PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

सामाजिक मनोविज्ञानले नउठेको शव [सम्पादकीय]



पहिलोपोस्ट

सामाजिक मनोविज्ञानले नउठेको शव [सम्पादकीय]

पाल्पा रिब्दीकोटका बाबुराम थापा क्षेत्रीको मृत्युपछि गरिएको स्वाब परीक्षण ‘नेगेटिभ’ देखाएपछि दु:खकै बीच पनि एक किसिमले खुशीको अनुभूति गरायो सबैलाई। उनको दुखद् निधन एउटा पाटो हो, अर्को चाहिँ दुवईबाट फर्केका उनमा कोभिड -१९ को संक्रमण चाहिँ नदेखिनु सुखद्। विशेषगरि यतिखेरको मनोविज्ञानका लागि सान्त्वना दिने आधार बन्यो –कोरोनाका कारण ज्यान गुमाउने सूचीमा नाम नचढ्दा। ३४ वर्षका बाबुरामको मृत्युले नेपालको स्वास्थ्य क्षेत्र र कोरोनाको त्रासले पैदा गरेका सामाजिक मनोविज्ञानका धेरैखाले पाटोलाई नराम्ररी झस्क्याएको छ।

सबैभन्दा पहिलो त विना पूर्वाधार अस्पताल खडा गरिएका छन्। जनशक्ति र प्रविधिविनाको अस्पतालले के गर्न सक्छ –जबकि देशकै सबैभन्दा सुविधा सम्पन्न र उच्चस्तरीय भनिएका अस्पताल कोरोनाको कहरसँगै आत्तिएर विरामी लिनसमेत भागाभाग गरिरहेका छन्। कोठामा केही बेड तयार गर्दैमा अस्पताल तयार भयो, अझ आइसोलेसन वार्ड नै बन्यो भन्दै गुड्डी हाँक्नुको परिणाम हात लागेको छ बाबुराम थापाको मृत्युबाट। यो मृत्यु बाबुराम थापाको होइन, स्वास्थ्य क्षेत्रलाई हामीले कति संवेदनशील रुपमा लिन्छौं, त्यसको हो।

चैत ६ गते नेपाल आएका उनी १३ गते अस्पताल पुगेको देखिन्छ। एउटा रोगबाट ग्रसित उनीमाथि ट्याग लाग्छ, कोरोना संक्रमणको। अनि पुर्‍याइन्छन् –धागो कारखानको जगमा उभिएको नाममात्रको अस्पतालमा, जहाँ सबैथोक छ –उपचारबाहेक। त्यहीँ उनको निधन हुन्छ। अनिमात्र खोजिन्छ उनलाई कोरोना थियो कि थिएन। मरेको भोलिपल्ट हतारहतार रिपोर्ट आउँछ, कोभिड –१९ नेगेटिभ।

उनको मृत्युमात्र हुँदा मानवीयको सम्वेदना पनि लाश बन्छ। कोरोनाको ट्याग लागेपछि चिकित्सक आफैँ भयभीत हुन्छन्। विरामी त के, अस्पतालकै छेउ जान नपरोस् जस्तो गर्छन्। उनीहरुले यसो गरिरहनुको पछाडि –पर्याप्त स्रोतसाधन नहुनु नै हो। आवश्यकता अनुसार पीपीईसमेत नपाएका नेपालका चिकित्सकहरुले कोरोनासँग जुधिरेका धेरै देशका चिकित्सक आफैँले ज्यान गुमाइरहेका खबर पढेका छन्। त्यसले उनीहरुलाई मानसिक रुपमा कमजोर बनाएको छ। उनीहरुको मनोबल बढाउने नेतृत्वको अभाव छ यतिखेर। चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बलियो पार्न यतिखेर बढाउने कुनै भत्ताको ‘अफर’ले काम गर्दैन। उनीहरु तलब काटिए पनि उपचारमा प्रतिवद्ध हुनसक्छन् तर त्यसका लागि उनीहरुको स्वास्थ्य सुरक्षामा प्रतिवद्धता दिलाउन सक्नुपर्‍यो। त्यहीँ चुकिरहेका छौं हामी।

बाबुराम थापा कुन रोगबाट ग्रसित थिए, त्यसको उपचार त पाएनन् पाएनन्, मृत्यु चाहिँ पाए। तर, कुरा त्यतिमै रोकिएन। नाम मात्रको आइसोलेसन वार्डमा भर्ना हुनुले कोरोनाको ‘कलंक’ उनीमाथि लाग्यो। आफन्त र नजिकका कोही पनि बाबुरामको उपचार त के मृत्युमा पनि साथ दिन तयार भएन। ज्यूँदाको जन्ती मर्दाको मलामी एकादेशको कथा बन्यो यतिखेर। उनकी पत्नी पतिको अन्त्येष्टि गराउन सक्ने हैसियतमा छैनन्। परीक्षणले समेत नदेखाएको कोरोनाको कलंकको टीकले उनको शव उठ्न दिएको छैन, अन्त्येष्टि त टाढाको विषय। नेपाली समाज यति हदसम्म पुग्छ कसैले अनुमान गर्नसक्ने कुरा होइन।

मृत्यु पछाडिको कारणबारे कोहि विश्वस्त हुन सकेका छैनन्। परिवारले परीक्षण नतिजालाई अस्वीकार गरिरहेको छ। समाजले थोपरेको स्वघोषित कोरोनाको ट्याग र परीक्षणमा आएको फरक नतिजाले श्रीमतीलाई पिरोलेको छ। दुखद् घडिमा पनि उचित मानवीय व्यवहार नपाएकी उनले राज्य र समाजसँग थथार्थ कारण खाजिरहेकी छन्। तर, उनको पीडामा राजनीतिक रङ समेत पोतिन सुरु भइसकेको छ। विपक्षी दल कांग्रसले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै विज्ञप्ति नै प्रकाशन समेत गरेको छ। 

फेरि दोहोर्‍याउँ, उनको स्वाब परीक्षण गर्दा कोरोना देखिएन। उनको शव उठाउँदा कसैलाई केही हुँदैन। तर, पनि समाज तयार छैन, आफन्त फर्केर आउन तयार छैनन्। बाबुरामलाई छाडौं, अब अरु नै कोही कोरोनाकै कारण मृत्युवरण गर्न पुग्यो भने के हुन्छ? कोरोना नै नभएका व्यक्तिको लाश समेत नउठ्ने ठाउँमा कोरोना लागेको व्यक्ति ज्यान गुमायो भने अन्त्येष्टि नहुने? अनि कोरोनासँग लड्न लकडाउन हुने सबै अत्यष्टि गर्ने कुरामा लकडाउन नै भइरहने?

कोरना भएकै व्यक्तिलाई पनि मास्क, ग्लोभ्स लगाएर छुँदा केही हुँदैन भन्नेसमेत हामी बुझाउन नसक्दा बाबुरामहरुको शव जलाउन नसकिने अवस्था आएको छ। हामी कोरोनासँग यसरी डराएर भागिरहेका छौं कि अस्पताल रित्याउन तयार भयौं, भलै महत्वपूर्ण शल्यक्रिया र उपचार पन्छाउन किन नपरोस्। हामी यसरी भागिरहेका छौं कि कुनै दिन –कोरोनाकै कारण कोही मर्‍यो भने के गर्ने हामीलाई थाहा छैन। न यसबारे नीतिगत तहमा बहस सुरु भएको छ न त समाज नै यसबारे बहसका लागि अगाडि बढेको छ।

यतिखेर कोरोनासँग भागेर हामी कहीँ पुग्न सक्दैनौं। अब कोरोनाविरुद्ध भिड्न आवश्यक छ। ‘डिफेन्सिभ’ हुँदै हामी जनता लकडाउन भोगिरहेका छौं, अब सरकारी संयन्त्रहरु किन यस्तो अवसरमा अफेन्सिभ भएर कोरोनाको त्राससँग भिड्न तयार भइरहेको छैन? किन बाबुराम थापाको शव अन्त्येष्टि हुनसकिरहेको छैन? यो अवसर हो – देखाउने। कोरोना संक्रमित नै भएको भए पनि हामी तयार छौं भन्ने संदेश दिन ढिला भइसक्यो। अहिलेसम्म भागेर कसैले जितेको छैन, भिडेरै जित्ने हो। नीतिगत रुपमा होस् या सामाजिक रुपमा भिडौं – लास अलपत्र नपारौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell