PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दीपक बज्राचार्यको क्वारेन्टाइन डायरीः फेसबुकमार्फत् दर्शकलाई मनोरञ्जन, दुई तीनवटा गीत कम्पोज



मन्दिरा खत्री

दीपक बज्राचार्यको क्वारेन्टाइन डायरीः फेसबुकमार्फत् दर्शकलाई मनोरञ्जन, दुई तीनवटा गीत कम्पोज
बज्राचार्यको फेसबुकबाट लिइएको फोटो

ललितपुरस्थित भैँसेपाटीमा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बसेर गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डका सबै सदस्य मंगलवार घर फर्किए। दीपकले क्वारेन्टाइनको १४ दिन र अहिले इमाडोल निवास फर्किँदाको महोलमा भिन्न पाएको बताए।

‘सरकारले लकडाउनको घोषणा गरेको छ। तर यहाँ मानिसहरूले खासै पालना गरेका रहेनछन्। भैँसेपाटीको तुलनामा लकडाउनको समयमा इमाडोलमा मानिसको चहलपहल बढी पाएँ,’ उनले भने।

१४ दिने बसाइले उनमा ऊर्जा थपेको छ। घरमा अबेरसम्म सुत्ने उनी त्यहाँ सबेरै उठ्थे। बिहानीको चिसो हावा खाँदै हातमा गितार लिएर गीत गुनगुनाउन थालिहाल्थे।

क्वारेन्टाइनको अनुभव सुनाउँदै दीपकले भने, ‘त्यहाँ गएर एउटा चाहिँ राम्रो बानी सिकेँ मैले। घरमा हुँदा राति अबेरसम्म बस्थेँ अनि बिहान पनि ढिला उठ्थेँ। क्वारेन्टाइनमा समयमै सुत्ने बानी परेको थियो। बिहान पनि ५ बजे नै निन्द्रा खुल्थ्यो।'

क्वारेन्टाइन बसाइका समयमा आफूले दुई तीनवटा गीत कम्पोज गरेको दीपकले बताए।

बज्राचार्यले लकडाउनको एक सातासम्म सामाजिक सञ्जालमा नियमित लाइभ भिडियो सार्वजनिक गरेर दर्शकहरूलाई मनोरञ्जन दिइरहे। लाइभ भिडियोमा दर्शकहरुको सकारात्मक प्रतिक्रिया देखेर मख्ख छन् उनी।

‘फेसबुक लाइभमार्फत् दर्शकहरूलाई मनोरञ्जन नगरेको भए हाम्रो क्वारेन्टाइन अनुभव एकदमै तीतो हुन्थ्यो,’ उनले थपे, ‘अस्ट्रेलियाको टुरबाट फर्किएलगत्तै हामी क्वारेन्टाइनमा बस्न थाल्यौँ। फर्किएपछि सिधै क्वारेन्टाइनमा गएकाले हामीसँग सबै इन्स्ट्रुमेन्ट थिए। ब्याण्डका सबै मेम्बरसहित फेसबुक लाइभ गर्न सहज भयो। हामीले सोचेका पनि थिएनौँ कि यति धेरै दर्शकहरूले हाम्रो प्रस्तुती हेर्नुहुन्छ भनेर। पहिलो लाइभ भिडियोमा दर्शकहरुको उत्साहजनक प्रतिक्रिया पाएपछि अन्य प्रस्तुतीका लागि थप ऊर्जा मिल्यो।’

सेल्फ क्वारेन्टाइनमा हुँदा दीपक लगायत उनको ब्याण्ड मेम्बरहरु सबै घरको काम मिलीजुली गर्थे।

‘घर सफा गर्नेदेखि लिएर खाना पकाउने लगायतका सबै काम हामी मिलेर नै गर्थ्यौँ,’ दीपकले अनुभव सुनाए।

१४ दिनपछि घर फर्किएका उनले अबको लकडाउन सुतेरै नबिताउने सुनाए। हाँस्दै भने, ‘लकडाउन भनेर अब सुतेरै लकडाउन भएर बस्न चाहिँ मलाई इच्छा छैन। एक दुईवटा गीत कम्पोज गर्ने विचारमा छु। त्यसबाहेक अस्ट्रेलिया टुरको भ्लगहरू बनाउन बाँकी छ। त्यही भ्लगहरू बनाउने मिल्यो भने फेरि फेसबुकमार्फत् गीत गाएर दर्शकलाई मनोरञ्जन गर्ने प्रयास गर्नेछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell