PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

खाद्यान्न ढुवानीमा प्रहरीले अवरोध गरेको परवानीपुरका व्यवसायीको आरोप



राधेश्याम पटेल

खाद्यान्न ढुवानीमा प्रहरीले अवरोध गरेको परवानीपुरका व्यवसायीको आरोप

वीरगंज : वीरगंज-पथलैया सडकखण्ड अन्तर्गत बाराको परवानीपुर बजारका किराना व्यवसायी तथा तरकारी पसल सञ्चालकहरुले खाद्यान्न सामग्रीको आपूर्तिमा प्रहरी प्रशासनले अवरोध गरिरहेको बताएका छन्।

परवानीपुर बजारका करिब २० भन्दा बढी किराना व्यवसायी तथा दर्जनौँ तरकारी पसल सञ्चालकहरु अवरोधका कारण समस्यामा परेको परवानीपुर व्यापार संघका अध्यक्ष शिवपुजन कुशवाहाले बताए।

उनले खाद्यान्न सामग्री ढुवानी गर्ने सवारी सधानको लागि स्थानीय प्रशासनसँग पासको माग राख्दा पनि उपलब्ध नभएको उनले आरोप लगाए। उनले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र पर्साकी एसपी गंगा पन्तसँग पनि कुरा गर्दा परवानीपुरका व्यवसायीलाई नजरअन्दाज भइरहेको गुनासो गरे।

यता वीरगंज-२१ परवानीपुरका वडा अध्यक्ष हबिब मियाले परवानीपुरका व्यवसायीसँग मिलेर बिहान ११ बजेदेखि ३ बजेसम्म खाद्यान्न र तरकारी पसल सञ्चालनको लागि स्थानीयस्तरमा निर्णय भइसकेको बताए। बजारका पसलमा मालसामान ल्याउन केही समस्या देखिए तापनि चाँडै सरोकारवालाहरुसँग छलफल गरी परवानीपुरमा खाद्यान्न र तरकारीको आपूर्ति सहज बनाउन आफूले पहल गरिरहेको उनले दावी गरे।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले खाद्यान्न र तरकारी पसलको मालसामान ढुवानीको लागि कुनै अवरोध सिर्जना नगर्न आग्रह गरे। उनले राति ९ बजेदेखि ५ बजेसम्म खाद्यान्न सामान ढुवानी गर्न समयसीमा तोकिए तापनि उक्त समयमा किराना सामान लोड अनलोड गर्न समस्या भइरहेकाले परवानीपुरका व्यवसायीलाई समस्या भएको उनले विश्लेषण गरे। यस्तो समस्याको बारेमा प्रहरी प्रशासनसँग आफूले सहजीकरणको प्रयास गर्ने आश्वासन दिए।

परवानीपुर बजारमा पर्सा बाराका सुखचैन, चैनपुर, पटेलनगर, जगरनाथपुर, बगही, मनियारी, बहुअरी, लिपनी, रामपुर, मुसहरी, ताजपुर, कोइरियाटोल, परवानीपुर, लालपर्सा, परसोतीपुरलगायत गाउँबाट हजारौँ उपभोक्ताहरु खाद्यान्न तथा तरकारी खरिद गर्न आउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell