PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

अप्ठेरो परेकोबेला सहयोग नगर्ने राज्यलाई कसरी ठान्नु आफ्नो?



पहिलोपोस्ट

अप्ठेरो परेकोबेला सहयोग नगर्ने राज्यलाई कसरी ठान्नु आफ्नो?

  • अनुदिग्न -

कोरोना भाइरसको संक्रमणले अहिले पूरै विश्व आक्रान्त छ। नेपाल पनि यसबाट अछुतो रहने कुरो भएन। संक्रमितहरु यहाँ पनि देखिएका छन् तर अहिलेसम्म मृत्यु भने भइसकेको छैन। यो सुखद् पक्ष हो। तर, हाम्रो सुरुवाती तयारी र सतर्कतामा चुकेका छौं। अर्कोतिर कार्यान्वयनको पक्ष पनि फितलो देखिएको छ।

अब देश बाहिरको कुरा गरौं।

देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन केही दिनअघि सिंगापुरबाट सिल्क एयर आयो। जसमा धेरै नेपाली र प्रतिबन्धित देशबाट आएका पनि। उनीहरु पनि सवार रहेको सूचनापछि विमानस्थलले अवतरणको अनुमति मागेको सिल्क एयरको जहाजलाई फर्किन भन्यो।

कारण थियो कोरोना भाइरसबाट प्रभावित देशका नागरिकहरु सँगै हुनु। इन्धन भरेर फेरि सिङ्गापुर फर्कने भन्दै सिल्क एयरले नेपालमा अवतरण गर्‍यो। नेपाल अवतरण गरे लगत्तै फेरि सिङ्गापुर फर्कने सूचना पाएपछि जहाजभित्र रहेका केहीले यहाँ रहेका आफन्तलाई फोन गरे। केहीले जहाजभित्रै नाराबाजी गरे। भित्रको अवस्था देखाउँदै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरे। पोस्ट गरिएसँगै सामाजिक सञ्जालमा एकखाले तरङ्ग उत्पन्न भयो।

सरकारी अधिकारीहरुलाई फोन गर्ने र सकेसम्म उनीहरुलाई फर्कन नपर्ने वातावरण मिलाउने तारतम्य सुरु भइसकेको थियो जुन जायज पनि थियो। किनकि भोलिपल्ट विमानस्थल पूर्ण रुपमा बन्द हुनेवाला थियो।

उता, विमान फर्कने तयारीसँगै विमानभित्र हल्लाखल्ला हुन थाल्यो। 'हामी कुनै हालतमा फर्कदैनौं' भन्दै नाराबाजी सुरु भयो। अन्तत: उनीहरु सबैलाई नेपाल भित्रन दिइयो। शंकास्पद ३ जनालाई क्वारेन्टाइनमा पठाइयो।

यसअघि चीनको वुहान शहरबाट नेपालीलाई ल्याउन पनि सरकारलाई हम्मेहम्मे पर्‍यो। चौतर्फी दवाव बढ्दै गएपछि मात्र उनीहरुलाई नेपाल ल्याइयो।

त्यसपछि भारतीय नाकामा त्यस्तै वितण्डा मच्चियो। हजारौं नेपाली नाकामा पारिपट्टि जङ्गलमा रात काट्न बाध्य भए। जसमा गर्भवती, बालबच्चा भएका आमा, बृद्ध सबै थिए। कारण थियो नेपालको नाका बन्द। त्यहाँ पनि चौतर्फी दवाव र दयनीय अवस्था देखेर भित्र्याइयो।

हालै दिल्लीको एउटा भिडियोले मन छोयो। मुम्बईबाट नेपाल हिँडेका नेपालीहरु भारतको दिल्ली आइपुग्दा लकडाउन सुरु भयो। उनीहरु विलखबन्दमा परे।

न त दिल्लीस्थित नेपाली राजदूतावासले केही गर्न सक्यो न कसैले। यो कुरा मिडियामा आएपछि हल्लाखल्ला भयो र जसोतसो उद्धार गरियो।

अहिले भारतको धारचुलामा त्यस्तै बिजोग छ। नेपालले यता आउन नदिने। भारतले उनीहरुको पट्टि बस्न नदिने। उता के गरेर बस्ने? खान पर्‍यो सुत्न पर्‍यो।

केहीले जीवन जोखिममै राखेर भए पनि पौडी खेलेर वारी त आए, तर उनीहरुलाई प्रहरीले समात्यो। अझै धेरै नेपालीहरु नाकामै आएर घर छिर्न नपाई रोइकराई गरिरहेका छन्।

त्यस्तै, अन्य मुलुकमा पनि नेपालीहरु सरकारले उद्धार गर्छ कि भन्ने आशमा बसेका छन्। उनीहरुसँग पैसा छ। तर, लकडाउनका कारण आउन सकेका छैनन्।

अर्कोतिर उनीहरु नेपाल आए कोरोना सर्छ, भित्र ल्याउनै हुन्न भन्ने एकखाले जमात पनि छ। तर, हामीले आफूलाई त्यही ठाउँमा राखेर हेरौं। तपाईँलाई अहिले घरभित्र परिवारसँग बस्दा त यत्रो सकस भइरहेको छ भने उनीहरुलाई झन् कस्तो भइरहेको होला? जसका पत्नी, बालबालिका घरमा छन् उनीहरु घरको सँघारमै उभिएका छन् - भित्र छिर्न नपाएर। विपद्को बेला सबैलाई आफ्नै देश, आफ्नै परिवारसँग बस्न पाए हुन्थ्यो भन्ने हुन्छ नै।

बनारस जाँदा मेरो आमाको हात भाँच्चियो, त्यहाँको अस्पताल गए पनि मलाई कति बेला नेपाल पुगौंझैं भएको थियो। ता कि यहाँ आफ्ना डाक्टर छन्, आफ्नै अस्पताल छन्।

यो त संसार त्रसित भएको बेला। उनीहरु घर फर्किन खोज्नु स्वभाविकै हो। उनीहरुसँग आएको संभावित कोरोनाको उपचारको जिम्मा राज्यले लिनुपर्‍यो। होइन भने मेरा जनता होइनन् भनेर सधैंका लागि प्रतिवन्ध लगाउनुपर्‍यो। यता नेपालमा रहेका विदेशीहरुको त खोजी खोजी उद्धार कार्य भइरहेकै छ। नेपाल छिर्ने प्रतीक्षामा रहेका ती नेपालीलाई ‘आइसोलेसन’मा राखेर उपचारको बाटो अपनाउनु पर्ने होइन र?

नेपाल देश हो, एउटा सार्वभौम मुलुक, १४७१८१ वर्ग किलोमिटर क्षेत्रफल भएको। जहाँ ७ प्रदेश छन्, ७५३ वटा स्थानीय सरकार। यो कुनै एउटा विद्यालय अथवा कार्यालय, कुनै एउटा समाज कल्याण परिषदमा दर्ता भएको गैह्र सरकारी संस्था त होइन नि।

यहाँका मानिसहरु भोकै छन् भने खुवाउने क्षमता राख्नुपर्छ सरकारले। उपचार गर्नुपर्छ, सरकारले। यत्रा अस्पतालहरु के का लागि त? त्यसमा अटाएनन् भने यत्रा विद्यालय छन्- निजी सरकारी, ठूला ठूला चौर छन् तिनमा व्यवस्था गर्न सकिन्छ। आफ्ना नागरिकलाई केही दिन पाल्न सक्दैन भने एउटा सार्वभौम देशको के औचित्य रह्यो? देशमा रहेका प्रहरी, सेना, सशस्त्र प्रहरी, राजनीतिक दलका भातृ संगठन यी सबै के का लागि?

अरु देशको अवस्था हेरौं।

कहिले कुनै विपद् भइहाले उनीहरुले पहिला आफ्नो देशका नागरिक त्यहाँ छन् कि छैनन् भनेर पत्ता लगाउँछन्। र, तत्काल उद्धारको पहल गर्छन्।

यसैपालि नै हेरौं न। अहिले नेपालमा बसेका विभिन्न मुलुकका नागरिकलाई उनीहरुको मुलुकले विशेष विमानमा उद्धार गरिरहेको छ। भूकम्पको बेला पनि लगभग यसरी नै उद्धार गरेका थिए। उनीहरुको देशमा त झन मान्छे मरेको मरेई छन् त।

किन उनीहरुले आफ्ना नागरिकलाई उद्धार गरेर लाँदैछन् त? किनकि त्यो सरकारको कर्तव्य हो। आफ्ना सन्तानप्रतिको माया हो। र नागरिकप्रतिको जिम्मेवारी पनि।

म अप्ठेरोमा परेको बेला सहयोग गर्न नसक्ने राज्यलाई कसरी आफ्नो ठान्नु?

वर्षभरी कति रेमिट्यान्स आयो भनेर हिसाब गरेर बस्ने हामी। अनि अहिले त्यहीँ रेमिट्यान्सवालालाई अप्ठ्यारो पर्दा वास्तै नगर्ने?

हो, त्रास छ। उनीहरु नेपाल आए उनीहरुसँगै कोरोना पनि भित्रिन्छ कि भन्ने त्रास छ। तर कोराना भित्रिने डरको निराकरणका लागि पो तयार हुने हो, तत्परता देखाउने हो। न कि नागरिकलाई नै छिर्नै नदिने।

अब देश भित्रकै कुरा गरौं। म एउटा नागरिक। नागरिकता भएकै नागरिक। चुनावमा भोट हालिरहेको नागरिक। मैले नेपाल सरकारको नाममा तलब, खाना, सामान किन्दा, सिनेमा हेर्न जाँदा, किताब किन्दा, बच्चालाई स्कुल पठाउदा, बिजुली पानीको बिल तिर्दा गरेर वर्षको कमाएको लगभग ७०/८० प्रतिशत त राज्यलाई नै बुझाउँछु।

अनि मेरो सरकारले मेरो बारेमा सोच्ने कि नसोच्ने?

मैले त आफ्नो कर्तव्य निर्वाह गरिनै रहेको छुँ। सरकारले पनि आफ्नो कर्तव्य निर्वाह गर्न पर्ने होइन र?

अहिलेको कुरा गरौं न। सरकारले सूचना दिँदा अत्यावश्यक कामबाहेक बाहिर ननिसक्नुस् भनेको छ। तर, खाद्यान्न, औषधि लगायतको अत्यावश्यक सामान आवश्यक परे, हुल न बाँधी निस्कनुस् भनेर आह्वान गर्ने अनि ग्यास सिलिन्डर किन्न जाँदा कुटाई खाने। प्रदेश २ को एउटा भिडियोमा त मरासन्ने हुनेगरी कुटेका छन्, प्रहरीले। नजिकै गएर पिट्दा चाहिँ कोरोना तर्सिएर भाग्ने हुन? अनि नागरिकका कुरा चाहिँ सुन्न पर्दैन?

हिजो मेरो साथीले गाईघाटबाट फोन गरे - ग्यास सकियो, नजिकैको पसलमा छैन, अब खोज्न जाउँ सधैँजसो सामाजिक सञ्जालमा केही सोध्दै नसोधी डन्डा हानेका भिडियोहरु सार्वजनिक भइरहेका छन्। कसरी जाने आँट गर्ने?

आफ्ना नागरिकलाई माया र सम्मान गर्न सरकारले कहिले सिक्ने? धेरै विरोध भएपछि वैदेशिक रोजगारीमा जानेहरुलाई अलि अलि व्यवस्थापन गर्न थालिएको छ। तर, भिड, लाइन उस्तै, अनि बेलाबेला लाइनमा यताउता हुँदा लाठी बजारेको दृश्य त हामीले देख्न पाइरहेकै छौं।

काठमाडौं बाहिर अझै पनि लाइसेन्सको फर्म फर्ने बेला भेडाबाख्रालाई जसरी लाठी हानिरहेको दृश्य त हामीले देखिरहेकै होइन र? अझ वैदेशिक रोजगारीमा गएकाहरुसँग त्यहाँस्थित दूतावासले गर्ने व्यवहारको फेहरिस्त बेलाबेला आइरहेकै हुन्छ। हिन्दी फिल्ममा धनाढ्य युवतीको प्रेमीले आफ्नै बाउआमा नचिनेजस्तै व्यवहार गरिएको छ यहाँ।

त्यस्तै, अहिले ज्वरो र रुघाखोकी लागेका विरामीलाई निजी अस्पतालले भर्ना गर्न नमानेको खबरहरु पनि आइरहेका छन्। उनीहरुको जिम्मा कसले लिने?

सरकारसँग हुती छैन, सबै निजी अस्पतालहरु यो महामारी नरोकिएसम्म सरकारले आफ्नो नेतृत्वमा चलाउनुपर्ने हो, कि सकिन्न र?

त्यस्तै अरु बेला पनि सडक दुर्घटनामा सधैंजसो मान्छे मरिरहेकै छन्। उनीहरुको सुरक्षाप्रति सरकार कहिल्यै जिम्मेवार देखिएको छैन। नागरिक रहे त देश रहने हो। नागरिकका पनि आफ्नै कर्तव्य छन्। जुन नागरिकले पालना गर्नपर्छ र नगरे यो देशको कानुनले गराउँछ।

तर, राज्यको दु:ख सुखको साथी नागरिकलाई ‘माया र सम्मान’ गर्ने दायित्व सरकारको होइन र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell