PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

नाकाबन्दीदेखि गोदाममै थन्किएको इन्डक्सन लकडाउनमा एक्कासी रित्तिँदै



सविन ढकाल

नाकाबन्दीदेखि गोदाममै थन्किएको इन्डक्सन लकडाउनमा एक्कासी रित्तिँदै

काठमाडौं : लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव हुँदा मानिसको आकर्षण इन्डक्सन चुल्होतिर बढेको छ। लकडाउन कति लम्बिने हो निश्चित छैन। त्यसैले विकल्पको खोजीमा मानिसहरु इन्क्सनतिर तानिएका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि उपत्यकका विभिन्न पाँच स्थानबाट इन्डक्सन चुलो बिक्री गरिरहेको छ। लकडाउनको समय थपिएपछि खाद्यमा किन्नेको घुइँचो लागेको छ। लकडाउनपछि दैनिक ५ सयभन्दा धेरै इन्डक्सन चुल्हो बिकेको छ।

'अहिले चुल्हो किन्ने मानिसको नै बढी सङ्ख्या छ। दैनिक ५ सयभन्दा बढी मानिसले चुल्हो लिएर जानुहुन्छ,' कम्पनीकी सूचना अधिकृत सर्मिला सुवेदीले पहिलोपोस्टसँग भनिन्। चुल्हो किन्नेको भिड बढेपछि कम्पनीले ललितपुरको प्रयाग पोखरीमा पनि मंगलबारबाट सेल्स काउन्टर खोलेर बिक्री थालेको छ।

नाकाबन्दीको समयमा इन्धनको चरम अभाव हुँदा चीनले अनुदानमा ११ हजार थान इन्डक्सन चुल्हो पठाएको थियो। नेसनल ट्रेडिङ लिमिटेडले सुरुमा ११ हजार ९६ रुपैयाँ मूल्य तोकेर यसको बिक्री सुरु गरेको थियो। तर, सोचे अनुसार इन्डक्सन चुल्हो बिक्री भएन। नेसनल ट्रेडिङ लिमिटेड र खाद्य संस्थान मर्ज भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी बन्यो। कम्पनी बनेपछिको रेकर्डमा ७ हजार ४ सय ३५ वटा इन्डक्सन चुल्हो बाँकी थियो। त्यही चुल्हो कोरोनाको हल्लापछि नै बिक्री भएको हो।

बिक्री नभएपछि यसको मूल्य घटाएर ४ हजार पुर्‍याइएको हो। मूल्य घटाउँदा पनि मानिसहरुले इन्डक्सन किनेका थिएनन्। त्यही भएर स्टक रहेको चुल्हो अहिले काम लागेको छ। 'नाकाबन्दीमा पठाएको चुल्हो सबैभन्दा धेरै लकडाउनमा नै बिक्री भएको हो,' अधिकृत सुवेदीले भनिन्।

खाद्यमा अब १५ सय वटामात्र इन्डक्सन बिक्री हुन बाँकी छ। अहिलेकै रुपमा चुल्हो बिक्री हुने हो भने तीन दिनमा सकिन्छ।

'अहिलेको अनुसार बिक्री भए तीन दिनमा सकिन सक्छ। त्यसपछि चुल्लो आउने नआउने कुनै टुङ्गो छैन,' अधिकृत सुवेदीले भनिन्।

नेपाल विद्युत प्राधिकरणले पनि उपभोक्तालाई इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ। सरकारले चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell