PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

सीमामा अलपत्र परेका नागरिकको छिटो व्यवस्थापन गर्न मोहन वैद्यको माग



पहिलोपोस्ट

सीमामा अलपत्र परेका नागरिकको छिटो व्यवस्थापन गर्न मोहन वैद्यको माग
फाइल फोटो।

काठमाडौं : मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल-भारत सीमामा अलपत्र परेका नेपालीहरुलाई आवश्यक व्यवस्था सहित भारतमा नै राख्ने या नेपालमा ल्याउने आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। पार्टीका महासचिव वैद्यले बुधवार विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन्।

विज्ञप्तिमा परीक्षणलाई विस्तार गरी संक्रमितहरु पत्ता लगाउने र तिनीहरुलाई आइसोलेसनमा राखी बाँकीलाई संक्रमित हुन नदिने तरीकाले मात्र कोरोना भाइरस नियन्त्रण गर्न सकिने भन्दै हाल सरकारले एक हजार साठी जनाको मात्र परीक्षण गरी नेपालमा जम्मा ५ जना संक्रमित भएको भनेर आत्मरति गरिरहेको बताइएको छ।

‘यो अत्यन्त गैर जिम्मेवारपूर्ण काम हो। परीक्षणलाई जति धेरै विस्तार गरिन्छ त्यति छिटो यो महामारीबाट छुटकारा पाउने संभावना रहन्छ भन्ने कुरामा हाम्रो पार्टी सरकारको विशेष ध्यानाकर्षण गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले कोरोना नियन्त्रणका लागि केही घोषणा गरेको भएपनि व्यवहारमा लागू नहुँदा जनताको आँखामा छारो हाल्ने काम मात्र भएका बताइएको छ। साथै सत्तामा बस्नेहरुलाई आर्थिक लाभ गराउने साधन बन्न गएको आभाष दिएको भन्दै पार्टीले त्यसको भर्त्सना गरेको जनाएको छ।

त्यस्तै कोरोनाको आशंकामा अस्पताल पुगेका बिरामीलाई छिछि र दुरदुर गरिएको भन्दै पार्टीले मृत्यु भइसकेपछि कोरोनाको संक्रमण भेटिएन भन्नु गैरजिम्मेवारपूर्ण भएको समेत बताएको छ।

‘कोरोनाको बहानामा उपचार नपाएर मरिराखेका त छैनन्? बटवल र वीरगंजमा भएका मृत्युको कारण के हो? चिकित्सकहरुबाट नै अन्तर्विरोधी कुराहरु बाहिर आइरहेको सन्दर्भमा यथार्थ के हो? यसबारे सरकार बोल्नु पर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

यसैगरी निजी अस्पतालहरुले कोरोना भाइरसको शंका कै भरमा विभिन्न बहाना बनाई बिरामीको उपचार नगरेको प्रति पनि पार्टीले सरकारको ध्यानाकर्षण गरेको छ। त्यस्ता अस्पताललाई नियन्त्रणमा लिएर काममा लगाउन, नमाने कारबाही गर्न र उपचारमा संलग्न सम्पूर्ण डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउनका लागि आवश्यक पर्ने सामग्रीहरु तुरुन्त उपलब्ध गराउन माग गरिएको छ।

कोभिड १९ को उपचार गर्नका लागि आवश्यक उपकरणहरु खरिद गर्ने क्रममा चरम आर्थिक घोटाला भएका विषय निस्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि पार्टीले माग गरेको छ। त्यस्तै, लकडाउनका कारण दैनिक हातमुख जोड्ने समस्यामा परेका मजदुर, गरिब किसान तथा अति विपन्न परिवारलाई तुरुन्त राहतको व्यवस्था गर्नु पर्ने पार्टीको माग छ।

लकडाउनका कारण कालो बजारी र महंगी अनियन्त्रित ढंगले बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell