PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बिहीवारदेखि कर्णाली प्रदेशबाटै कोरोनाको परीक्षण, २८ जनाको रिपोर्ट नेगेटिभ



पी बी खड्का

बिहीवारदेखि कर्णाली प्रदेशबाटै कोरोनाको परीक्षण, २८ जनाको रिपोर्ट नेगेटिभ

सुर्खेत : विश्वभर फैलिएको कोरोना भाइरसको परिक्षण कर्णाली प्रदेशमै हुने भएको छ। सरकारले चीनबाट ल्याएको पोर्टेबल पिसिआर मेसिनसहित अन्य आवश्यक सामग्री प्रदेशमा पुगेसँगै परीक्षण हुने भएको हो।

सरकारले सातवटै प्रदेशमा कोरोना संक्रमण परीक्षण गर्ने उपकरण पठाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने रणनीति लिएको छ। आजमात्रै प्रदेश अस्पताल कर्णालीमा उपकरण पुगेसँगै आशंका गरिएकाहरुको परीक्षण सुर्खेतमै हुने भएको छ।

परीक्षणका लागि पोर्टेबल पिसिआर मेसिनसहित आवश्यक सामग्री आएपछि तत्काल जडान गरेर काम अघि बढाइने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

‘पिसिआर मेसिनसँगै स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि आवश्यक किट लगायत सामग्री आइसकेको छ’, उनले भने, ‘तत्काल जडान गरेर सम्भवतः भोलि (बिहीवार)देखि नै ल्याब सञ्चालन गर्छाै।’

पिसिआर मेसिनसहित एक जना प्राविधिक समेत संघीय सरकारले पठाएको छ। अहिलेसम्म प्रदेश सरकारले आशंका गरिएकाहरुको स्वाब टेस्टका लागि काठमाडौं नै पठाउँदै आएको थियो।

आशंका गरिएकाको रिपोर्टमा संक्रमण देखिएन

कर्णाली प्रदेशबाट कोरोना भाइरसको संक्रमण आशंका गरिएका २८ जनाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो। कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो प्रदेशका विभिन्न जिल्लाबाट पठाइएकोमा कुनै पनि नमुनामा कोरोनाको संक्रमण नदेखिएको मन्त्री रावलले बताए।

थप डोल्पाबाट २ र सुर्खेतबाट एक गरी तीन जनाको परीक्षणका लागि स्वाब पठाइएको छ।  मन्त्री रावलका अनुसार सुर्खेतबाट ११, दैलेखबाट २, सल्यानबाट ३, जुम्लाबाट ३, कालिकोटबाट १, हुम्लाबाट २, र रुकुमपश्चिमबाट ४ गरी २८ जनाको नमुना परीक्षणका लागि पठाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell