PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

परराष्ट्र मन्त्री ज्ञवाली भन्छन्, 'सीमामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा बस्ने ग्यारेन्टी भएपछि मात्रै ल्याउँछौं'



प्रकाश भण्डारी

परराष्ट्र मन्त्री ज्ञवाली भन्छन्, 'सीमामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा बस्ने ग्यारेन्टी भएपछि मात्रै ल्याउँछौं'
फोटो : रासस

कोरोना भाइरस संक्रमणको प्रकोपसँगै सबैतिर लकडाउन भएपछि भारतबाट नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन्। स्वदेश फर्किन सीमामा पुगे पनि प्रवेश नपाउँदा अलपत्र परेपछि नेपालीले याचना गरिरहेका छन्। परदेशबाट घरको आँगनमै आइपुग्दा पनि सीमाको छेकबारले सीमामै अलपत्र परेपछि केहीले त जोखिम मोलेर सीमा नदी पार गरेका छन् भने कतिजना सुरक्षाकर्मी छलेर पारी आएका छन्।   

सीमा क्षेत्रमा अलपत्र केही नेपालीलाई भारतले नै खाना र बस्नको व्यवस्था गरेको छ। यति हुँदाहुँदै पनि आफ्ना नागरिक स्वदेश फर्काउन नेपाल सरकारले कुनै ठोस गृहकार्य गरेको छैन। समस्या आइपर्दा र दबाब हुँदा मात्रै होस खुल्ने सरकारले कुनै योजनाविना ठाडो आदेशमा केही नागरिकलाई स्वदेश फर्कायो। अझै पनि सुदूरपश्चिमको दार्चुलास्थित भारतीय सीमा क्षेत्र धारचुलामा अलपत्र परेका आफ्ना देशका नागरिक ल्याउन कुनै योजना छैन। सिंहदरबारले सुनेको छैन। दार्चुला प्रशासन माथिको आदेश कुरेर बसिरहेको छ। यस्तो ढिलाई र गैरजिम्मेवार व्यवहार किन? यही प्रश्न पहिलोपोस्टका प्रकाश भण्डारीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई सोधेका छन्। ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश:

भारतको धारचुलालगायतका क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकार के गर्दै छ?

हामी छलफल गरिरहेका छौं। भारतीय पक्षसँग पनि कुरा गरिरहेका छौं। भारतीयहरु पनि सीमा क्षेत्रमा छन् भन्ने खबर आएको छ। उनीहरु पनि भारत जान खोजिरहेका छन्। दुबै देशले कोरोना प्रकोप नियन्त्रणका लागि सामाजिक दुरी कायम गर्ने निर्णय गरेका छन्। यस्तो अवस्थामा कसरी परस्पर रुपमा समन्वय गर्ने भन्ने छलफल गरिरहेका छौं। उहाँहरुको समस्याका बारेमा हामीलाई थाहा छ। अहिलेको स्थितिमा जो जो जहाँ हुनुहुन्छ त्यहीँ खाना लगायतका अत्यावश्यक कुरा पुर्‍याउने नै हो। उहाँको समस्या समाधान गर्न पनि हामी लागेका छौं।

यसअघि एकपटक भारतबाट आएर सीमामा रोकिएकाहरुलाई नेपाल प्रवेश गर्न दिएको थियो। फेरि पनि उनीहरुलाई आफ्नो देशमा आउन दिएर क्वारेन्टाइनमा राख्दा हुँदैन?

नेपालीहरु भारतबाट लगातार आइरहेका छन्। कहिलेसम्म आउन दिने भन्ने अन्यौल छ। अन्तर्राष्ट्रिय नाका बन्द भइसकेपछि पनि लगातार यो समस्या आइरह्यो। एउटा बिन्दुमा गएर यो समस्याको समाधान नगर्ने हो भने सधै समस्या आइरहने भयो। आउनेहरु पनि क्वारेन्टाइनमा बस्न नमान्ने समस्या छ। यो सबै बिचार गरेर मात्रै निर्णय गर्नुपर्छ।

दिल्लीमै पनि नेपालीहरु अलपत्र छन्, उनीहरुको पनि उद्धार भएन नि हैन?

उनीहरुलाई दूतावासबाटै सबै चिज पुर्‍याउने ब्यवस्था गरेका छौं। यद्यपि अब व्यवस्थित गर्न सजिलो छैन। सामान्यतया यस्तो बेलामा जो जहाँ छन् त्यहीँ बस्नु नै उत्तम विकल्प हो। आफ्ना देशका नागरिक हुन् वा अरु देशका नागरिक। उनीहरुलाई कम्तीमा मानवीय सहायता पुर्‍याउनुपर्छ ती देशहरुले। हामीले पनि विदेशीलाई त्यस्तै गर्ने हो। हाम्रा विदेशमा रहेका नागरिकलाई पनि त्यस्तै व्यवहार गरिदिनुस भन्ने आग्रह छ। संकटको बेलामा सबैले आ-आफ्नो ठाउँ छोडेर हिड्न हो भने पहिलो त यात्रा पनि सुरक्षित छैन। दोस्रो त्यसले समस्याको समाधान पनि गर्दैन।

जुन जुन ठाउँमा हुनुहुन्छ त्यहीँ बस्नु उत्तम विकल्प हो भन्नुभयो, तर नेपालीहरु रहरले पनि त आएका होइनन् नि?

हो पक्कै पनि यस्तो बेलामा रहरले त कोही पनि आउँदैन होला। तर हामीले के गरेका छौं भने विभिन्न देशका दूतावासमार्फत कुनै पनि नेपाली नागरिकलाई यस्तो बेलामा कामबाट वा बसिरहेको ठाउँबाट ननिकालिदिनुस भनेर आग्रह गरेका छौं। अहिले यस्तो बेलामा मानवीयता पनि देखाउनुपर्छ सबै राष्ट्रले। तर हामी जो जो आएर सीमामा बसेका नेपालीहरु छन् उनीहरुलाई तत्कालका लागि के सुविधा पुर्‍याउन सकिन्छ त्यसतर्फ सोचिरहेका छौं। उनीहरुलाई कुनै रोगको जोखिममा पर्न पनि दिनु भएन। हामीहरुले भारतका नागरिकलाई र भारतीयले हाम्रा नागरिकलाई सेवा पुर्‍याउने विषयमा कुरा गरिरहेका छौं। हामी चाँडै निर्णयमा पुग्दै छ।

भारतबाहेक अन्य देशमा अप्ठेरोमा रहेका नेपालीका लागि के गर्दैछन् त्यहाँका दूतावासले?

अरु देशमा पनि दूतावासले काम गरिरहेका छन्। त्यहाँबाट नेपाली ल्याउने भन्ने बारेमा छलफल भएको छैन। बरु त्यहीँ कसरी सुरक्षित राख्ने भन्ने विषयमा तयारी भइरहेको छ। हामीले विद्यार्थीलाई साधारण खर्च पठाउने निर्णय गरेका छौं। कसैलाई जागिरबाट निकाल्यो भने सरकारलाई खबर गर्न पनि अनुरोध छ।

दूतावासले के तपाईले भने जसरी सक्रिय रुपमा काम गरेका छन्?

मैले केही दिनअघि भिडियो कन्फ्रेन्स पनि गरेको थिए। सबै ठाउँमा अनलाइन सेवा छ। दु:खमा परेका हरेक नेपालीलाई साथ दिन भनेका छौं। जे जसरी हुन्छ दूतावासले साथ दिइरहेको छ। तर यसमा पनि सबै ठाउँमा विपत्ति छ सबैले बुझिदिनुपर्‍यो।

अरु ठाउँको तयारी हुँदै गर्ला, तर सीमामा आएकालाई तत्कालै उद्धार गर्नुपर्ने होइन र?

हो, यस मामलामा हामी चिन्तित छौं। तर, सीमा क्षेत्रका सिडिओलाई पनि नेपालीहरुलाई सहयोग गर्न भनेका छौं। सबै नेपालीलाई मानवीयताका हिसाबले तत्काल चाहिने कुरा पुर्‍याउछौं। हामीले केही नगरेको भन्ने होइन। यदि ल्याउने हो भने सबै ठाउँमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नु पर्‍यो। हामीले उनीहरु पनि क्वारेन्टाइनमा बस्ने ग्यारेन्टीका साथ ल्याउँछौं। हामीले भारततिरका अधिकारीलाई पनि यस्तै भनेका छौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell