PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

इटालीमा रोकिएन मृत्युको सिलसिला, कोरोनाबाट अमेरिकामा पनि मृत्युदर तीव्र



पहिलोपोस्ट

इटालीमा रोकिएन मृत्युको सिलसिला, कोरोनाबाट अमेरिकामा पनि मृत्युदर तीव्र
Photo: EFE

काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ।

जोन्स होपकिन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ। चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ। पछिल्ला दिनहरुमा दैनिक ७ सय भन्दा बढी मृत्यु भइरहेको छ। यहाँ अझै मृत्युको सिलसिला रोकिने छाटकाट छैन। इटालीको लोम्बार्डी इलाका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ।

इटालीमा हालसम्म एक लाखभन्दा बढी संक्रमित छन्। १४ हजार मानिस उपचारपछि निको भएका छन्।

इटालीसँगै स्पेनमा पनि मर्नेको संख्या बढ्दो छ। हिजोमात्रै ६ हजारभन्दा बढीको मृत्यु भएको स्पेनमा आज यो आंकडा बढेर ७ हजार नाघेको छ। स्पेनमा १६ हजार बढी मानिस निको भएका छन्। यहां संक्रमित मानिसको संख्या ८७ हजारभन्दा बढी छ।

कोरोना भाइरसबाट मृत्यु हुने संख्याको अधारमा स्पेन दोस्रो नम्बरमा छ।

अमेरिकामा मृत्युदर तीव्र

अमेरिकामा पनि कोरोना भाइरसबाट मर्नेको संख्या तीव्र रुपमा बढिरहेको छ। यहाँ मृत्यु हुनेको संख्या ३ हजार ८ जना पुगेको जोन्स होपकिन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकले देखाएको छ। जसमा सबैभन्दा धेरै न्युयोर्के सहरमा ९ सय १४ जनाको मृत्यु भएको छ। न्युयोर्कपछि न्युजर्सी अमेरिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ १९८ जनाको मृत्यु भइसकेको छ।

अमेरिकामा विश्वकै सबभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित मानिस छ। जसको संख्या एक लाख ६३ हजार भन्दा बढी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युको आँकडा रोक्नु अमेरिकाका लागि चुनौती भएको बताएका थिए। त्यसैगरी अमेरिकी सरकारका संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसबाट एकदेखि दुई लाख मानिससम्मको ज्यान जान सक्ने चेतावनी दिएका थिए।

कोरोना भाइरसबाट विश्वमा ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब ८ लाख संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell