PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

विपद्का बेला विकट जिल्लाका सांसदहरु काठमाडौंमै, भन्छन्, ‘फोनबाट समस्या हल गर्ने प्रयास गर्दैछौं’



कुञ्जरमणि भट्टराई

विपद्का बेला विकट जिल्लाका सांसदहरु काठमाडौंमै, भन्छन्, ‘फोनबाट समस्या हल गर्ने प्रयास गर्दैछौं’

काठमाडौं : विश्वभर फैलिरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमणबाट बच्न यतिबेला देश लकडाउनमा छ। सरकारले एक साताका लागि गरेको लकडाउनको समयावधि बढाउँदै चैत २५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ। लकडाउनका कारण उत्पन्न समस्या समाधानका लागि भन्दै राहतका कार्यक्रम पनि घोषणा गरिएको छ। यस्तो अवस्थामा विकट जिल्लाहरुको अवस्था कस्तो छ त? जनताका सुख दुःखमा साथ दिने वाचा गरेका सांसदहरु अहिले के गर्दैछन्?

हुम्लाकी सांसद रंगमती शाही यतिबेला काठमाडौंमै छिन्। तर, जिल्लावासीसँग निरन्तर सम्पर्कमा भइरहेको उनी दावी गर्छिन्। लकडाउनका कारण यता बसेपनि जिल्लावासीका समस्याले पिरोलिरहन्छ उनलाई। निरन्तर फोनबाट जनताका समस्याहरु समाधानका लागि समन्वय गरिरहेको उनको भनाइ छ। लकडाउनपछि जिल्लामा खाद्यान्न र स्वास्थ्य सामाग्री र जनशक्तिको अभाव मुख्य समस्या रहेको सांसद शाही बताउँछिन्।

‘जिल्लामा मुख्यगरी खाद्यान्नको अभाव भइरहेको छ। जिल्ला अस्पतालमा दुई जना स्वास्थ्यकर्मी छन्। औषधिको नाममा सिटामोल पनि छैन,’ उनले भनिन्।

समस्या समाधानका लागि फोन गर्दा मन्त्रीहरुले फोन नै नउठाएको उनको गुनासो छ। स्वास्थ्यमन्त्रीले फोन नउठाएको बताउँदै आपूर्ति मन्त्री लेखराज भट्टसँग भने समस्या समाधानका लागि सम्पर्क भएको बताइन शाहीले।

‘कुरा राख्न खोज्यो मन्त्रीहरु फोन नै उठाउनुहुन्न। आपुर्तिमन्त्रीसँग जनता रोगले भन्दा नि भोकले मर्ने भए भनेँ। उहाँले खाद्यान्न अभावमा जनतालाई भोकै मर्न दिन्न भन्नुभएको छ,’ उनले सुनाइन्।

उनले स्वास्थ्य सामाग्रीको लागि सांसद विनोद चौधरीलाई पनि अनुरोध गरेको बताइन्। औषधि पठाउनका लागि आफूले पहल गरिरहेको उनको भनाइ छ। 

सांसद शाहीले नेपालगञ्जमा अलपत्र परेका विद्यार्थी र भारतबाट आएका १३० जनालाई क्वारेन्टाइनमा नराखी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीले गाडीमा पठाएको भन्दै आपत्ति समेत जनाइन्।

‘प्रदेश सरकारले क्वारेन्टाइनमा नराखी त्यसरी पठाएपछि त्यहाँबाट उत्पन्न समस्याको जिम्मा कसले लिन्छ?’ उनले प्रश्न गरिन्।

साथै सरकारले टेलिभिजनमा मात्र भाषण गरेर समस्याको समाधान नहुने र जनताका समस्या समाधान हुने गरी काम गर्न उनले सुझाव दिएकी छिन्।

बझाङकी सांसद आशाकुमारी विक पनि अहिले काठमाडौंमा नै छिन। जिल्लाबाट लकडाउनका कारण देखिएको समस्या सहित फोन आइरहन्छ, उनलाई। विशेषगरी आफूलाई दिल्लीबाट अलपत्र परेका नेपालीहरुको फोन आउने गरेको सांसद विकले बताइन्।

‘काठमाडौं मा नै छु। तर, निरन्तर कोअर्डिनेसन भइरहेको छ। दिल्लीबाट २०० जनाले अलपत्र छौँ, उद्दार गर्नुपर्‍यो भनेर फोन गरिरहेका छन्। उहाँहरुको समस्या परराष्ट्र मन्त्रालयमा राखेको छु। दार्चुलाको नाकामा अड्केका नेपालीहरुको पनि गुनासो उहि छ,’ उनले भनिन्।

सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामाग्री प्रदेशमा आइतवार पठाएपछि जिल्लामा रहेको स्वास्थ्य समस्याको हल हुने विश्वास उनको छ।

‘हिजोसम्म स्वास्थ्य सामग्रीको अभाव थियो। अब सरकारले सामग्री पठाएपछि त्यो समस्याको समाधान होला,’ उनी भन्छिन्।

उनले जिल्लाका मानिसहरु क्वारेन्टाइनमा बस्न नमान्ने र भाग्ने गरेको गुनासो आइरहेको बताइन्। अहिले भने क्वारेन्टाइनमा नबस्नेहरुलाई प्रहरीले समात्ने, जनचेतना फैलाउने काम गरेपछि त्यो समस्यामा कमी आएको उनले दावी गरिन्।

त्यसो त सुदुरपश्चिममा ‘ढोकामा खने कोरोना आउँदैन’ भन्नेजस्ता कुराहरुमा मानिसले विश्वास गरिरहेका छन्। केही दिन अघि एउटा भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यस्ता मानिसहरुमा आफूले जनचेतना ल्याउने प्रयास गरेको सांसद विकको भनाइ छ। जिल्लामा खाद्यान्न समस्या अहिलेसम्म नरहेको तर भए के गर्ने भनेर सिडिओसँग निरन्तर सम्पर्क भइरहेको विकले जानकारी दिइन।

उनी भन्छिन्, ‘अहिलेसम्म त खाद्यान्न अभाव भएको छैन। कतै समस्या आए के गर्ने भनेर छलफल गरिरहेका छौं। अहिले त सरकारले नै राहत प्याकेज ल्याएको छ। उक्त समस्याको समाधान गर्न त्यसले पनि सहजता थप्ला।’

ज्याला मजदूरी गर्नेलाई छाक टार्न गाह्रो

जुम्लाका सांसद गजेन्द्र बहादुर महत पनि काठमाडैंमा नै छन्। जिल्लामा भने निरन्तर सम्पर्क भइरहेको उनको दावी छ। जनताले फोनबाटै समस्याको सामाधानका लागि पहल गरिदिन आग्रह गरिरहेको सुनाउँछन् उनी।

लकडाउनपछि जिल्लामा देखिएका समस्याबारे उनी भन्छन्, ‘दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुलाई समस्या देखिने नै भयो। उनीहरुलाई छाक टार्न समस्या छ।’

अर्को समस्याको रुपमा काम र मामको खोजीमा छिमेकी मुलुकमा काम गर्न गएकाहरुको भएको उनको भनाइ छ।

‘विदेशमा गएकाहरु फर्कन पाएका छैनन्। उनीहरु फर्काउन पहल गरिदिन भन्छन्। फर्किएकाहरु क्वारेन्टाइनमा बस्न मान्दैनन्। फर्किएकाहरु क्वारेन्टाइनमा बस्न नमान्दा गाउँ नै त्रसित छ,’उनले थपे।

अहिलेसम्म जिल्लामा खाद्यान्नको अभाव नभएको तर आइपर्ने समस्याहरुको तत्काल समाधान गर्न नगरपालिका र वडालाई आफूले भनिसकेको उनले बताए। समस्या समाधान नभए कोषबाट आफूले सहयोग गर्ने वाचा गरेको सांसद महतले बताए।

उता, मुगुका सांसद गोपाल बहादुर बम भने जिल्ला तिरै छन्। जिल्लामा नै बसेर जनताहरुको समस्या हल गर्ने प्रयास गरिरहेको बताउँछन्, उनी। विकट जिल्ला भएपनि लकडाउनका कारण खासै समस्या उत्पन्न नभएको उनले सुनाए। कोरोना संक्रमण भइहालेको अवस्थामा राख्नका लागि क्वारेन्टाइनको व्यवस्था मिलाइएको, हेल्प डेस्कहरुको स्थापना गरिएको उनले जानकारी दिए।

‘मुगु विकट जिल्ला भएपनि अहिलेसम्म खाद्यान्न अभाव भएको छैन। स्वास्थ्य सामाग्री र जनशक्तिको भने अभाव छ। तथापी हामीले भएका स्रोत साधनको परिचालन गरिरहेका छौं,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell