
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हनेको संख्या तीन हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीले प्रस्तुत गरेको तथ्यांक अनुसार अमेरिकामा हालसम्म ३ हजार आठ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ। जसमध्ये न्यूयोर्क सिटीमामात्र ९ सय १४ जनाको मृत्यु भएको छ।
यो अमेरिकाका अन्य राज्यमध्ये सबैभन्दा बढी भएको बताइएको छ। त्यहाँका मेयर बिल डे ब्लासियोले केन्द्र सरकारबाट भएका प्रयासका बारेमा पटकपटक प्रश्न उठाइसकेका छन्।
‘न्यूयोर्कमा कोरोना भाइरसको संक्रमण खतराजनक बन्दै गइरहेको छ, आगामी दश दिनभित्र मेडिकल सप्लाईमा कमी हुन सक्छ,’ २३ मार्चमा एक बयानका क्रममा उनले भनेका थिए।
त्यसो त न्यू योर्कमा कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै अमेरिकी जल सेना (नेभी)को एक अस्पताल पानीजहाज ‘द कंफर्ट’ न्यूयोर्क पुगेको छ।
उक्त पानीजहाज भर्जिनियाको नोरफोल्क नेभी आधारक्याम्पबाट न्यूयोर्कका लागि हिँडेको थियो। जहाजमा बाह्र वटा कोठामा आधुनिक स्वास्थ्य उपकरण राखिएका छन्। साथै उक्त जहाजमा एक हजारभन्दा बढी अस्पताल बेड, १२ वटा अपरेसन शय्या छन्। त्यस्तै ८० वटा आइसियू र एक मेडिकल ल्याबको पनि व्यवस्था गरिएको छ।
न्यूयोर्क सिटी अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यदि यसैगरी कोरोना संक्रमण बढिरहेमा आगामी मे महिना सम्ममा न्यू योर्कमा हालको क्षमतामा तीन गुणा बढी हस्पिटल बेड आवश्यक पर्ने छ।
कस्तो छ त अमेरीकाको पछिल्लो अवस्था?
संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फउसीले अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एकदेखि दुई लाखसम्म पुग्न सक्ने पहिले नै चेतावनी दिएका छन्।
त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सामाजिक दुरी गाइडलाइन्सको समयसीमा ३० अप्रिलसम्म बढाएका छन्।
राष्ट्रपति ट्रम्पले भन्छन्, ‘अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाखसम्म रोक्न सकियो भने त्यो ठूलो उपलब्धि हुनेछ।’
अमेरिकामा अहिले कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा धेरै छ। यहाँ एक लाख ६३ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।