर लकडाउन गर्दैछ भन्ने थाहा पाएपछि मंगलवार बिहानै चार बजे नै भदैनीले यहाँ ल्याएर छोडिन्।’

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत सोमवार चैत्र १० देखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो। आइतवार पुन: म्याद थपेर २५ गतेसम्म लकडाउन हुने भएको छ। यस अवस्थामा शारीरिक अपांगता भएका व्यक्तिहरुलाई स्थानीय तहको माध्यमबाट राहत उपलब्ध हुने बताइए पनि सुरु भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell