PahiloPost

May 30, 2020 | १७ जेठ २०७७

कोरोनाले भत्काउँदै विश्व व्यवस्था: महामारीपछि यसरी ग्लोबल लिडर बनेर उदाउँदैछ चीन



पहिलोपोस्ट

कोरोनाले भत्काउँदै विश्व व्यवस्था: महामारीपछि यसरी ग्लोबल लिडर बनेर उदाउँदैछ चीन

कोरोना भाइरसको महामारीबाट विश्वमा परेको प्रभावले हामीमाझ एक सारभूत प्रश्न खडा गरिदिएको छ। के यही समय नै त्यो ऐतिहासिक क्षण हो जसका कारण विश्व पूर्णतया परिवर्तन हुने दिशातर्फ उन्मुख छ?

के हाल भइरहेको राजनीतिक तथा आर्थिक शक्तिको सन्तुलनमा देखिएको परिवर्तन कायम रहिरहनेछ? के विश्वका अधिकांश देश र त्यहाँका नागरिकहरूको जीवन फेरि पुरानै अवस्थामा फर्कन सक्ला?

साधारण रूपमा भन्दा के यो हामीले बुझेजस्तो वर्तमान विश्व व्यवस्थाको अन्त्य हो? सँगसँगै के यो संकटले नयाँ विश्व व्यवस्थाको सुरुवातको संकेत गरेको छ?

वास्तवमा हालको विश्वमा विकसित गतिविधिले पुरानै व्यवस्थालाई कायम गर्न सक्ने सम्भावना झिनो छ। र, यही सिद्धान्तलाई सही मान्ने हो भने विश्व व्यवस्थामा कोभिड-१९ पूर्वको समय फेरि कहिल्यै फर्कने छैन। तर, पनि यसले धेरै अनुत्तरित प्रश्न भने खडा गरिदिएको छ। विश्व पूर्ववत् अवस्थामा फर्कन सक्छ वा झन् खराब अवस्थातर्फ विश्व व्यवस्था धकेलिन्छ प्रश्न यथावतै छ।

महामारीका कारण विश्वका लाखौँ सर्वसाधारण तथा परिवारहरूको सामान्य जीवन यसअघि नै समाप्त भइसकेको छ। हालको अवस्थामा महामारीले विभिन्न राष्ट्रहरूमा सरकार तथा राजनीतिक नेतृत्वहरू बीचको असफल सम्बन्धले भविष्यमा कस्तो असर पार्छ भन्न कठिन छ। के उनीहरू अझ निकट भएर काम गर्लान् वा हाल देखिएको संकटले आगामी दिनमा उनीहरूलाई अझ विभाजित बनाउँदै लैजाला? यसको उत्तर पनि कठिन छ।

कोरोना भाइरसले अमेरिका र चीनबीचको द्वन्द्वलाई झन्-झन् गहिरो बनाइदिएको छ तर महामारीले अन्तर्राष्ट्रिय सहकार्यलाई भने अझ बलियो बनाएको देखिन्छ। यस्तो परिस्थितिमा विश्वका देशहरू अझ बढी एकताबद्ध हुन्छन् वा अझ विभाजित हुनेछन् वा भनौँ खुला बजार अर्थतन्त्रको दिशातिर अघि बढ्नेछन् वा त्यो अझै साँघुरिँदै जान्छ? भन्ने प्रश्न पनि खडा भएको छ।

केही विश्लेषकहरू सकारात्मक सोचाई राख्छन्। उदाहरणका लागि उत्तरी इटाली र चीनलाई यो महामारीबाट फाइदा पुग्न सक्छ भन्ने उनीहरूको भनाई छ। इरान र युएई जस्ता अफ्ठेरो सम्बन्ध भएका देश पनि अहिले सहकार्य गरिरहेका छन् भलै त्यो अल्पकालीन होस्। फिलिपिन्समा महामारीकै कारण युद्ध विरामको घोषणा भएको छ। विश्वका राष्ट्रहरुबीच अन्तरसम्बन्ध तथा सामूहिक, बहुपक्षीय सहकार्य ज्वलन्त रूपमा देखिएका छन्।

अर्कोतर्फ निराशाजनक विचारधारा राख्ने विश्लेषकहरु पनि छन्। हार्वर्ड विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्रोफेसर स्टेफेन वाल्टले फरेन पोलिसी म्यागेजिनमा लेखेका छन्- 'महामारीले राज्यको शक्तिलाई बलियो बनाउँछ साथै राष्ट्रवाद अझ बढी हाबी हुन पुग्छ। सबै किसिमका सरकारहरूले संकट व्यवस्थापनका लागि आफ्नै संकटकालीन उपायहरू अपनाउनेछन् र संकट सकिएपछि पनि ती संकटकालीन समयका व्यवस्था यथावतै रहनेछन्।'

उनी भन्छन्- 'कोभिड १९ ले विश्व शक्ति पश्चिमी देशहरूबाट पूर्वतर्फका देशहरूमा सर्दै जाने देखिन्छ। कोरोना संकटबाट युरोप र अमेरिकामा कोरोनाविरुद्ध सरकारको व्यवस्थापन कमजोर र मन्द देखियो भने चीन, दक्षिण कोरिया र सिंगापुर जस्ता देशहरू तुलनात्मक रूपमा बढी सक्रिय र प्रभावकारी भए जसले विश्वमा पश्चिमी देशहरूको चमक र ब्राण्डलाई धुमिल पारिदिएको छ र चीन लगायतका देशहरूको जबर्जस्त उदय भएको छ। विश्वभर नै वर्तमान चरम विश्वव्यापीकरणका कारण नागरिकहरूले राज्यबाट आफ्नो सुरक्षाको माग गर्नेछन् र सरकारले भविष्यमा आइपर्ने संकट टारोस् भन्ने अपेक्षा गर्नेछन्। संक्षेपमा कोभिड १९ ले विश्वमा कम समृद्ध र कम खुला बजार अर्थतन्त्र भएको विश्वको सिर्जना गर्नेछ।'

के वाल्टको यो विश्लेषण सही छ त? यसको जवाफ समयले नै दिनेछ। तर पनि विश्वले आगामी दिनमा देख्ने परिणामको पूर्वाभाष भने भइसकेको छ। विश्वका सबै देशहरूका राष्ट्राध्यक्ष वा सरकार प्रमुख, प्रधानमन्त्री लगायत आम नागरिकहरूले पनि यस विषम परिस्थितिमा उत्पन्न चुनौती तथा महामारीबाट उत्पन्न परिस्थितिप्रति कसरी प्रतिक्रिया जनाउँछन् त्यसमा भर पर्नेछ।

शक्ति सन्तुलन

गत नोभेम्बरमा वुहानबाट सुरु भएको कोभिड १९ महामारीमा सुरुवाती कमजोरीका बाबजुद चीन सरकारले अन्ततः सुनाउन लायक सफलता हासिल गर्‍यो। रोगलाई नियन्त्रणमा लिन चीनले निकै मेहनत र अथक प्रयास गरेको दाबी गरेको छ। हाल इटाली र अन्य अति प्रभावित देशहरूलाई चीनले सहायता गरिरहेको देखिन्छ। यसले चीन 'ग्लोबल लिडर'का रूपमा आफूलाई उभ्याउँदै गरेको देखिन्छ। यो भाइरस चीनका निमित्त "सफ्ट पावर टुल" जस्तै बनेको छ जसबाट उसले आफ्नो चीर प्रतिद्वन्दीका रूपमा रहेको अर्को सुपर पावर देश अमेरिकालाई समेत पछि पार्न सफल भएको छ।

सारांशमा भन्दा बेइजिङले कोभिड १९ सँग लड्दा हात पारेको भनिएको सफलता मुख्य हो। कर्ट क्यामबेल र रस दोसीले फरेन अफेयर्स म्यागेजिनमा लेखेका छन् -'चीनले विश्वभर मन्द गतिमा फैलाएको प्रचार सामाग्री, ट्वीट तथा सार्वजनिक सन्देश विविध भाषामा विश्वभर पुर्‍याइएको छ। यसबाट चीनको सफलता र सुशासनमा उसको मोडलको प्रभावकारिताबारे पनि विश्वले जानकारी पाइरहेका छन्।'

यसको विपरीत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने महामारी नियन्त्रणको असफलताका बाबजुद संघर्षरत छन्। अमेरिकी वैदेशिक सम्बन्ध परिषद्की मीरा र्‍याप हुपर भन्छिन्- 'महामारीमा अमेरिकी सरकारको नेतृत्व नै असफलताको "ब्राण्ड" कै रूपमा देखियो। आफूलाई विश्व संकटको समयको नेतृत्वकर्ता बन्नु त परै जाओस् उसले अमेरिकी नागरिकहरूको स्वास्थ्यलाई नै अनावश्यक जोखिममा पारेको छ।'

उनी भन्छिन् - 'यो आन्तरिक तथा अन्तर्राष्ट्रिय नेतृत्व संकटले अन्तर्राष्ट्रिय व्यवस्थालाई विभिन्न किसिमले असर गर्ने देखिन्छ। यदि अमेरिकी यसैगरि विश्व व्यवस्थामा अनुपस्थित देखिने हो भने चीनले यो संकटको घडिलाई अवसरका रूपमा लिनेछ र आफ्नै विश्व सुशासनको भिजन अनुसारको नयाँ नियम लागू गर्नेछ।'

कोभिड १९ संकट सुरु हुनुअघि नै चीनले अमेरिकी साम्राज्यवादलाई पहिलेदेखि चुनौती दिँदै आएको थियो। महामारीले हालको अवस्थामा यसलाई अझ तीव्र बनाइदिएको छ। अमेरिकाले भन्दै आएको प्रजातन्त्र, सुशासन, नागरिकको अधिकार र वाक स्वतन्त्रतालाई महत्त्व दिने अमेरिकी पक्षधर प्रजातन्त्रवादीहरुका लागि भने यो चिन्ताजनक विषय हो ।

केन्द्रीकृत र निरंकुश शासन व्यवस्थाको ट्रेन्ड भारत, ब्राजिल र टर्कीमा देखिइसकेको छ। जुन चीन र रुसले पहिलेदेखि नै पछ्याइरहेको शासन पद्धति हो। केही देशहरूले राजनीतिक स्वार्थ पूर्तिकालागि भाइरसलाई हतियारका रूपमा प्रयोग गरी चीनकै पद्धति अनुशरण गरिरहेका छन्।

'निश्चय नै महामारी नागरिकको स्वास्थ्य तथा वैश्विक अर्थतन्त्रका लागि शताब्दी कै चुनौती बनेर आएको छ तर यसले उत्पन्न गरेको राजनीतिक परिस्थितिलाई भने कमै आँकिएको छ' -गत हप्तामात्रै स्वतन्त्र अनुगमन गर्दै आएको इन्टरनेशनल क्राइसिस ग्रुप आइसिजीले चेतावनी दिएको छ। भ्रष्ट तथा अवसरवादी नेतृत्वले यस महामारीका बखत पनि आफ्नो स्वार्थ पूर्तिका लागि महामारीलाई हतियार बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संकटको अवस्था ल्याउन सक्छन्। यस्तो परिस्थितिमा प्रतिस्पर्धी राज्यहरुबीचको द्वन्द्व अझ बढ्नेछ। आइसिजीले भनेको छ।

यसको उदाहरणका रूपमा हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो राष्ट्रपतीय शासन सन् २०३६ सम्म लम्ब्याउन गरेको प्रयासलाई लिन सकिन्छ। भलै कोभिड महामारीका कारण निर्वाचन स्थगित भयो।

यस्तै हंगेरीका राजनेता भिक्तोर ओरबानले संकटकाल लगाउँदै राज्यको कानुन उल्लंघन गर्ने र सरकारबारे गलत सूचना प्रवाह गर्नेलाई पाँच वर्ष कैद सजाय सुनाएका छन्।

इजिप्टको सरकारले पनि चीनको सिको गर्दै विदेशी पत्रकारहरूलाई निष्कासन गर्ने, मिडियाको पहुँचलाई निषेध गर्ने र सार्वजनिक बहसहरूलाई बन्देज लगाउने काम गरिरहेको छ। बेलायतमा बोरिस जोनसोनका साथै धेरै युरोपेली राजनेताहरूले जस्तै ट्रम्पले पनि अमेरिकामा संकटकालीन शक्ति प्रयोग गरेका छन्। बोलिभिया, भारत, श्रीलंका, इराकदेखि अमेरिका, बेलायत, फ्रान्सजस्ता देशहरूमा निर्वाचन स्थगित भएका छन्। संसद् चालु छैनन् र लकडाउन र कर्फ्यूसम्म लगाइएका छन्।

अल्पकालका लागि त नागरिकहरुले यस्ता विषयहरूमा सहमति जनाउँछन् तर संकटको यो घडि लम्बिँदै गयो र महामारीको दोस्रो लहर सुरु भई आगामी वर्षसम्म पनि यत्तिकै रहिरह्यो भने के होला? भाइरसको प्रभाव सकिएपछि पनि हाल विभिन्न देशहरूमा लगाइएका संकटकालीन शक्तिहरूको प्रयोग स्थगित भएन भने के होला? हार्वर्डका प्रोफेसर स्टेफेन वाल्टले भने झैँ कोरोना महामारीपछिको विश्वमा 'नियन्त्रित' विश्व अर्थतन्त्रको खतरा छ।

विश्वव्यापीकरण र बहुपक्षीयवाद

कोभिड महामारीबाट परिरहेको प्रभाव कम गर्न सरकारहरूले व्यापार क्षेत्र तथा कामदारहरुका लागि राहत प्याकेजको घोषणा गरिरहेका छन्। यसबाट महामारीले आर्थिक तथा वित्तीय क्षेत्रमा पार्ने प्रभावलाई घटाउन सहयोग गर्ने नै छ भने केही विज्ञहरूले यसलाई राज्यको भूमिकाको पुनरागमन मानेका छन्।

खासमा संकटको अवस्थाले के देखाएको छ भने विद्यमान संकटको अवस्थामा राज्यले नै समग्र र समतामूलक समाधान दिन सक्छ। यसबाट स्वाभाविक रूपमै के प्रमाणित भएको छ भने "विश्वव्यापीकरण" को घडा भरिइसकेको छ र अब तीव्र रूपमा वर्तमान विश्व व्यवस्थाको परिवर्तन हुन्छ।

चाथाम हाउस थिंक ट्याङ्कका निर्देशक रोबिन निब्लेटका अनुसार यो महामारीले आर्थिक विश्वव्यापीकरणको ढाड अन्ततोगत्वा भाँचिदिएको छ। बिसौँ शताब्दीमा स्थापित विश्वको आर्थिक नीति हाल जोखिममा परेको छ। यसबाट विश्वका राजनीतिक नेतृतवहरुको भूराजनीतिक प्रतिस्पर्धा सुरु हुने खतरा बढेको पनि उनले बताएका छन्।

युरेसिया ग्रुपका रोबर्ट काप्लान भन्छन्- 'कोरोना भाइरस संक्रमणले पहिलो र दोस्रो विश्वव्यापीकरणको सीमा कोरिदिएको छ जसले संसारमा बढ्दो सैनिकीकरणका साथै दुई ठूला शक्ति समूह र फरक आपूर्ति सञ्जाल (सप्लाई चेन)को स्थापना गरिदिएको छ। समग्रमा यो नयाँ र पुनःउदयीमान विश्व विभाजनको कथा हो।'

यसरी संकटका बेला क्रमशः कमजोर बन्दै गइरहेको बहुपक्षीयवाद र बहुपक्षीय संस्थाहरूबाट विश्व उदारवादबाट खुम्चिएर राष्ट्रवादतर्फ गइरहेको संकेत गर्छ।

नाजुक हुँदै गएको विश्व व्यवस्था

गरिब तथा सीमित साधनस्रोत भएका राष्ट्रहरूका लागि यो महामारी 'गेम चेन्जर'का रूपमा नै पनि आउन सक्छ तर द्वन्द्वग्रस्त क्षेत्रका मानिस तथा शरणार्थीहरूका लागि भने यो पक्कै पनि राम्रो हुने छैन।

आइसिजीले आफ्नो प्रतिवेदनमा भनेको छ- 'यस वैश्विक महामारीले नाजुक राष्ट्रहरूमा अझ बढी अस्थिरता उत्पन्न गराउन सक्छ र यदि यो महामारी जनघनत्व बढी भएका शहरी केन्द्रहरूमा फैलिएमा यसलाई नियन्त्रण गर्नु लगभग असम्भव नै हुनेछ। हालको अवस्थामा अफ्रिकी सहरहरूमा यो जोखिम बढेको छ।'

प्रतिवेदनले विश्व आर्थिक मन्दीले व्यापार को बहावलाई नराम्रोसँग प्रभावित पार्नुका साथै गरिब देशहरूमा बेरोजगारी समस्या अझ बढाउने खतरा औँल्याएको छ। यसले द्वन्द्वमा फसेका देशहरूमा अझ गम्भीर समस्या निम्त्याउँछ जसकारण उनीहरूले पाउनुपर्ने मानवीय सहयोग, शान्ति प्रक्रिया र कूटनीतिक सम्बन्धहरूमा समेत असर पार्नेछ। युद्ध प्रभावित सिरिया, अफगानिस्तान, सोमालिया, दक्षिणी सुडान र यमनका नागरिकहरू यसबाट सबैभन्दा बढी प्रभावित हुनेछन्।

महामारी थेग्न सक्ने क्षमता र विक्षिप्त मनोदशा

यस महामारीले विकसित भनिने देशहरूको पनि स्वास्थ्य सेवामा साधनस्रोतको अपर्याप्तता साथै संकट थेग्न सक्ने क्षमताको चरम अभाव देखाएको छ। धेरै सरकारहरूले संकट समाधानका लागि सेना परिचालन गर्नु र साधनस्रोतका लागि सहयोग माग्नुले सामाजिक समन्वय समेत कमजोर भएको देखाउँछ ।

लण्डन स्कुल अफ इकोनोमिक्सका प्रोफेसर ब्राङ्को मिलानोभिक भन्छन् -'संकट समाधानका लागि सरकारले सेना वा अर्धसैनिक बल परिचालन गर्दा सामाजिक समन्वय तथा सम्बन्धमा खलल पुग्छ। हालको अवस्थामा आर्थिक नीतिको महत्त्वपूर्ण वा अझ भनौँ एकमात्र उद्देश्य भनेकै वित्तीय बजारहरूलाई सहयोग गर्नुभन्दा पनि सामाजिक विखण्डनलाई रोक्नु हो।'

महामारीले विश्वका विभिन्न राष्ट्रहरुबीच विभाजन गहिरिएर जाने चिन्ता बढाएको छ। यसले आप्रवासी विरोधी मनोविज्ञानलाई बढाउँदैछ र त्यसले निम्त्याउने द्वन्द्वलाई समाधान गर्नका लागि संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय प्रयासहरूको थालनी हुनेछ। सैन्य र आर्थिक द्वन्द्व घटाउनका लागि संयुक्त राष्ट्र संघले सहयोग गरे पनि यसले सर्वोच्चताको लागि चीन र अमेरिकाबीच जारी द्वन्द्वलाई भने घटाउने छैन।

हालको अवस्थामा कोरोना भाइरसको महामारीमा देखिएको पश्चिमा देशहरूको अक्षमताले विश्वका अन्य देशहरूलाई कसरी संकटलाई नियन्त्रण गर्न सकिन्छ भन्ने सिकाइको उपयुक्त अवसर पनि दिएको छ।

तथापि पश्चिमा देशहरूले अंगीकार गरेको प्रजातान्त्रिक अभ्यासहरूले नै दीर्घकालमा नयाँ युगको सिर्जना गर्नेछ। साथै यसबाट नै दीर्घकालमा यथार्थपूर्ण संरक्षणकारी अन्तर्राष्ट्रियवाद स्थापित हुनेछ।

जे होस् विषम परिस्थितिपछि फेरि नयाँ सुरुवात हुनेछ।

(द गार्जियनबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell