PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

विदेशबाट फर्किएकाको जानकारी दिनेलाई ५ हजार पुरस्कार!



रासस

विदेशबाट फर्किएकाको जानकारी दिनेलाई ५ हजार पुरस्कार!

सोलुखुम्बु : कोरोना भाइरस (काभिड-१९)को सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ श्ययाको क्यारेन्टाइन र ४८ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ।  सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन्।

एक नगरपालिका सहित ८ स्थानीय तह रहेको यस जिल्लामा हालसम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाइएको छ भने क्वारेन्टाइनमा एक जना पनि राखिएको छैन। वैदेशिक रोजगारीबाट आएकाको एकिन विवरण नभएपनि १४ जनालाई जिल्ला अस्पताल फाप्लुका चिकित्सकको प्रत्यक्ष निगरानीमा सेल्फ होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकुनन्द इवा लिम्बुले जानकारी दिए। उनका अनुसार हरेक दिन स्वास्थ्यकर्मीले टेलिफोन गरी स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहेका छन्। विदेशबाट आउनेको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।

जिल्लाको एक मात्र सोलुदूधकुण्ड नगरपालिकाले तीन वटा ८४ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरेको छ। स्वास्थ्य संयोजक चमर मगरका अनुसार जिल्ला अस्पताल फाप्लुमा सात श्ययाको आइसोलेसन कक्ष निर्माण भएको र नगरपालिकसँग १०७ थान पिपिई र ३ थान फिवर गन रहेका छन्। ११ वटा वडा रहेको नगरपालिकाले सोेमवारदेखि बजार क्षेत्रमा किटनासक औषधी छर्किरहेको नगर प्रहरी प्रमुख डिला कार्कीले जानकारी दिइन्। नगरपालिकाको दमकलको प्रयोग गरी विभिन्न बजार क्षेत्रमा औषधि छर्केको हो।

थुलुङ दुधकोशी गाउँपालिकाले प्रत्येक वडामा १५/१५ श्यया सहितको क्वारेन्टाइन र तीन स्थानमा पाँच श्ययाको आइसोलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। बैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा होम क्यारेन्टाइनमा राखिएको उनले जानकारी दिए। टोलटोलमा माइकिङ गरेको गाउँपालिकाले बैदेशिक रोजगारीबाट आएकाको बारे जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ भने अति विपन्न परिवारलाई खाद्यन्न राहत प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उद्धब ढुंगानाका अनुसार तीन थान पिपिइ, ३ थान फिवर गन र केही औषधि रहेका छन्। नेचासल्यान गाउँपालिकाले १४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोेलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

उनका अनुसार वैदेशिक रोजगारीबाट आएका तीन जनालाई होम क्यारेन्टाइनमा राखिएको छ भने शंकास्पद बिरामी भेटिएमा तत्काल रिफर गर्नका लागी सवारीसाधन तयारी अवस्थामा राखिएको छ। सो गाउँपालिका १० थान पिपिई रहेको गाउँपालिकामा अन्य स्वास्थ्य सामाग्री भने पर्याप्त नभएको स्वास्थ्य शाखाले जनाएको छ।

जिल्लाको अति विकट क्षेत्रमा रहेको महाकुलुङ्ग गाउँपालिकामा ५ श्ययाको आइसोलेसन र २५ श्ययाको क्वारेन्टाइन तयार गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए। क्वारेन्टाइन र आइसोलेसन वाडमा खानेपानी, विद्युत तथा कपडाको व्यवस्था गरिएको उनको भनाइ छ। वैदेशिक रोजगारीबाट आएका तीन जनालाई होम क्वारेनटाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिए। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। पाँच वटा वडा रहेको यस गाउँपालिकामा पिपिई र फिवर गन नभएको स्वास्थ्य संयोजक आचार्यको भनाइ छ। भाइरसको जोखिम कम गर्न टोलटोलमा साबुन पानीको व्यवस्था गर्दै घरदैलो कार्यक्रम जारी राखिएको गाउँपालिकाले जनाएको छ।

सोताङ गाउँपालिकाले तीन श्ययाको क्वारेन्टाइन र चार श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतले जानकारी दिइन्। स्वास्थ्यकर्मीका लागि पिपिई र फिवर गन समेत नभएको यस गाउँपालिकाले भने अहिले सम्म वैदेशिक रोजगारीबाट आउनेको अवस्था समेत पहिचान गरेको छैन भने अन्य सचेतनाका कार्यक्रम समेत अन्य स्थानीय तहको तुलनामा गरेको छैन। यस गाउँपालिकामा पाँच वटा वडा रहेको छ।

माप्यदूधकोशी गाउँपालिकाले पाँच श्ययाको क्वारेन्टाइन र पाँच श्यया आइसोलेसन कक्ष स्थापना गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए। सात वटा वडा रहेको यस गाउँपालिकामा स्वास्थ्य सामाग्री र औषधि समेत नभएको बताइएको छ।

सोमवार मात्रै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा २२ सदस्यीय समिति गठन गरेको योजना शाखा प्रमुख विनोद आचार्यले जानकारी दिए। यस्तै ६ वटा वडामा पनि वडास्तरीय समन्वय समिति निर्माण गरिसकिएको बताइएको छ। वडा नं ७ मा मंगलवार समिति गठन हुने गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिए।

विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बुपासाङल्हमु गाउँपालिकाले ९ श्ययाको आइसोलेसन कक्ष र ४ वटा क्वारेन्टाइन स्थापना गरेको गाउँपालिका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए। पाँच वडा वडा रहेको यस गाउँपालिकासंग २५ थान पिपिई, १० थान फिवर गन रहेको बताइएको छ। पर्यटकको अति चाप हुने यस गाउँपालिकाले सबैभन्दा पहिला स्वास्थ्य परिक्षणका लागि उपकरण ल्याएको थियो। तेञ्जिङ हिलारी बिमानस्थलमा हेल्थ डेक्स स्थापना गरि गाउँपालिका भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गरिरहेको छ।

लिखुपिके गाउँपालिका पाँच वटा वडा रहेको यस गाउँपालिकासंग कुनैपनि स्वास्थ्य उकरण नभएको बताइएको छ। २५ श्यया क्षमताको क्वारेन्टाइन र ८ श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए।

चार वटा एम्बुलेन्स तयारी अवस्थामा

कोरोना भाइरसको शंकास्पद बिरामीलाई आइसोलेसन वार्डसम्म पुर्‍याउनको लागि जिल्लामा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। सोलुदुधकुण्ड नगरपालिका, केरुङ स्वास्थ्य चौकी, बेनी स्वास्थ्य चौकी र तल्लो सोलु हाईड्रोपावरको एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजबंशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell