PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाँच तारे सोल्टीमा दुई जना ग्राहक, याक एण्ड यति रित्तै, अलोफ्टले राख्यो 'इनहाउस डक्टर'



वसन्तराज उप्रेती

पाँच तारे सोल्टीमा दुई जना ग्राहक, याक एण्ड यति रित्तै, अलोफ्टले राख्यो 'इनहाउस डक्टर'

काठमाडौं : सरकारले घोषणा गरेको लकडाउनबाट देशभित्रका तारे होटलहरु पनि अछुतो छैनन्।  यतिबेला धेरै होटेल बन्द छन्। तर काठमाडौंका केही ठूला होटलहरुले भने नगन्य ग्राहकका बाबजुद पनि सेवा दिइरहेका छन्।

काठमाडौंको सोल्टी क्राउन प्लाजामा अहिले पनि लामो समयदेखि बस्दै आएका दुईजना विदेशी नागरिकमात्र रहेको होटलकी मार्केटिङ एक्जुकेटिभ प्रतीक्षा बस्नेतले जानकारी दिइन्। तथापि, सोल्टीले अहिले होटल बन्द नगरेर खानाको होम डेलिभरी सेवा दिँदै आएको जानकारी दिएको छ।

‘होटल पूर्णरुपमा बन्द भएको छैन। हरेक डिपार्टमेन्टका एक जना कर्मचारी उपस्थित छन्,’ बस्नेतले भनिन्, ‘हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत् अर्डर आएको परिकारको होम डेलिभरी दिँदै आएका छौँ।’

अर्थात्, अहिले पनि सोल्टीका ग्राहकले सीमित परिकारहरु अनलाइनमार्फत् अर्डर गर्न सक्नेछन्। होटलले यसका लागि वेबसाइटमा लिंक राखिदिएको छ। सोही मार्फत् ग्राहकले घरबाटै खानेकुरा अर्डर गर्दै आएको र त्यसको होम डेलिभरी गरिरहेको उनले बताइन।

कोरोना संक्रमणका कारण अहिले सरकारले होटलमा बस्ने ग्राहकक मेडिकल सर्टिफिकेट अनिवार्य रुपमा हुनुपर्ने प्रावधान तोकेको छ। उक्त मेडिकल सर्टिफिकेटमा ग्राहक कोरोना भाइरस (कोभिड –१९) बाट संक्रमित नरहेको प्रमाणित गरिएको हुनुपर्नेछ।

अहिले होटलमा एकजना पनि ग्राहक नभएको होटल याक एण्ड यतिका एक कर्मचारीले बताए। ‘गेस्ट आए राख्ने त कुरो छ तर मेडिकल सर्टिफिकेट अनिवार्य गरिएकाले अहिलेसम्म त्यस्ता ग्राहक आएका छैनन्,’ ती कर्मचारीले भने।

ठमेलस्थित अलोफ्ट होटलमा भने अहिले पनि करिब २० जना विदेशी पर्यटक बसिरहेको होटलका बिक्री निर्देशक रीना शेरचनले जानकारी दिइन्। होटलले इन–हाउस गेस्टलाई दिइने सुविधालाई मध्यनजर गर्दै रेस्टुरेन्ट पनि संचालन गर्दै आएको उनले बताइन्।

‘यतिखेर विभिन्न मुलुकका गेस्टहरु आइरहनु भएको छ। हामीले स्पेसल प्याकेज अन्तर्गत उहाँहरुलाई सेवा दिइरहेका छौं,’ शेरचनले भनिन्, ‘होटलका ग्राहक र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर इन–हाउस डक्टर समेत राखेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell