PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

श्रमिकको ज्वरो जाँच्दै, खाना खुवाउँदै मित्र युवा क्लब

श्रमिकको ज्वरो जाँच्दै, खाना खुवाउँदै मित्र युवा क्लब

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : गत चैत १७ गते बसेको काठमाडौं महानगरपालिकाको बैठकबाट ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत भयो। बैठकको एक महत्वपूर्ण निर्णय थियो - काठमाडौँ महानगरपालिकाभित्र वसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई खाना, खाजा उपलब्ध गराउने।

ठीक भोलिपल्ट निर्णयलाई कार्यान्वयन गर्‍यो काठमाडौं महानगरपालिका वडा नम्बर २७ ले। स्थानीय मित्र युवा क्लबको सहकार्यमा आवश्यक वर्गको पहिचान गरी खाना खुवाउन थाल्यो। 

मित्र युवा क्लबका सदस्यहरुले भोटाहिटीलाई केन्द्र बनाएर मंगलबारदेखि दैनिक एक छाक खाना खुवाउन थालेको हो। भारी बोकेर र अन्य ज्यादा मजदुरी गरेर खानेहरु महाबौद्ध, भोटाहिटी आसपासका होलसेल तथा रिटेल पसलहरु बन्‍द भएपछि अभावमा छन्। उनीहरु राहतको पर्खाइमा छन्। स्थानीय सरकारले निर्णय गरिसके पनि प्राय वडा कार्यालयहरुले राहत वितरण सुरु गरिसकेका छैनन्। यस्तोमा कामपा वडा नं २७ को कार्यालय र स्थानीय युवा भने चुप बसेनन्।

'ज्याला मजदुरी गरी खानेहरु बस्ने ठाउँमा गएर खाना खुवाउने बारे सूचना प्रवाह गर्‍यौं। उहाँहरु आउनु भयो। एक छाक तातो खानाले केही राहत दिलाउँछ भन्‍ने आशा छ', मित्र युवा क्लबका सह सचिव प्रवीण लकौलले बताए। उनका अनुसार खाना खुवाउने कार्यक्रम लकडाउन अवधिभर निरन्तर जारी रहने छ।

श्रमजिवीसँगै बटुवा, असाय आदिलाई पनि खाना खुवाइएको हो। खाना खुवाउने क्रममा स्वयं सेवकले भिड हुन दिएनन्। खाना खान आएकालाई एक मिटर दूरी कायम गरी राखे। र, पालै पालो उनीहरुको ज्वरो मापन गरे। 

'उहाँहरुको भोक सँगसँगै स्वास्थ्यको पनि ध्यान दिनुपर्छ त्यसैले ज्वरो नापेका हौं', प्रवीणले भने।

महाबौद्धमा खाना खाएका बाहेक छुटेकाका लागि क्लबकै प्रतिनिधिहरु ठेलामा खाना लिएर हिँडे। वडा २७ वरपर पुगे र खाना खुवाए।

'भोलिदेखि चाहिं महाबौद्ध नै आउन आग्रह गरेका छौं किनकि हामीले पनि लकडाउन अवज्ञा गर्नुहुन्न। कोरोना भाइरसको संक्रमणविरुद्ध सावधान हुनुपर्छ', उनले भने।  



ट्रेन्डिङ पोस्ट

Ncell