
दमौली : कोरोना भाइरस (कोभिड-१९)को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन्। नियमित डायलासिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन्।
दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलासिस केन्द्रमा डायलासिस गर्नका लागि बिरामीलाई एम्बुलेन्स रिजर्भ गरेर आउनुपर्ने बाध्यता छ। लकडाउनको कारण सवारी साधन नचलेपछि एम्बुलेन्स भाडामा लिएर डायलोसिस गर्न आउनुपरेको व्यास नगरपालिका–६ सिसाघाटका देवबहादुर गुरुङले गुनासो गरे। सामान्यावस्थामा ३० देखि ५० रुपैयाँ भाडा तिरेर दमौली आउने गरे पनि अहिले एम्बुलेन्स भाडामा लिँदा एक हजारदेखि एक हजार पन्ध्र रुपैयाँसम्म खर्च हुने गरेको उनको भनाइ छ।
‘सवारी साधन नचलेपछि महँगो भाडा तिरेरै भए पनि डायलोसिस गराउन जानैपर्यो’, उनले भने, ‘आफ्नै मोटरसाइकल पनि थियो तर लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो।’
उनले हप्तामा दुई पटक डायलासिस गराइरहेका छन्।
सवारी साधन नचलेपछि मालवाहक ट्रक चढेर डायलोसिस गराउन आउने गरेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका अनिशा सुवेदीले बताइन्।
‘प्रहरीको सहयोगमा ट्रकमा दमौलीसम्म आएर डायलासिस गराइरहेको छु’, उनले गुनासो गरिन्, ‘लकडाउनका कारण डायलासिस गराउन समस्या परेको छ।’
म्याग्दे गाउँपालिका-१ गुणादीका दिलशोभा रानाले आफन्तको मोटरसाइकल चढेर डायलासिस गराउन आउने गरेको बताइन्।
‘प्रहरीले रोकेको बेला डायलासिस गराउन आएको हुँ भनेर भनिरहेको छु,’ उनले भनिन्।
मिर्गौलापीडितले नियमित रुपमा डायलासिस गराउनुपर्ने भएकाले लकडाउनको बेला पनि डायलासिस गर्ने बिरामीको संख्या नघटेको डायलासिस केन्द्रका इञ्चार्ज शैलेश पण्डितले जानकारी दिए।
‘लकडाउनले बिरामीलाई सास्ती त भएको छ तर नियमित डायलासिस गराउनुपर्ने भएकाले जसोतसो आइरहनुभएको छ,’ उनले भने।
विसं २०७२ मंसिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो। केन्द्रले चार वर्षका अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरेको छ। पण्डितका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलासिस सेवा लिएका छन्। केन्द्रमा नियमित डायलासिस गराउने मिर्गौलापीडितको संख्या भने ७२ छ। पण्डितका अनुसार हप्तामा दुई पटक डायलासिस सेवा लिने मिर्गौला पीडित ६६ र हप्तामा तीन पटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६ जना छन्। केन्द्रमा डायलासिस गराउने नौ उपकरण छ।
हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो। केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधनका स्मृतिमा शुरुमा एक करोड रुपैयाँ सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि २५ लाख रुपैयाँ सहयोग गरेकी थिइन्। केन्द्रमा शुरुमा एक करोड २० लाख रुपैयाँको लागतमा ६ डायलाइसिस उपकरण जडान गरिएको थियो। पछि तीन उपकरण थप गरिएछि केन्द्रमा हाल नौ डायलासिस उपकरण छ।