PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जो नेपालको याद बोकेर फर्किए अमेरिका …



पहिलोपोस्ट

जो नेपालको याद बोकेर फर्किए अमेरिका …

यो उनीहरुको जीवनको सबैभन्दा यादगार यात्रा हुने पक्का थियो। उनीहरुले यस यात्रामा निस्कनका लागि कसैले रोक्न सक्दैन थियो।

विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको थियो। यता अमेरिकी नागरिकहरु पनि भाइरसबारे सचेत भइरहँदा टेक्ससका साइन पेन्टर सिन स्टारर र उनकी श्रीमती जेन्नी ब्याग प्याक गर्दै थिए।

फेब्रुअरी २९ मा उनीहरुको फ्लाइट थियो। दुबई हुँदै उनीहरु नेपाल पुग्ने कार्यक्रम तय थियो। उनीहरुसँगै नेपालको यात्रामा थिए डेलास बस्ने साराह रेयेस र डेनियल ड्रेनेस्की। उनीहरु दुईजना नेपाली आर्टिस्टहरुको बारेमा फिल्म प्रोजेक्टमा काम गरिरहेका थिए।

उनी गत वर्ष पनि नेपाल भ्रमणमा आएकी थिइन्। त्यही बेला बनेको नेपाली साथीहरुको सहयोगमा उनी फेरि नेपालको यात्रामा निस्किइन्। यो यात्राका क्रममा उनले नेपाली साइन पेन्टर, माटोका भाडा बनाउनेहरु,कामको काम गर्नेहरु, धातुको काम गर्नेहरु लगायत अरु शिल्पका काम गर्नेहरुसँग भेट्ने तय भएको थियो।

क्लिन ड्रिंक एड्भेन्चरका लागि फिल्म सेगमेन्ट बनाउनका लागि उनीहरु हिमाली क्षेत्रमा घुम्ने समेत पक्का भइसकेको थियो। एड्भेन्चरले दुर्गम हिमाली क्षेत्रमा मोटरसाइकलहरुको प्रयोग गरेर वाटर फिल्ट्रेसन सिस्टम निर्माण गरिरहेको थियो।

त्यसैले नेपालको यात्रा निस्किएको यो टोलीले यहाँका कलाकारहरुको बारेमा फिल्म बनाउनुका साथै एड्भेन्चरसँग काम गर्ने निधो गर्‍यो। यसबाट नेपालमा प्रमोट हुने उनीहरुले ठानेका थिए।

रेयेस भन्छन्, ‘यो डकुमेन्ट्रीले कला प्रेमको माध्यम कसरी बन्यो भनेर देखाउँनेछ। भाषिक र सांस्कृतिक विविधता बाबजुद विश्वभर प्रेमको परिभाषा एउटै उनले यसले प्रस्तुत गर्नेछ।’

स्टाररसँगै उनकी व्यवसायिक साझेदार नोरमा जेन्ने मलोने समेत नेपाल आउन चाहन्थिन्। तर, उनको स्वास्थ्यमा समस्या देखिएपछि उनी टेक्ससमा नै रोकिइन्।

करिब दुई हप्ता नेपालमा बसेर डकुमेन्ट्रीको काम गर्ने उनीहरुले योजना बनाएका थिए। त्यसपछि रेयेस र ड्रेन्सकी मार्च महिनाको मध्यतिर अर्को प्रोजेक्टका लागि लन्डन जानेमा कुरा भइसकेको थियो। स्टारर र बेकर भने मार्चको अन्तिम सातातिर भारतको बाराणसी जाने योजनामा थिए।

नेपाल आएपछि उनीहरु हिमाली क्षेत्रको यात्रामा निस्किए। त्यहाँको एक विद्यालयमा स्टाररले चित्र बनाउने भनिएको थियो।

उनीहरु हिमाली क्षेत्रमा क्याम्पेनिङ गरिरहेको बेलामा अन्तर्राष्ट्रिय सीमाहरुमा कडाइ गर्न सुरु भइसकेको थियो। मार्च ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले युरोपसँगको आवागमन रद्द गर्ने घोषणा गरे। यस्तै भारतले मार्च १३ देखि ट्राभल भिसाहरु रद्द गर्‍यो। स्टारर र बेकरको भारत भ्रमण ‘होल्ड’ मा रह्यो।

मार्च १२ मा स्टाररले आफ्नो फेसबुकमा लेखिन्, ‘नेपालमा हामीले के अनुभव गर्‍यौं भनेर हामीले शब्दमा व्यक्ति गर्न सक्दैनौं। सीमामा चलिरहेको कडाइबीच घर फर्किनु निकै चुनौतीपूर्ण छ।’

रेयेस र ड्रेन्सकी अझै मार्च १७ मा दुबई हुँदै लन्डन जान सक्ने सम्भावना अझै थियो। तर, स्टारर र बेकरले नेपाल बाहिर जान कुनै पनि विमान पाएनन्। त्यो बेलासम्म विमान कम्पनीहरुले हवाई उडानहरु कटौती गरिसकेका थिए।

‘हामीलाई केही जानकारी छैन। विमानहरु रद्द गरिएको भन्ने बारेमा हामीले इमेल समेत पाएनौं। कुनै पनि विमान कम्पनीहरुले हाम्रो इमेल र फोनको उत्तर दिएनन्। यसबाट हामी थप चिन्तित बन्यौं। त्यसैले हामी काठमाडौंमा रहेको विमानस्थल गयौं। हाम्रो विमान कम्पनीको ढोका बाहिर सबै विमानहरु रद्द गरिएको उल्लेख थियो। कार्यालयभित्र फोनको घण्टी बजेको बज्यै थियो,’ स्टाररले भनिन्।

‘उडान रद्द गरेको अवस्थामा विमान कम्पनीले रिफन्ड दिनुपर्छ भनेर कयौं उडानहरु अन्तिम समयसम्म रद्द गरिएको थिएन,’ रेयेसले भने।

विमानस्थलबाट उनीहरु अमेरिकी दूतावासका लागि हिँडे। तर, दूतावासले उनीहरुलाई भेटन अस्वीकार गर्‍यो। उनीहरुले फोनको माध्यमबाट दूतावासको अगाडि रहेका कर्मचारीसँग कुरा गर्नुपरेको थियो।

कर्मचारीले फोनमा ‘हामीले तपाईँहरुको लागि के गर्नुपर्‍यो? हामी ट्राभल एजेन्सी होइनौं। तपाईहरु आफ्नो समस्या आफै समाधान गर्नुस्’ भन्दा उनीहरु अचम्मित भए।

ट्रम्पले विभिन्न देशमा फसेका अमेरिकी नागरिकहरुको उद्दारको कुरा गरेका थिए। त्यसपछि उनीहरुले यसै बारेमा सोधे।

‘जब हामीले ट्रम्पको घोषणाको बारेमा सोध्यौं, उनीहरुले आफूहरुलाई त्यसको बारेमा केही थाहा नभएको बताए। उद्दारको कुरा भविष्यमा होला भन्ने कुरामा उनीहरु विश्वस्त समेत देखिएनन्,’ उनले भने।

काठमाडौंमा रहेको अमेरिकी दूतावासले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई जहाँ छ त्यही नै बसिरहनु भनेर सूचना जारी गरेको थियो। हिँड्डुल गर्न वा कुनै प्रकारको यात्रामा नजान सचेत गराइएको थियो। किनभने नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोक्न मार्च ३१ सम्म लकडाउन गर्ने घोषणा गरेको थियो।

रेयेस र ड्रेन्सकीले भने घर फर्किए।

यता, स्टारर र बेकर भने नेपालमा नै रोकिए। उनीहरु भक्तपुरको एक होटलमा बसे। त्यहाँ उनीहरुले आफूहरु जस्तै फसेका फ्रान्सेली जोडीलाई भेटे, लिसे काप्रिली र मिसेल स्चछुल्जे।

होटलमा रहँदा उनीहरुले दाल भात धेरै मन पराए। होटलको छटमा जेन्नी योगा सिकाउँथिन्। फुर्सदको समयमा उनीहरु नेटफ्लिक्सबाट ‘टाइगर किङ’ हेर्थे।

लकडाउन जारी थियो। सात दिनलाई भनिएको लकडाउन अर्को ८ दिन थपियो। मार्च ३० मा स्टारर र बेकरलाई दूतावासबाट सूचना आयो ‘मार्च ३१ मा नेपालमा फसेका अमेरिका नागरिकहरुका लागि चार्टर विमानको व्यवस्था गरिएको छ।’

उनीहरु घर फर्किन चाहन्थे। तर, त्यो सूचनाले उनीहरुलाई अन्यौलमा पर्‍यो। स्टाररले काठमाडौंबाट वासिङ्टनको डेलस विमानस्थलसम्म जान दुई हजार अमेरिकी डलरदेखि ३ हजार अमेरिकी डलर लाग्ने उल्लेख थियो। त्यहाँबाट टेक्सससम्म आफ्नै खर्चमा जानुपर्थ्‍यो।

टिकटको मूल्य धेरै भए पनि उनीहरुलाई घर फर्कँनु नै थियो। ३१ मार्चमा उनीहरु विमान चढेर स्वदेश फिर्ता भए।

‘मलाई यो ठाउँ निकै मनपर्‍यो। यहाँको संस्कृति र मानिसहरु सुन्दर छन्। यहाँको वातावरण शान्त छ। तर, घर भनेको घर हो,’ स्टाररले भने।

यता, रेयेस र ड्रेन्सकी भने उनीहरुले फिल्म सुट गरेका मानिसहरुको भविष्यको आर्थिक अवस्थालाई लिएर चिन्तित छन्।

‘नेपाल जस्तो पर्यटनमा आत्मनिर्भर देशले यो महामारीबाट भोग्नु पर्ने समस्याका बारेमा सोचेर हामी निकै आत्तिएका छौं,’ रेयेसले भने, ‘हामीले नेपालमा रहँदा जतिलाई भेट्यौं उनीहरुमध्ये धेरैजना अहिले कामबिहीन भएका छन्। आउने केही महिनासम्म उनीहरुले निकै ठूलो संघर्ष गर्नुपर्नेछ।’

कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिका बाबजुद यी चारै जनाले नेपालमा राम्रो समय बिताएको बताए। रेयेस र ड्रेन्सकीले आफूहरु जानु अघि नै फिल्मका लागि चाहिने सबै छायाँकन गर्न पाएको खुशी छन्।

‘नेपालको यात्रा लाइफ चेन्जिङ अनुभव थियो। यो महामारीबीच हामीले गरेको यात्रामा कहिल्यै पछुतो हुनेछैन,’ रेयेसले भने, ‘यो यात्रामा जाँदा हामी यस कारण पनि खुशी छौं किनभने अब यसपछि हामीले अर्को अन्तर्राष्ट्रिय यात्रा कहिले गर्न पाउने हो थाहा छैन।’

स्टाररले थपे, ‘हामीले फेब्रुअरीमा ब्याग प्याक गर्दैगर्दा जीवनमा यस्तो परिस्थिति भोग्नुपर्छ भनेर सोचेका पनि थिएनौं। जीवन गतिशील छ। हामी नेपालमा बिताएका पलहरु बिर्सिदैनौं।’

(डेलास अब्जर्भरमा प्रकाशित सामग्रीको भावानुवाद।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell