PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बाढी पीडितका लागि लकडाउन : भाइरस आउला नआउला, रोगले भन्दा भोकले छिट्टै मरिएला भन्ने पिर



पी बी खड्का

बाढी पीडितका लागि लकडाउन : भाइरस आउला नआउला, रोगले भन्दा भोकले छिट्टै मरिएला भन्ने पिर

सुर्खेत : दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने नागरिक यतिबेला संकटमा छन्। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले एक साता अघिदेखि देश नै लकडाउन गरेपछि उनीहरुलाई दैनिक गुजारा चलाउन निकै मुश्किल परेको छ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले गरेको लकडाउनले दैनिक मजदुरी गरेर घरखर्च चलाउने सुर्खेतका बाढी पीडितले खाद्यान्न संकट झेलेका छन्। मजदुरी र दैनिक ढुंगा, गिट्टी फोडेर जीवन निर्वाह गर्दै आएका सुर्खेतका बाढी पीडितहरु घरमा भएको खाद्यान्न सकिएपछि बिहान बेलुका के खाने भन्ने पिरलोमा छन्। उनीहरुलाई रोग आउला नआउला तर, भोकले गर्दा मरिन्छ कि भन्ने चिन्ता छ।

‘वर्षाैदेखि पीडित भएर बसेका हामी अहिले झनै पीडित बनेका छौँ’, बाढी पीडित मैसरा गुरुङले भनिन्, ‘अहिले आएको रोगले भन्दा पनि भोकले छिट्टै मरिन्छ कि भन्ने पिर छ।’

दिनभर काम गरेर बेलुकाको छाक टार्ने आफूहरुमा अहिले बिहान र बेलुका के खाने भन्ने पिर बढेको उनी बताउँछिन्।

‘काम गरेर ल्याएको नुन, तेल, चामल दुई चार दिनलाई भयो, अहिले सबै रित्तियो,’ उनी भन्छिन्।

सरकारले गएको वर्ष बाढी पीडितको समस्या समाधान गर्ने भनेपनि अहिलेसम्म आधा भन्दा बढी बाढीपहिरो प्रभावित अस्थायी शिविरमै छन्। घरबारविहीन उनीहरु आफ्नो दैनिकी टार्नका लागि दैनिक ढुंगा, गिट्टी कुट्ने गर्छन् भने बाहिर मजदुरीका लागि जान्छन्। यस्तै, अस्थायी शिविरमै गिट्टी कुटेर जीवन निर्वाह गर्दै आएकी लक्ष्मी दमाई पनि गिट्टी बिक्री हुन छोडेपछि अहिले बिहान बेलुका के खाने भन्ने पिरमा छिन्।

‘घरमा कमाउने कोही छैन। यही गिट्टी कुटेर बिक्री भएको बेला खाने नत्र भोकै बस्ने हामी अहिले कुटेका गिट्टी पनि बिक्री हुन छोडे’, उनले भनिन्, ‘गिट्टी त्यत्तिकै थन्किएको छ। गोजीमा सुको छैन, भएको चामल, नुन तेल सबै सकियो।’

२०७१ साल साउन अन्तिम साता आएको बाढीपहिरोबाट सुर्खेतमा एक हजार ४५ बढी विस्थापित भएका थिए। कर्णाली प्रदेश सरकारले झण्डै ६ सय जग्गा हुने विस्थापित घरपरिवारलाई डेढ लाखका दरले पहिलो किस्ता दिइसकेको छ भने बाँकी जग्गा नहुनेहरुका लागि कुनै रकम पनि दिएको छैन। जसले गर्दा पनि अहिलेसम्म बाढीपहिरो प्रभावित झनै कष्टकर जीवन बिताइरहेका छन्।

सरकारले लकडाउनको समय थप एक साता लम्ब्याएपछि झन् उनीहरुलाई खाद्यान्नको संकट बल्झिने निश्चित छ। सरकारले आगामी २५ गतेसम्म  लकडाउनको समय लम्ब्याएपछि दैनिक मजदुरी गरेर घरखर्चको जोहो गर्नेका लागि राहत दिने निर्णय भने गरिसकेको छ। तीन तहका सरकारले मजदुरी गरेर घरखर्च चलाउनेलाई राहतको व्यवस्था गर्ने भनिएपनि अहिलेसम्म दिन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिकाले बाढी पीडितसहित अन्य मजदुरी गर्नेलाई राहत दिने तयारी भइरहेको जनाएको छ। नगरपालिकाले अबको केही दिनमा दिने भन्दै सहयोग गर्ने संघ, संस्था र व्यक्तिले नगरपालिका मार्फत सहयोग गर्न समेत आग्रह गरेको छ। 

संक्रमणको उच्च जोखिम

अस्थायी छाप्रोमा अव्यवस्थित बसेका बाढी पीडितहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्। त्रिपालका छाप्राले एकै ठाउँमा बनाइका यो बस्तीमा फोहोरै फोहोर छ भने पानीको अभाव छ। यहाँका नागरिक भाइरसबाट बच्न सुरक्षित छैनन् भने सरसफाइको कमी पनि उस्तै छ।

‘हामीले सकेसम्म सरसफाइ त गरिरहेकै छौँ’, मैसरा भन्छिन्, ‘प्रशस्त खानेपानी त छैन छिन् छिनमा कसरी सरसफाइ गर्ने?’

खाने खर्च किन्न नसक्ने अवस्थामा मास्क, साबुन, सेनिटाइजर लगायतका सामान किनेर प्रयोग गर्ने अवस्था नरहेको उनीहरु बताउँछिन्।

‘अलि पहिला एउटा संस्थाले दुई वटा साबुन दिएको थियो, अहिले सक्किसक्यो। आफुसँग किन्ने पैसा छैन कसरी सुरक्षित हुने?’ उनले गुनासो गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell