
कोभिड-१९ आउटब्रेक इपिसेन्टर वुहान यतिबेला आफ्नो पुरानो गतिमा फर्किँदै छ। दुई महिना लामो लकडाउनपछि सामान्य अवस्थामा वुहान फर्किँदै गर्दा चीनको ध्यान बाँकी विश्वतिर विस्तार हुँदै छ। आफ्नो देशमा कोभिड-१९ को संक्रमणलाई नियन्त्रणमा लिएको चीनले बाँकी विश्वमा स्वास्थ्य सहायता सामाग्री तथा चिकित्सकलाई पठाएर सहयोग गर्न थालेको छ।
के यतिबेला चीनले 'माक्स डिप्लोमेसी' प्रयोग गर्दै छ?
प्रश्न उठ्न थालेको छ।
विश्वभरका चिकित्सकहरु कोभिड-१९ विरुद्धको अभियानमा लडिरहेका बेला चीनले युरोप र अमेरिका तथा एसियाली मुलुकहरुमा सहयोगको हात अगाडि बढाएको छ। चिनियाँ सरकारी सञ्चार माध्यमले पाण्डेमिकसँग जुध्न चिनियाँ अग्रसरतको रुपमा व्याख्या गरिरहेका छन्। अर्कोतिर पश्चिमा मुलुकहरुमा विश्लेषक तथा सञ्चार माध्यमहरुले चीनको 'मास्क डिप्लोमेसी'को रुपमा चर्चा गर्न थालेका हुन्।
चिनियाँ विदेश उपमन्त्री लुओ चाओहुइले बिहीवारमात्र ८३ देशलाई मास्कसहित टेस्ट किट सहयोग गर्ने प्रस्ताव गरे। उनले पाण्डेमिक नियन्त्रणमा चिनियाँ अनुभव विश्वसँग साट्ने घोषणा गरे।
उनको यस घोषणासँगै पोलिस इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयरका विश्लेषक मार्चिन प्रचिचोड्न्याकले चिनियाँ सहयोग प्राप्त गर्ने मध्य तथा पूर्वी युरोपका देशले बेइजिङको सहयोगको प्रशंसा गर्ने भए पनि यसभित्र लुकेको राजनीतिक तथा आर्थिक स्वार्थ चिन्ताको विषय भएको बताएका छन्।
त्यस्तै युरोपियन युनियनका फरेन पोलिसी प्रमुख जोसेप वोरेलले पनि बेइजिङको सफ्ट पावर क्याम्पियनको विषयमा विश्व समुदाय सचेत हुनुपर्ने बताए। उनले यसलाई भूराजनीतिसँग जोडेर हेर्नुपर्ने बताए। चीन सरकारमात्र होइन चिनियाँ धनाड्य ज्याक माले पनि विश्वका विभिन्न देशलाई मास्कसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने घोषणा गर्दै सहयोग पठाउँदै आएका छन्।
पश्चिमा मुलुकहरुले यसलाई चीनको रणनीतिको रुपमा चर्चा गरिरहेका छन्। यसले युरोपेली देशहरुमा 'प्रो चाइना' फ्याक्सनलाई बलियो बनाउँदै लैजाने देखिन्छ। युरोपेली देशहरुलाई स्वास्थ्य सामाग्री पठाएर चीनले आफ्नो छविलाई ग्लोबल लिडरको रुपमा प्रस्तुत गर्न खोजिरहेको ब्रेन वाङले दी डिप्लोमेटमा लेखेका छन्।
चीनको सहयोग पछि युरोप पनि दुई ध्रुबमा विभाजित छ। कतिले चीनको रणनीतिको रुपमा लिइरहेका छन् भने कतिले यसलाई सहयोगको रुपमा लिँदै धन्यवाद दिइरहेका छन्।
इयुका विदेश मामिला प्रमुखले चिनियाँ रणनीतिको रुपमा ब्याख्या गर्दा युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डर लेयेनले चीनले प्रदान गरिरहेको सहयोग प्रति धन्यवाद दिएकी छिन्। उनले चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङसँग टेलिफोन वार्ता गर्दै सहयोग युरोपका प्रभावित देशहरुलाई सहयोग बढाउन आग्रहसमेत गरेकी थिइन्।
यसलाई अन्तर्राष्ट्रिय मिडियामा मास्क डेप्लोमेसीको रुपमा चर्चा हुँदै गर्दा चिनियाँ विदेश मन्त्रालयले पनि यसप्रति मुख खोलेको छ।
चिनियाँ विदेश मन्त्रालयको आधिकारिक ट्वीटर हेण्डलबाट सोमवार एउटा ट्विट आयो प्रश्न सहित -
'चीन मास्क डिप्लोमेसी प्रयोग गिररहेको छ?'
अरु देशहरु समस्यासँग जुधिरहेका बेला चीन छेउमा उभिएर हेरोस् भन्ने चाहना चीनप्रति यस्तो गलत धारणा राख्नेहरुले राखेका हुन? यस्तो हुँदैन। आवश्यकतामा सहयोग गर्ने चिनियाँ परम्परा हो। यो सबै हाम्रो क्षमताले गरिरहेको सहयोग हो।
China is practicing "mask diplomacy"? Do those speaking ill of China rather want us to stand by while other countries suffer? NO. It is our tradition to reciprocate kindness and help those in need. This is all we do: help others to the best of our ability. pic.twitter.com/W87Cp4HScn
— Spokesperson发言人办公室 (@MFA_China) March 30, 2020
सोमवार चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पनि चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई यस्तै प्रश्न सोधियो।
एएफपीका पत्रकारले प्रवक्ता हुवा चुनिङलाई प्रश्न गरे-
एक युरोपेली देशका अधिकारीले चीनले दिइरहेको सहयोग जनताको विचारलाई भड्काउन गरिएको प्रोपागाण्डाका रुपमा व्याख्या गरेका छन्। तपाईँको प्रतिक्रिया के छ?
उनले प्रश्नको जवाफ प्रश्नैबाट दिइन्- 'मैले पनि पश्चिमा देशहरुका केही मानिसहरुले चीनको राजनीतिक प्रोपागाण्डाको रुपमा व्याख्या गरिरहेको सुनेको छु। म उनीहरुलाई सोध्न चाहन्छु- उनीहरुले पृथ्वीमा के चाहिरहेका छन्? के तिनीहरु चहन्छन् कि चीन बाँकी विश्व र मानिसहरु महामारीबाट प्रताडित भइरहेका बेला चुपाचाप बसिरहोस्? अथवा तिनीहरु आफूले चीनले भन्दा बढी गर्न सक्छौं भन्ने ठान्छन्?'
यस्तो अवस्थामा महामारीबाट प्राताडित जनतालाई बाहिर निकाल्नका लागि चीनले सबै देश ऐक्यवद्ध भएर लागेको हेर्न चाहेको उनले बताइन्।
'महामारीको यो समयमा अरुलाई सहयोग गर्नु आफैलाई सहयोग गर्नु हो,' उनले अगाडि भनेकी छन्, 'चिनियाँ जनताले कोभिड-१९ विरुद्धको लडाइमा अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगलाई कदापी भुल्न सक्दैनन्।'