PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

ठाकुरराम क्याम्पसको छात्रावासमा कोचिए स्वदेश फर्किन हिँडेका भारतीय



राधेश्याम पटेल

ठाकुरराम क्याम्पसको छात्रावासमा कोचिए स्वदेश फर्किन हिँडेका भारतीय

वीरगंज : भारत जान लागेका करिब साढे ३ सय भारतीयलाई पर्सा प्रहरीले ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्रावासको भवनमा राखेको छ। मंगलवार राति १२ बजेदेखि उनीहरुलाई नियन्त्रणमा लिई छात्रावासमा राखिएको हो। नियन्त्रणमा पर्नेहरुमा भारत बिहारका मजदुर र केही बारा पर्सा आसपासका नेपाली नागरिक रहेको जनाइएको छ।

लकडाउनको समयमा देशका विभिन्न जिल्लाहरुबाट भारतीय तथा पर्सा आसपासका केही नागरिक पैदल र अन्य साना सवारी साधनको माध्यमबाट लुकिछिपी आ–आफ्नो गन्तव्यतर्फ जान लागेका अवस्थामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले म‌ंगलवार राति पक्राउ गरी छात्रावासमा खाना र शौचालयको व्यवस्थाबिना कोचेर राखेको नियन्त्रणमा पर्नेहरुको गुनासो छ।

‘सरकारले ३ फिटको दुरी कायम गर्न भनिरहेको छ, तर यहाँ ३ ईन्चको दुरी पनि छैन’, एक भारतीले भने, ‘अर्को तर्फ हिजो राति देखि केही खानको लागि पनि दिइएको छैन, न चर्पीको व्यवस्था मिलाइएको छ।’

काठमाडौं, पोखरा, चितवन, हेटौँडालगायत शहरमा मजदुरी गर्ने भारतीयहरुले कोरोनोको त्रासले गर्दा मर्कामा परेको बताउँदै घर फर्किदा केही राहत हुन्छ भन्ने उदेश्यका साथ फर्किन लागेको बताएका छन्। काठमाडौंलगायत विभिन्न शहरबाट वीरगंजसम्म आईसक्दा पनि वीरगंजमा नियन्त्रणमा पर्नु दुःखद भएको र उचित प्रबन्ध नमिलाइदा आफुहरु थप पीडित बनेको उनीहरुले बताएका छन्। कतिले ३/४ दिनको पैदल हिडेर वीरगंज पुगेको पनि बताएका छन्।

यता जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले नियन्त्रणमा परेका भारतीयलाई कहाँ र कसरी व्यवस्थापन मिलाइने बारेमा भारतीय महावाणिज्य दूतावाससँग समन्वय भइरहेको बताए। उनीहरुलाई सुरक्षित र सुविधायुक्त क्वारेन्टाइनमा पठाउने बारे छलफल भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell