
काठमाडौं: तरुण दलले कोरोना महामारी फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण बाटोमा अलपत्र यात्रुको उद्धार गर्ने भएको छ। स्थानीय प्रशासनसँग समन्वय गरी अलपत्र परेकाहरुलाई गन्तव्यसम्म पुर्याउने र खाना बस्नको व्यवस्था समेत गर्ने तरुण दलले जनाएको छ।
तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मंगलबार जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै स्थानीय प्रशासनसँग मिलेर अलपत्र नागरिकको उद्धार गर्न निर्देशन दिएका छन्। 'लकडाउनका कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने,' परिपत्रमा भनिएको छ।
लकडाउन थपिदा जनजीवन थप कठीन बन्ने भन्दै अध्यक्ष बस्नेतले स्थानीय प्रशासनसँग समन्वय गर्न भनेका छन्।
परिपत्रमा विदेशबाट आएका व्यक्तिलाई प्रशासनसँग समन्वय गरी क्वारेन्टाइनमा पुग्ने वातावरण सिर्जना गर्ने, लकडाउनको पालना गराउन भूमिका निर्वाह गर्ने, देशका विभिन्न भूभागबाट आएका व्यक्ति समस्यामा परेको भए आ-आफ्नो जिल्लामा समाधान गर्ने, स्थानीय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा दुरी कायम गराउन सहजीकरण गर्ने, ज्यालामजदुरी गर्ने वर्गको दैनिक जीवन निर्वाहका लागि आवश्यक सहयोग गर्न भनिएको छ।
त्यसैगरी भारतबाट फर्केर सीमा नाकामा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा बस्नेगरी नेपाल भित्रिने सहज वातावरण मिलाउन स्थानीय प्रशासनसँग समन्वय गर्न पनि भनिएको छ।