
काठमाडौं : 'आज यो अन्तिम हो। भोलिबाट खसीको मासु पाइँदैन।'
नारायणटार शिवचोकमा वर्षौंदेखि मासु पसल चलाउँदै व्यवसायी विष्णु श्रेष्ठले भने। सरकारले लकडाउन घोषणा गरेपछि पनि हरेक दिन बिहानै दैनिक दुईदेखि ४ वटा खसीको मासु बेच्दै आएका थिए उनले। बिहानै ७ नबज्दै एक र आधा किलोका मासुको प्याक बनाएर लाइनमा बसेका ग्राहकलाई बिक्री गर्दै आएका छन् उनले। 'चैते दशैं भनेर राखेको थिएँ। भोलिबाट खसीको मासु पाइँदैन,' उनले भने।
लकडाउन भएपछि सबै बन्द छ। त्यसमा पनि माछामासु पसल झनै कम खुलेका छन्। कतिलाई त कोरोना संक्रमणको कारण माछामासु खानु हुँदैन भन्ने डर पनि छ।
पशुपंक्षी मन्त्रालयको तथ्याङ्क अनुसार मासिक ४ लाख भन्दाबढी खसीको माग हुने गरेको छ। तर, अहिले गाउँघरबाट समेत खसी काठमाडौं आउँदैन। भारत त टाढाको कुरा।
आज चैत दशैंको दिन लकडाउन छलेर भए पनि मासु पसलमा पुगेर दशैं मनाउने मुडमा रहेका मानिसहरु धेरैले मासु पाएनन्। 'कुखुरा त यतै वरपरबाट ल्याइरहेका छौं। तर खसी भने पाइएको छैन,' विष्णुले भने।
त्यसो त खसीमात्र होइन। कुखुराको मासु पनि बिक्री कम छ। एक त काठमाडौंको जनसंख्या अहिले ह्वात्तै घटेको छ। त्यसमाथि जति छन्, घरमै अड्किएका। लकडाउनका कारण हिँड्डुल नै कम छ। मासुको व्यापारमा पनि मन्दी छाउन थालेको छ। बिहान र बेलुका केही समयको लागि मासु पसल खोलिएका छन्। सीमित समयमा खोलिँदा र मानिसको गतिविधि नै कम भएकाले बिक्री बढ्ने कुरा भएन। 'कर्मचारी पनि कम छन्। त्यसमा खोल्नै ग्राहो छ। मासु कसरी बिक्री भयो भन्नु? एकदम नगन्य छ,' भ्याली कोल्ड स्टोरका संचालक बाबुराज रावलले भने।
काठमाडौंमा दैनिक १३ देखि १५ सय खसीबोकाको माग हुने गरेको थियो। तर अहिले देश नै लकडाउन हुँदा खसी आउन सकेको छैन। देशका विभिन्न गाँउबाट आउने खसीबोकमा नआएको पशु चौपाया व्यवसायी महासंघका अध्यक्ष जनकाराज खतिवडाले जानकारी दिए। 'अहिले खसीबोका आउने ठप्प नै छ। लकडाउनपछि खसीबोका नै आएका छैनन्,' अध्यक्ष खतिवडाले भने।