
ह्वाइट हाउसले अमेरिकामा मृत्यु हुनेको संख्या एक लाखदेखि दुई लाख ४० हजार सम्म पुग्ने अनुमानसहित अर्को एक महिना थप चुनौतिपूर्ण रहेको चेतावनी दिएको छ।
ह्वाइट हाउसको कोभिड-१९ सम्बन्धी टास्क फोर्सका दुई वरिष्ठ विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्। उनीहरुले सामाजिक दुरी कायम गर्ने नीति सहयोगी भए पनि मानिसहरुमा लक्षण नदेखिएको र उनीहरु समाजमा हिँडिरहेको बताउँदै यसले थप संक्रमण बढाउने चेतावनी दिएको सीएनएनले जनाएको छ।
उनीहरुले एक चौथाई संक्रमित मानिसहरुमा कुनै पनि लक्षण नदेखिएको र उनीहरुले संक्रमण फैलाइरहेको बताएका हुन्।
हामीले प्राप्त गरेको सूचनाका आधारमा संक्रमितहरुको एउटा ठूलो हिस्सा लक्षणविहीन छन्। यो संख्या २५ प्रतिशतसम्म रहेको हुनसक्छ,' अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक डाक्टर रोवर्ट रेडफिल्डले भने। उनले यसको संख्या कसरी निकालिएको भन्नेबारे नखुलाएको सिएनएनको अर्को रिपोर्टमा उल्लेख छ।
हालसम्म एक लाख ८५ हजार मानिसमा कोभिड-१९ को संक्रमण देखिएको छ भने तीन हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ। मंगलवारमात्र यहाँ ८ सय ३० जनाको मृत्यु भएको थियो।
अप्रिलको मध्यसम्म अमेरिकामा प्रति दिन दुई हजार मानिसको मृत्यु हुने अनुमान गरिएको छ। अप्रिलसम्म अमेरिकामा कोभिड-१९ उच्च गतिमा फैलिनसक्ने ह्वाइट हाउसले प्रक्षेपण गरेको छ।
अमेरिकामा संक्रमण नियन्त्रणका दुई दर्जन बढी राज्यहरुले होम क्वारेन्टाइनमा बस्न नागरिकहरुलाई निर्देशन दिएका छन्। यहाँ मास्क लगाउन भनिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले अमेरिकाका लागि अबका दुई साता कठिन हुने बताएका छन्। ह्वाइट हाउसका जनस्वास्थ्य अधिकारी डाक्टर एन्टोनी फाउसीले अझै एक लाख देखि दुई लाख ४० हजार जनासम्म मानिसहरुको मृत्यु हुन सक्ने भन्दै संक्रमितहरुको संख्या १५ लाख देखि २२ लाखसम्म पुग्न सक्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट आगामी तीस दिनका लागि गाइड लाइन सार्वजनिक गरेका छन्।
अप्रिल १२ एस्टरसम्म देश खुला रहने बताउँदै आएका ट्रम्पले आफ्नो टोन परिवर्तन गर्दै भनेका छन्, 'अबका दुई साता हाम्रा लागि कठिन हुने छन्। यो साता हामीले कहिल्यै नव्यहोरेको समस्याबाट गुज्रिने छौं।'
राष्ट्रपति ट्रम्पले सेवामा खटिएका चिकित्सकहरुलाई धन्यवाद समेत दिए।
'यो बिहान मैले डाक्टर र नर्सहरु अस्पतालमा हिँडिरहेको देखेँ। र यो सैनिक मानिसहरु युद्धमा गइरहेको जस्तो लाग्थ्यो। यो बहादुरी महान छ,' उनले भनेका छन्।