वीरगंज : मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाटै सबै प्रकारको इन्धन आयात भएर देश भर आपूर्ति हुन्छ। तर, ६ दिनको लक डाउनमा देशको विभिन्न शहर जस्तै वीरगंजमा पनि एलपी ग्यासको अभाव भएको देखिएको छ।
वीरगंजमा विशेष गरी मनोज र नारायणी ब्राण्डका ग्यासका उपभोक्ताहरु रहेकोले अभावले बढिलाई छोएको उपभोक्ताहरुको भनाइ छ। पर्साको बहुदरमाई–७ बस्ने शिक्षक नरेश यादव ग्यास नपाएर तीन दिनदेखि वीरगंजको डेरा छाडेर गाउँ फिर्ता भएको बताए।
‘श्रीपुरको धेरै पसलमा ग्यासको लागि धाएँ तर मनोज ब्राण्डको ग्यास सिलिन्डर नपाएपछि फर्किए,’ उनले भने, ‘शहरमा चुल्हो बाल्ने प्रमुख उर्जाको स्रोत ग्यास नै हो, सरकारले इन्डक्सन चुल्हो किन्न प्रोत्साहन गरिरहेको छ, आफुसँग त्यस्तो चुल्हो नभएर गाउँ फर्केको हुँ। यहाँ काठ पनि छ, चामलको लागि गाउँमा मिल चलिहाल्छन्। आफ्नै बारीको हरियो तरकारी र आलु छ।’
वीरगंजमा करिब २ सयको हाराहारीमा विभिन्न ग्याँस कम्पनीका बिक्रेताहरु रहे तापनि मनोज र नारायणी ग्यासको बढि माग भएको ग्यास विक्रेता संघ पर्साका अध्यक्ष वीरेन्द्र साहले बताए। उनले भारतबाट ग्यास कम आएकोले उत्पादन पनि कम भएको उद्योगीबाट सुनेको बताए। अन्य कम्पनीको ग्यास सिलिन्डर पर्याप्त मात्रामा रहेको उनको दावी छ। एक जना उपभोक्ताहरुले ३ वटासम्म सिलिन्डर थुपारेपछि बजारमा ग्यासको अभाव भएको उनले बताए।
नेपाल एलपीजी ग्याँस उद्योग संघका उपाध्यक्ष तथा मनोज ग्यासका सञ्चालक मनोज दासले भारतबाट ६ दिन यता ५० प्रतिशतले आयात घटेपछि उत्पादन पनि प्रभावित भएको बताए।