PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

४ संक्रमित चढेका ३ विमानका पनि सबै यात्रु सम्पर्कमा छैनन्, तर मन्त्रालय भन्छ : ४१ हजार ट्र्याकिङ !



सविन ढकाल

४ संक्रमित चढेका ३ विमानका पनि सबै यात्रु सम्पर्कमा छैनन्, तर मन्त्रालय भन्छ : ४१ हजार ट्र्याकिङ !

काठमाडौं : हिजो स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै एउटा गजबको तथ्याङ्क सार्वजनिक गर्‍यो र भन्यो - ४१ हजार १ सय ४० जना बाहिरबाट नेपाल आएकाहरुको ट्रेसिङ गरिएको छ। तर, रोचक अर्को तथ्य के छ भने - अहिलेसम्म कोरोना संक्रमण देखिएका पछिल्ला ४ केससँग जोडिएका तीन वटा विमानबाट नेपाल भित्रिएकालाई समेत ट्र्याक गर्न सकिएको छैन। नेपालमा सबैभन्दा पहिलो केस सार्वजनिक हुँदा त अन्य यात्रुलाई सरेको हुनसक्ने आशंकासमेत गरिएन, ट्र्याकिङ त परको कुरा।

तर, तथ्याङ्क देखाएकै भरमा मन्त्रालयले भन्यो - ४१ हजार १ सय ४० लाई ट्रेसिङ गरियो। विमानस्थलबाट बाहिरिनुलाई नै ट्रेसिङ मान्ने हो भने ठीकै होला अन्यथा यो मित्थ्याङ्कबाहेक केही हुन सक्दैन। तर, मन्त्रालयले स्थानीय तह परिचालन गरेर उनीहरुलाई ट्र्याकिङ गरेको दावी गरेको छ। ठीक छ, मन्त्रालयको पछिल्लो दावी सही हो भने किन पछिल्ला कोरोना संक्रमितहरु चढेको अन्तर्राष्ट्रिय विमान र आन्तरिक विमानबाट यात्रा गर्नेहरु किन पहिचान हुन सकिरहेको छैन त? के फ्लाइटमा आएकाको अध्यागमनको सूची र उनीहरुको ठेगाना पाउनुमात्र ट्र्याकिङ हुनु हो?

फ्रान्सबाट दोहा हुँदै चैत ४ गते नेपाल आएकी किशोरी चढेको विमानमा १ सय ५८ जना यात्रु आएको देखिएको छ। त्यसपछि ती यात्रुमा पनि संक्रमण भएको आशंकमा सरकारले उनीहरुको खोजी थाल्यो। चैत ४ गते स्वदेश फर्किएका उनीहरुमध्ये केही अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्। अहिलेसम्म विमानमा भएका १ सय ५८ जनामध्ये १ सय ३५ जना मात्र सम्पर्कमा आएका छन्।

'हामीले सबैलाई सम्पर्क गरिरहेका छौं। तर सबै जना सम्पर्कमा आएका छैनन्,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने। ४५ जिल्लाका मानिसहरु सो विमानबाट काठमाडौं ओर्लिएका थिए।

उनीहरु मध्ये धेरै जना क्वारेन्टाइनमा बसेका छन्। त्यस्तै चैत ६ गते नेपाल आएको एयर अरेवियाबाट एक यात्रुमा पनि कोरोनाको संक्रमण देखियो। विमानमा १ सय ७० जना यात्रु रहेको प्रहरीले जानकारी दिएको छ। संक्रमण देखिएपछि प्रहरीले त्यस विमानका यात्रुसमेत खोज्न थालेको छ। अहिलेसम्म ३२ जना यात्रुमात्र सम्पर्कमा आएका छन्।

'हामीलाई अध्यागमनले दिएको जानकारी अनुसार नै यात्रु खोजिरहेका छौं। सूचना पनि जारी गरेका छौं। तर, उहाँहरु सम्पर्कमा नै आउनु भएको छैन,' जोशीले बताए।

भारबाट आएका एक जनामा संक्रमण भएको खुलेको छ। दुवईबाट भारत हुँदै एयर भिस्तराको बाट चैत ७ गते नेपाल आएका थिए। उनीसँगै विमानमा १ सय ३० जना यात्रु थिए। अहिलेसम्म उनीसँगै आएका ४ जनामात्र सम्पर्कमा आएका छन्।

भिस्तराबाट काठमाडौं आएका यात्रु चैत ८ गते नेपालगञ्ज उडे। त्यसमा रहेका यात्रुसमेत खोजीमै छन्। 'एक जना बिरामी बुद्ध एयरबाट नेपालगञ्ज पुगेको भेटियो। त्यसका पनि यात्रु खोजी गरिरहेका छौं,' एसएसपी जोशीले भने।

वाग्लुङमा संक्रमित किशोरी पनि यति एयरलाइन्स बाट पोखरा हुँदै गएकी थिइन्। त्यसमा यात्रा गर्नेलाई पनि प्रहरीले ट्र्याक गर्न सकिरहेको छैन।

मन्त्रालयको दावी सूचीमात्र हो भने ठीकै हो अन्यथा पत्याउन सकिनेखालेको छैन।

चासो चैत १ गतेपछि, तथ्याङ्क चाहिँ कहिलेदेखिको?

'चैत १ गतेबाट स्वदेश फर्किएका सबै जान क्वारेन्टाइनमा बस्नु होला र सम्वन्धित निकायको सम्पर्कमा आउनुहोला।'

गएको आइतवार बसेको उच्चस्तरीय समन्वय समितिले बैठकले भन्यो। समिति त्यतिमै रोकिएन। निर्णयको बर्खिलाप जानेलाई कारबाही समेत गर्ने जानकारी गरायो।

यसको सोझो अर्थ हो - मानिसहरु 'सम्बन्धित निकाय'को सम्पर्कमा आएनन्।

त्यही भएर, सरुवा रोग नियन्त्रण ऐन २०२० अनुसार कैद गरिनेसम्मको सजाय हुने समितिले निर्णय गर्‍यो। यस ऐन अन्तर्गत दिइएको आदेश अपहेलना गर्नेलाई एक महिनासम्म कैद र एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।

कोरोनाको संक्रमण फैलिन रोक्न सरकारले चैत १० गतेदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान नै बन्द गरेको छ। त्यसअघि पनि ५५ वटा देशका नागरिकलाई प्रवेश गर्न रोक लगाएको थियो। वैसाख ३ गते सम्मलाई अन्तर्राष्ट्रिय उडान बन्द नै छ। 

नेपाल आएकाको ट्र्याकिङ गरिएको भनिए पनि कहिलेदेखि ट्र्याकिङ थालिएको चाहिँ मन्त्रालयले बताएको छैन। किनकि पहिलो केस आउँदा ट्र्याकिङ गर्ने विषय अहिलेजस्तो बहसमा पनि थिएन, सरकारको चासोमा पनि परेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell