PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

नेपाल आउँदैगर्दा भारतको मदकोटमा एकजनाको मृत्यु, आफन्त भन्छन् : लास ल्याउन भए पनि नाका खोल्देउ



पहिलोपोस्ट

नेपाल आउँदैगर्दा भारतको मदकोटमा एकजनाको मृत्यु, आफन्त भन्छन् : लास ल्याउन भए पनि नाका खोल्देउ
दुई देश जोड्ने झोलुङ्गे पुल। फाइल फोटो

दार्चुला : स्वदेश फर्कने क्रममा भारत उत्तराखण्डको मदकोट क्षेत्रमा मजदुरी गर्न गएका एक नेपालीको गए राती मृत्यु भएको छ। मार्मा गाउँपालिका वडा नम्बर २ ठुलथला घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्नाको मदकोट झोलुङ्गेपुलमा मृत्यु भएको परिवारले जनाएको छ। गत कात्तिकमा मजदुरीका लागि मदकोट गएका ठगुन्नाको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको जानकारी आएको आफन्त प्रमानन्द ठगुन्नाले जानकारी दिए।

३०/३५ जनाको समूहमा नेपालीहरु मदकोटबाट घर फर्किँदै थिए। सडकमा काम गर्न गएका उनीहरु नेपाल भारत जोड्ने झोलुङ्गे पुल खुल्ने आशामा घर फर्किएका हुन्। गाउँमा काम नपाएपछि भारतमा मजदुरी गर्न गएका ठगुन्नाको मृत्युको खबर आफन्तले पठाएका हुन्।

घट्नाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने जानकारी प्राप्त नभएको डिएसपी दीपेन्द्र बहादुर शाहीले बताए।

यसैबीच मृतकका आफन्तहरुले भारतमा रहेको उनको शव ल्याउन चाहेका छन्। नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै शव नेपाल ल्याउन पहल गरिदिन मृतकका आफन्तले सबैमा आग्रह गरेका छन्।

मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, ‘हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौं, नेपाल भारत जोड्ने झोलुङ्गे पुल खुलाउने व्यवस्था गराइदिनुपर्‍यो।’

लकडाउनका कारण भारतमा काम गर्न गएकाहरु रातारात नेपाल आउन थालेका छन्। दिउँसो उनीहरुलाई सुरक्षाकर्मीले रोक्ने भएकाले रातीमात्रै आउने गरेका हुन्। कतिपय त राती नै महाकाली नदी तरेर नेपाल छिर्ने गरी आएका छन्। नेपालले खलङ्गामा रहेको सीमा वारपार गर्ने झोलुङ्गे पुलबाट मानिस आउन रोक लगाएको छ।

अहिले ८ सय जना महाकाली नदी बगरमा भारतीय क्षेत्रमा फसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell