PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

११ सय ३१ को कोरोना परीक्षण हुँदा ५ जनामा मात्रै संक्रमण, देशभर ९९ जना आइसोलेसनमा



पहिलोपोस्ट

११ सय ३१ को कोरोना परीक्षण हुँदा ५ जनामा मात्रै संक्रमण, देशभर ९९ जना आइसोलेसनमा

काठमाडौं : कोरोना (कोभिड १९) को आशंकामा गरिएको १ हजार १ सय ३१ टेष्टमध्ये अहिलेसम्म ५ जनाको मात्रै पोजेटिभ नतिजा आएको छ।

यस्तै, देशभर कोरोनाको लक्षण देखिएको आशंकामा ९९ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देवकोटाले कोरोना संक्रमितका आफन्तमध्ये ८४ प्रतिशतको ट्रेसिङको काम सकिएको बताए।

'हिजो मैले ८० प्रतिशत भनेको थिएँ कोरोना संक्रमितका परिवारका आज ८४ प्रतिशत कन्ट्याक्ट ट्रेसिङको काम सकिएको छ,' प्रवक्ता देवकोटाले भने।

उनले धनगढीमा भेटिएका चौथो कोरोना संक्रमितको १२ जना परिवारका सदस्यको कोरोना परीक्षण भइरहेको बताए।

देवकोटाले कन्ट्याक ट्रेसिङमा धेरैले प्रश्न उठाएको भन्दै डब्लुएचओको मापदण्ड अनुसार नै ट्रेसिङ भइरहेको दाबी गरे।

'महामारी नियन्त्रणमा कन्ट्याक्ट ट्रेसिङ गर्नु महत्वपूर्ण हुन्छ। डब्लुएचोको मापदण्डअनुसार परिवार र संक्रमितको नजिककालाई परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ। अरुको हुँदै छ,' देवकोटाले भने।

उनले कल सेन्टरमा ६ हजार ९ सय भन्दा बढी कल आएको र त्यसमध्ये २ हजार ३ सय २३ जिज्ञासा मेटाएको बताए।

पोखरामा ४ जनाको र धरानमा १२ जनाको नमुना परीक्षण भइरहेको उनले जानकारी दिए।

'पोखरामा चारवटाको परिक्षण हुँदैछ। धरानमा पनि १२ नमुनाको परीक्षण भइरहेको छ। हेटौडामा पनि तयारी अन्तिम चरणमा पुगेको छ। सुर्खेत बुटवल र जनकपुरमा पनि चाँडै सुरु हुँदैछ,' देवकोटाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell