PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

कोरोनाको त्रास : अन्य बिरामी झन् जोखिममा, अकारण गुमाउँदै ज्यान [सम्पादकीय]



पहिलोपोस्ट

कोरोनाको त्रास : अन्य बिरामी झन् जोखिममा, अकारण गुमाउँदै ज्यान [सम्पादकीय]

एउटा महामारीको आतंकले मुलुकको स्वास्थ्य सेवा गम्भीर मोडमा पुगेको छ। फ्रन्टलाइनमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई भयरहित बनाउन नसक्दा अन्य रोगबाट ग्रसित पनि कोभिड–१९ कै 'बास्केट'मा हेरिँदैछन्। कोभिड-१९ कै आशंकामा सामान्य बिरामीहरूले समेत राम्रो उपचार सेवा नपाउँदा ज्यान गुमाउन थालेका छन्। बुटवलमा हिजो ज्यान गुमाउने व्यक्ति कोरोनाको आइसोलेसन वार्डमा उपचाररत थिए। आज एक जनाले पाटन अस्पतालमा ज्यान गुमाए। त्यस्तै वीर अस्पतालमा पनि कोभिड-१९ कै 'आशंका'मा रहेका बिरामीले ज्यान गुमाए। कोरोनाकै कारण मरेका त होइनन्? त्रास जताततै। भरतपुरमा पनि यसै गरी कोरोनाको आइसोलेसनमा रहेका व्यक्तिको ज्यान गयो। यसरी ज्यान गुमाउनेका परिवारप्रति समाजको दृष्टिकोण अझ डरलाग्दो छ। कोरोना भएर मृत्यु भएको होस् या अन्य कारण, मलामी जानेहरू तयार नहुने स्थिति पैदा भएको छ।

जतिको ज्यान गयो र स्वाब परीक्षण भयो, तिनमा कोरोनाको पोजेटिभ देखिएको छैन। कोरोनाविरुद्ध जारी संघर्षका दौरान मर्नेहरुमा नेगेटिभ देखिनु असाध्यै सुखद पाटो हो। तर, अस्पतालहरू रित्याउँदै कोरोनाको प्रतीक्षामा बसिरहँदा यसरी अरू नै कारणले मानिसले किन ज्यान गुमाइरहेका छन् त?

हतारमा खडा गरिएको बुटवलको कोरोना विशेष अस्पतालको हैसियत भक्तपुरमा नेपाली सेनाले खडा गरेको क्वारेन्टाइनभन्दा माथिल्लो छैन। बेड राख्दैमा अस्पताल मान्ने हो भने त देशभर रहेका सबै स्कुलका बेच्न जोड्दै कोरोना अस्पताल तयार भयो भन्दिए भयो। प्रचारका लागि यति काफी छ। होइन भने, आइसोलेसन अस्पताल भन्दै खुलेको अस्पतालमा न भेन्टिलेटर छ न आयसीयू शय्या नै। अनि रुघाखोकी र ज्वरोका संकेत देख्नासाथ यस्तै नाम मात्रका अस्पतालमा कोरोनाको आइसोलेसन भन्दै जम्मा पार्नुको औचित्य कसरी पुष्टि हुनसक्छ?

कोरोना संक्रमणको संकेत भन्दै सम्भावित अरू उपचारतिर ध्यान दिन छाड्ने वातावरण किन बनिरहेको छ? यो गम्भीर प्रश्न हो। काठमाडौँका ठूला अस्पताल यतिखेर रित्ता छन्। महत्त्वपूर्ण शल्यक्रिया पन्छाइएको छ। सरकारी अस्पतालमा इन्डोस्कोपीजस्ता सामान्य परीक्षण समेत बन्द छन्। आकस्मिक र कुनै पनि बहानामा पठाउन नमिल्ने बिरामीबाहेक अस्पतालमा कोही छैन। कोरोनाको कहर यसरी बढेको छ कि त्यसबाहेकका उपचार सबै सीमित बनेको छ।

कोरोनाले मात्र मानिसको जीवन जोखिममा पारिरहेको होइन, त्यसबाहेक धमाधम मानिसले ज्यान गुमाइरहेका छन्। पछिल्ला दिनमा कोरोना संक्रमण भन्दै नाम मात्रका आइसोलेसन वार्डमा भर्ना हुँदै ज्यान गुमाउने धेरैजसो बिरामी कम उमेरका छन्।

सरकारले कोरोनाको उपचारका लागि चिकित्सकहरूलाई चाहिने सबै प्राविधिक व्यवस्था राम्रोसँग गर्न सकेको छैन। त्यसैले कोरोना भन्नासाथ उनीहरू पनि हच्किने अवस्थामा छन्। चिकित्सकमात्र होइन, सामान्य रुघाखोकीको संक्रमणमा परेका मानिसहरूमा पनि आफूलाई कोरोना त भएन भन्ने त्रास छ। यसले कोरोनाभन्दा पनि डरलाग्दो भयको स्थिति पैदा गरेको छ।

जसरी चिकित्सकहरूका लागि प्रयोग हुने पीपीईको गुणस्तरमाथि बहस चल्यो, कोरोना उपचार विशेष अस्पताल भन्दै खुलेका यस्ता अस्पतालको विषयमा चर्चा किन भएन?

१२ दिन अगाडि विदेशबाट आएका बुटवलका युवामा कोभिड-१९ जस्तै लक्षण देखियो। क्लिनिकल डायग्निसीसमा निमोनिया देखियो। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दिएका लक्षणहरूको सूचीसँग देखिएका लक्षण दाँज्दा कोरोनाको परीक्षण तत्काल गर्नुपर्ने थियो। तर, उनको स्वाब पठाउन ढिलाइ भयो। अस्पताल भर्ना भएको तीन दिनसम्म पठाइएन्। मृत्यु पछिमात्र स्वाब पठाइयो। यदि उनको स्वाब पहिले नै परीक्षण हुन्थ्यो र कोभिड-१९ नेगेटिभ हुन्थ्यो भने उनले समयमै निमोनियाको उपचार पाउनसक्थे।

कोरोना शंकास्पद व्यक्तिलाई अन्य बिरामी राख्ने आइसीयूमा राख्न नमिल्ने र प्रादेशिक अस्पतालका आइसीयूमा रहेका बिरामीहरू हटाउन सम्भव नभएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईलाई उदृत गर्दै स्थानीय मिडियाले छापेका छन्। यसरी शंकाकै भरमा चिकित्सक टाढिँदै जाने, भएका सुविधा सम्पन्न अस्पतालहरूले भर्ना नलिने र भर्खरै देखाउनकै लागि खोलेका अस्पतालहरूमा सास फेर्ने व्यवस्था पनि नहुने हो भने कोभिड-१९ को भयावहभन्दा अर्को भयावह व्यहोर्नु नपर्ला भन्न सकिँदैन। बेलैमा यसतर्फ ध्यान दिन जरुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell