PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

लकडाउनमा राहत बाँड्ने क्रममा वीरगंजमा झडप, १९ जना घाइते



राधेश्याम पटेल

लकडाउनमा राहत बाँड्ने क्रममा वीरगंजमा झडप, १९ जना घाइते
घाइतेको नारायणी अस्पतालमा उपचार हुँदै।

वीरगंज : वीरगंजमा राहत बाँडने क्रममा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन्। वीरगंज–१९ बरेवा गाउँमा लकडाउनले समस्यामा परेका गाउँलेलाई राहत बाँडनेबीच काखापाखा भएको भन्दै दुई पक्षबीच झडप भएको हो।

घाइतेमध्ये केहीको टाउकोमा घाउ भएको छ भने कतिपयको हातमा चोट लागेको बताईएको छ।

घाइतेहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ। राहत सामग्री बाँड्न मंगलवार १ लाख २५ हजार रुपैयाँ पठाएको थियो। उक्त रकमबाट राहत सामग्री बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले सर्वदलीय राहत वितरण समिति गठन गरेको थियो। समितिले लकडाउनका बेला समस्यामा परेका परिवारको पहिचान गरी विवरण गर्न वडा कार्यालयमा पठाउने जिम्मा पाएको थियो।

बुधवार बिहान बरेवा गाउँमा समितिका सदस्यहरुले प्रभावित वास्तविक परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यबीच नै विवाद भएपछि झडप हुँदा १९ जना घाइते भएका हुन्। समितिका सदस्य प्रभु यादवले प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा आफ्ना नातागोताकामा पर्नेहरुको मात्रै नाम लेखेको भन्दै स्थानीय उपेन्द्र यादवले विरोध गरेका थिए। उपेन्द्रले विरोध गरेपछि दुवै पक्ष एक अर्का माथि हातपात गर्न थालेका हुन्।

अस्पतालमा उपचार गराइरहेका समितिका सदस्य प्रभुले बुधबार बिहान लगत संकलन गर्ने क्रममा समितिमा नै नरहेका उपेन्द्र र उनका परिवारका सदस्यहरुले विवाद गरी आफूमाथि हातपात गरेको बताए। झडपमा घाइते भएर उपचार गराइरहेका उपेन्द्रले भने लागत संकलनका क्रममा प्रभुले पक्षपात गरेपछि आफुले विरोध गर्दा प्रभु र उनीसहितका व्यक्तिहरु आफुमाथि जाइ लागेर कुटपिट गरेको आरोप लगाए।

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको वडा अध्यक्ष सन्तोष तिवारीले बताए। पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले झडपमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell