पेरिस : इभानगेलिकल सुपर चर्चको स्टेजबाट गोस्पेल चोइर सम्पन्न भएको साँझ त्यहाँका प्रमुखले सोधे- 'हामीले भगवानको उत्सव मनाउँदै छौं। तपाईँहरु आनन्द लिइरहनु भएको छ?'
'हो!' क्रिश्चियन ओपन डोर चर्चमा फेब्रुअरी १८ मा भेला भएका सयौं अनुयायीहरुले एक स्वरमा भने।
उनीहरुमध्ये कतिले त हजारौं माइलको यात्रा तय गरेर साता लामो भेलामा सहभागी हुन् मुलहाउस भन्ने ठाउँमा आइपुगेका थिए। फ्रान्सको स्विट्जरल्याण्ड, र जर्मनीलाई जोड्ने सीमा क्षेत्र एक लाख जनसंख्या छ।
चर्चको क्यालेन्डर अनुसार धेरैका लागि यो स्थान भ्रमणको उच्च प्राथमिकतामा थियो। यसैबेला प्रार्थनामा सहभागी एकजना चिच्याए- 'कोरोना भाइरस।'
यही प्रार्थनासभा उत्तरी युरोमा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित फ्रान्सलाई ठूलो समूहमा कोभिड-१९बाट संक्रमित गराएको स्थानीय सरकारले बताएको छ। संक्रमित पुष्टि भएकामध्ये २ हजार ५ सय जना यही चर्चसँग जोडिएका छन्।
प्रार्थनामा सहभागीहरुले थाहै नपाई आफ्नो घरमा कोभिड-१९ लाई पुर्याए; पश्चिम फ्रिकाको बुर्किनाफासो देखि क्रोसिकाको मेडिटेरियन आइल्याण्डसम्म, ल्याटिन अमेरिकाको गुयना देखि स्वीट्जरल्याण्डसम्म। फ्रान्सको न्युक्लियर पावर प्लान्ट र युरोपको सबैभन्दा ठूलो अटो मेकरको वर्कसपसम्म।
एक हप्तापछि जर्मनीले फ्रान्ससँगका सीमा बन्द गर्यो। २५ वर्ष अगाडि भएको 'फ्रि मुभमेन्ट प्याक्ट'लाई स्थगित गरियो। जर्मनीको यस निर्णयसँग जानकार रहेका दुई जनाले रोयटर्सलाई सीमा बन्द गर्नुको कारण चर्च नै भएको बताएका छन्। चर्च स्रोतका अनुसार प्रार्थनामा सहभागीमध्ये १७ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, अन्य संक्रमण पनि धार्मिक सभासँग जोडिएर आएका छन्। दक्षिण कोरियाको एक चर्चले त्यहाँ पाँच हजार जनाभन्दा बढीलाई संक्रमित बनायो। क्रिस्चियन ओपन डोर प्रार्थना सभाका अधिकारीहरुले नै यसबारे जानकारी दिएका हुन्।
जब मानिसहरु प्रार्थनाका लागि चर्चमा भेला हुँदै गए, एउटा पुरानो सपिङ सेन्टरलाई दुई हजार पाँच जना अट्नसक्ने अडिटोरियमको रुपमा विकास गरियो। यही भेला नै कोभिड-१९ का लागि टाइम बम झै बन्यो। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार त्यतिबेलासम्म फ्रान्समा जम्मा १२ जनामा मात्र कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। मुलहाउस क्षेत्रमा भने कुनै संक्रमण थिएन।
फ्रान्सजस्तै, अन्य उत्तरी युरोपका सरकारहरुले ठूला सभाहरुलाई रोक लगाएका थिएनन्। त्यहाँ हात पखाल्नका लागि कुनै 'सेनिटाइजर' थिएन। हात मिलाउनुको सट्टा कुहिनो ठोक्काउने चलन पनि आइसकेको थिएन।
'हामीले त्यतिबेला कोभिडलाई धेरै परको देख्यौं,' चर्चका संस्थापकका नातिनी तथा सभाको नेतृत्व गरेका पास्टरका छोरी जोनाथनले भनिन्। उनका पिता अन्तरवार्ता दिने अवस्थामा छैनन् किनकि उनी कोभिड-१९ को संक्रमणबाट ग्रसित छन्।
चर्चसँग जोडिएको पहिलो केस फेब्रुअरी २९ मा पत्ता लागेको थियो। जनस्वास्थ्य अधिकारीले ती व्यक्तिसँगका सम्पर्कमा आएका अरुहरुको ट्रेसिङ थाले। चर्चले दिएको सूची अनुसार स्वास्थ्य अधिकारीहरुले त्यहाँ भेला भएका मानिसहरुको ट्रेसिङ गर्न थालेका थिए। तर, त्यतिबेलासम्म ढिलाइ भइसकेको थियो।
फ्रान्सको राष्ट्रिय जनस्वास्थ्य एजेन्सीका माइकल वर्नेका अनुसार जतिबेला ट्रेसिङ गर्न थालियो, त्यतिखेरसम्म कतिपय व्यक्तिहरु विरामी परिसकेका थिए।
'हामीलाई महसुस भयो कि हाम्रो अगाडि टाइम बम छ,' उनले भनेका छन्।
यस भेलामा सहभागी भएकामध्ये एक स्थानीय ३७ वर्षीय इली विडमर पनि हुन्। उनी त्यहाँको स्थानीय हाउस विल्डिङ कम्पनीका म्यानेजर हुन्। उनका बुबा चर्चका सदस्य हुन् जुन सन् १९६६ मा जिन पिटरस्मितले बनाएका थिए। उनकी विरामी श्रीमती एकाएक स्वस्थ भएपछि उनले यसलाई अंगालेका थिए।
विडमर किशोर अवस्थामा चर्चबाट टाढिएका थिए तर, उनी नजिकिए। मुलहाउसको सभा वर्षभरी नै हेर्न लायक हुन्छ। 'तपाईँले विशेष उर्जा प्राप्त गरेको महसुस गर्नुहुन्छ साताभरी नै। एक साताका लागि तपाईँले अरु सबै भुल्नुहन्छ र आध्यात्मिक चेताना भरिन्छ,' उनले भने। यसपटकको भेलामा उनी चर्चको अर्केस्टामा ड्रमरको रुपमा सहभागी भएर सात दिनसम्म त्यहीँ रहे।
यस भेलामा बाहिरबाट आउनेमा ७० वर्षीया हजुरआमा एन्टोइनेटे पनि थिइन्। उनी कोर्सिकाको मेडिटेरियन टापुबाट आएकी थिइन्। उनका लागि यो भेला २५ वर्षदेखिको परम्परा जस्तै थियो। उनले त्यहाँ अरु पाँचजना महिलासँगै यात्रा गरेकी थिइन्। उनमा संक्रमण भएको पूर्ण रुपमा पत्ता लागेको छैन। उनमा गम्भीर मुटुको समस्या छ।
'हामीलाई केही थाहा छैन। हामीले महामारीको विषयमा सोचेका पनि थिएनौं,' उनले भनिन्।
मामाडोउ कारवामाविरी फ्रेब्रुअरी १४ मा बुर्किना फासोको राजधानीबाट एयर फ्रान्सबाट पेरिसका लागि उडेका थिए। उनी अफ्रिकामा आफ्नै चर्चका पास्टर हुन्। उनी, उनकी श्रीमती र बडीगार्डसँगै त्यहाँ पुगेका थिए।
मुलहाउसमा क्रिस्चियन ओपन डोर चर्च सडक वारपार छ। यस सभामा सहभागी भएका थिए, दुई जना बालक जसकी आमा सभा सुरु हुनुअगाडि नै विरामी थिइन्। उनकी आमा त्यस सभामा सहभागी भइनन्। उनीहरुलाई उनकी हजुरआमाले लिएर गएकी थिइन्। जसमध्ये ठूलो पाँच र सानो एक वर्षका थिए।
बालकहरु र उनकी आमालाई पछि कोभिड-१९ को संक्रमण पुष्टि भयो। आमा नै क्लस्टर ट्रान्समिसनको स्रोत बताइएको छ। यद्पि, स्वास्थ अधिकारी वर्नेले उनी कहाँबाट संक्रमित भएकी थिइन् भन्ने खुलाएनन्।
त्यस साता भएका कार्यक्रमहरुमा भगवानले उनीहरुको रोग निको पारेको विश्वास गरेका थिए। फेब्रुअरी २१ सम्म त्यहाँ सहभागी कसैलाई पनि फ्लु जस्तो संक्रमण नदेखिएको चर्चकी प्रवक्ताले बताएकी थिइन्। त्यतिबेलासम्म फ्रान्समा कोभिड-१९ का केस १२ जनामै रोकिएको थियो।
फेब्रुअरीको अन्त्यतिर ड्रमर विडमर विरामी हुन थाले। उनका तीन सन्तान र उनकी सासु पनि विरामी परिन्।
मार्च ३ मा मात्र विश्व स्वास्थ्य संगठनले फ्रान्समा ९१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि गर्यो। कूल मिलाएर फ्रान्समा १ सय ९१ जना संक्रमित पुगिसकेका थिए त्यतिखेर। चर्चले सहभागी ती बालकहरु र उनकी आमालाई संक्रमण भएको र सभामा सहभागीलाई चिकित्सकको सम्पर्कमा रहन भन्दै फेसबुकमा सूचना जारी गर्यो।
ड्रमरले फ्रान्सको स्वास्थ्य इमर्जेन्सी केयरको नम्बर १५ डायल गरे। उनलाई परीक्षण गर्नका लागि त्यहाँ प्रर्याप्त मात्रामा किट थिएन। तर, पनि चिकित्सकले उनलाई कोरोना भाइरस भएको भन्दै परिवारबाट परै क्वारेन्टाइनमा बस्न सुझाव दिए।
तीन दिनसम्म उनलाई उच्च ज्वरो आयो। उनले स्वाद तथा गन्द थाहा पाउन छाडे। उनको परिवारलाई पनि नरम हिसाबले लक्षणहरु देखा पर्न थाल्यो। उनी निको भए तर पनि सेल्फ आइसोलेसनमै बसिरहे।
चर्चका संस्थापकको परिवारमा पनि भाइरस देखा पर्यो। केही माइल पर सीमापारी जर्मन अधिकारीहरुले सबैलाई नियालिरहेका थिए।
उनीहरुले जर्मनको रोवर्ट कोच इन्स्टिच्युटबाट रिपोर्ट प्राप्त गरेका थिए। रिपोर्टमा विश्वभर कोभिड-१९ को संक्रमण भएका 'रिस्क जोन' उल्लेख गरिएको थियो जसमा चीनको हुवेइ प्रान्तसहित इरान, इटाली र पूर्वी फ्रान्सलाई पनि राखिएको थियो। मार्च ११ मा विश्व स्वास्थ्य संगठनले त्यहाँ एक हजार ७ सय ७४ जनामा संक्रमण भएको र ३३ जनाको मृत्युको तथ्यांक दिइसकेको थियो।
दैनिक करिब ४५ हजार फ्रान्सेली कामदारहरुले जर्मनीसँग सम्पर्क राख्दै आएको थियो। जसमध्ये मूल हाउस क्षेत्रका पनि थिए। उनीहरुले जर्मनीको बडेन विरटेमबर्गमा रहेका ठूला मोटर कम्पनीहरुमा काम गर्थे।
मुलहाउसको सभामा सहभागी फ्रान्सको न्युक्लियर पावर प्लान्टका एक जनामा कोभिड-१९ को संक्रमण देखा पर्यो। कम्पनीले उनीसँगै अन्य २० जनालाई पनि आफ्नै घरमा सेल्फ आइसोलेसनमा रहन भन्यो तर कम्पनी चलाइरह्यो।
पियगेटको एक कम्पनीमा काम गर्ने एक अर्का व्यक्तिमा पनि कोभिड-१९ को संक्रमण देखा पर्यो। यससँगै जर्मन अधिकारीहरुले सीमा वारपार आउजाउ बन्द गराउने निर्णय गरे।
फ्रान्स सरकारले यस निर्णयलाई लिएर वर्लिनसँग स्पष्टिकरण माग गर्यो। मार्च १६ मा जर्मन चान्सलर एन्जेला मर्केलले फ्रान्सका राष्ट्रपति इमान्युल माक्रोनसँग वार्ता गरिन्। उनीहरुबीच पूर्वी फ्रान्समा भएको क्लस्टर ट्रान्मिसनको विषयमा छलफल भयो।
त्यसपछि दुवै नेता सीमा नाका बन्द गर्न सहमत भए। र, अत्यावश्यक सवारी साधान, कार्गोबाहेकलाई प्रवेश रोक लगाइयो।
तर, संक्रमण यसअघि नै भित्रिसकेको थियो।
यही सभामा सहभागी स्वीट्जरल्याण्डका एक जनाले भाइरसलाई लिएर आएको स्वीस फेडरेसनको एक चर्चले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ। त्यस्तै फ्रेन्च गुयनाका स्वास्थ्य अधिकारीले पनि सोही सभामा सहभागी पाँच जनालाई कोभिड-१९ को संक्रमण भएको पुष्टि गर्यो।
सभामा सहभागी भएर घर फर्किएपछि कोर्सिकाकी एन्टोइनेटेले यसलाई वेवास्ता गरिन्। उनी थप ट्रिपहरुमा सहभागी भइरहिन्। उनी त्यहाँको चर्चमा पनि पुगिन्। सभाबाट फर्किएको ९ दिन पछि मार्च २ मा उनलाई मुलहाउसबाट फोन आयो- कोभिड-१९ आउटब्रेकको विषयमा।
उनी सोही रात अस्पतालमा भर्ना भइन्। मार्च ४ मा उनमा कोभिड-१९ भएको पुष्टि भयो। उनी नै क्रोसिकाको फ्रेन्च आइल्याण्डकी पहिलो संक्रमित हुन्। उनी त्यसयता सेल्फ आइसोलेसनमा बसिन्। उनले चर्च पनि बन्द गरिन्। मार्च २७ सम्म यहाँ २ सय ६३ जना संक्रमित भएका छन्। जसमध्ये २१ जनाको मृत्यु भएको छ।
'मानिसहरुले मतिर औंलो ठड्याइरहेका छन्,' उनले मार्च १६ मा भनेकी छन्, 'उनीहरुलाई बलिको बोका चाहिएको छ।'
उनको नजिक भएका र उनको चर्चले नै क्रोसिकामा कोरोना भाइरस ल्याएको आरोप लागेको छ। मुलहाउसका पास्टरका छोरी जोनाथनले उनीमात्र नभइ सभामा सहभागीहरु माथि पनि यस्तो आरोप लागिहेको बताइन्।
मार्च २० सम्म पुग्दा फ्रान्समा १० हजार कोभिड-१९ केसहरु पत्ता लागे। जसमध्ये एक चौथाई मुलहाउस क्षेत्रका छन्।
'यहाँ संक्रमितमध्ये धेरैको सम्पर्क चर्चसँग देखिएको छ,' फ्रान्सका स्वास्थ्य अधिकारी वर्नेले भने।
यस क्षेत्रमा आइसियु बेड कम भएका कारण यहाँका मानिसहरुलाई हेलिकोप्टरको प्रयोग गरी स्वीट्जरल्याण्ड, जर्मनी र लग्जम्वर्ग पुर्याइएको छ। फ्रान्सेली सेनाले टेन्ट टाँगेर अस्पताल बनाएको छ। निकारागुवामा पुगेका पास्टर करामविरी र उनकी श्रीमती विरामी परेपछि उनीहरु अस्पताल पुगे। मार्च १ मा उनीहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भयो। मार्च २० सम्म उनीहरु सेल्फ क्वारेन्टाइनमा बसे।
सेल्फ आइसोलेसनबाट निस्किएर उनले फेसबुकमार्फत् आफ्ना अनुयायीहरुलाई भिडियो सन्देश दिँदै भाइरसका विषयमा भनेका छन्- 'विश्वलाई विनाश गर्न सैतानी योजना अगाडि ल्याइएका छन्। तर, प्रभुले सबै हेरिरहनु भएको छ। उहाँले मानिसहरुलाई यसबाट बाहिर निकाल्नु हुनेछ।'
(रोयटर्सको विशेष रिपोर्टबाट भावानुवाद गरिएको सामाग्री। पूरा सामाग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।)