
युनाइटेड अरब एमिरेट्स (युएइ)मा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। मंगलबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार एसियाली मुलका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनलाई मुटु र उक्त रक्तचापको समस्या थियो।
त्यस्तै युएइमा थप ५३ जनामा संक्रमण देखिएको छ। जसमध्ये दुई नेपाली रहेका छन्। यससँगै संक्रमण पुष्टि भएका नेपालीको संख्या ८ पुग्यो। जसमध्ये दुई जना उपचारपछि संक्रमण मुक्त भइसकेका छन्। बाँकी ६ जना उपचाररत् छन्।
पछिल्लो संक्रमणको सूचीमा दुई इजिप्टका, तीन बेलायतका, चार युएइका र ३१ भारतीय रहेका छन्। अल्जेरीया, लेबनन, पाकिस्तान, इरान, कुवेत, स्विजरल्यान्ड, टर्की, फिलिपिन्स, इटाली, फ्रान्स, अमेरिकाका एकएक जनामा संक्रमण देखिएको हो।
हालसम्म युएइमा रहेका ६ सय ६४ जनामा संक्रमण देखिएको छ। गल्फ न्यूजका अनुसार नयाँ संक्रमितहरुको पहिचान ट्रेसिङ र परीक्षण गरेपछि भएको हो।
युएइ सरकारल आम मानिसलाई सामाजिक र शारीरिक दूरी कायम राख्ने अपिल गरेको छ। त्यस्तै स्वास प्रस्वासमा समस्या भएका मानिसलाई भिडभाडमा नजान समेत निर्देशन दिएको छ। भनिएको छ – कोरोना संक्रमण बारे केही जानकारी चाहिए आधिकारिक संस्था वा निकायसँग माग्नु। हल्लाको पछि नलाग्नु।