PahiloPost

May 15, 2026 | १ जेठ २०८३

दुई घण्टा मितेरी पुलमा रोकिएका ट्यांकर तेल भर्न जान थाले रक्सौल



राधेश्याम पटेल

दुई घण्टा मितेरी पुलमा रोकिएका ट्यांकर तेल भर्न जान थाले रक्सौल

वीरगंज : नेपालबाट भारतीय सीमावर्ती शहर रक्सौलमा तेल भर्न जाने क्रममा मितेर पुलमा रोकिएका ३५ वटा ट्यांकर रक्सौल जान थालेका छन्। भारतीय अधिकारीको निर्देशनमा सोमवार रक्सौल कस्टम नजिक भारतीय सुरक्षाकर्मीहरुले तारजाली लगाएर मितेरी पुलबाट रक्सौल प्रवेश गर्ने सवारी साधन तथा आवागमनमा रोक लगाएका थिए।

नेपालबाट इन्धन लिन गएको ट्यांकर बिहान साढे ८ बजेपछि साढे १० बजे सम्म मितेरी पुलमै रोकिएको टयाकंरका चालकहरुले गुनासो गरेका थिए। नेपाल आयल निगम वीरगंजका प्रमुख रामकुमार न्यौपानेले सोमवारको घटनाले मितेरी पुलमा केही घण्टा इन्धनको गाडीलाई अवरोध भए तापनि वीरगंजस्थित महावाणिज्यदूतावासको पहलमा भारतीय अधिकारीसँग अवरोध हटाई गाडी प्रवेश गर्न दिने सहमति भइसकेको बताए।

गाडी रोकेर भारतीय सुरक्षाकर्मीले अलौस्थित आइसिपी भन्सार नाकाबाट इन्धनका गाडी लैजान आग्रह गरेका थिए। तर, मितेरी आइसिपीको नाकाबाट घुमेर जादा एक तर्फी  १६ किलोमिटरको दुरी बढ्ने भएकोले चालकहरुले पुलदेखि शंकराचार्य गेटसम्म गाडी उभ्याएर राखेका थिए।

भारतीय महावाणिज्यदूतावासका आर्थिक शाखा हेर्ने वाणिज्यदूत कोट्रा स्वामीले इन्धन लिन जान दिने कुरामा सहमति भइसकेको बताए।

‘रक्सौलका एसडिएम अमित कुमारसँग तारजाली हटाएर इन्धन भर्न रोकिएका गाडीहरुलाई जान दिन उनले मातहतको सुरक्षा निकायलाई पत्रचार गर्दै जानकारी गराइसकेका छन्, चाडै सबै गाडी जान्छन्,’ उनले भने।

डिजेल, पेट्रोल लिन अमलेखगञ्ज, पोखरा र काठमाडौंबाट ट्यांकरहरु रक्सौल डिपो गइरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell