PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

माधव नेपालको लकडाउन डायरी: कम्प्युटरमा चेस खेल्ने, समृद्ध नेपालको भिजनसम्बन्धी पुस्तक पढ्ने



कुञ्जरमणि भट्टराई

माधव नेपालको लकडाउन डायरी: कम्प्युटरमा चेस खेल्ने, समृद्ध नेपालको भिजनसम्बन्धी पुस्तक पढ्ने

काठमाडौँ : राजनीतिज्ञको जीवनशैली, कहिले व्यस्तता कतिपय अवस्थामा अस्तव्यस्तता। मिटिङमा छु। फुर्सद छैन जस्ता शव्दावली करिब पर्यायवाची नै हुन्।

बिहानैदेखि घरमा कार्यकर्ताको हुने भीडभाड, राजनीतिक कामदेखि विकासे एजेण्डाको दौडधुप, कहिले सुन्नुपर्ने कहिले भन्नुपर्ने नेताका दैनिकी हुन्।

तर पछिल्लो दश दिनयता साधारण मानिसझै नेताहरु पनि दिनहुँको बैठक, भेटघाट, दौडधुपको व्यस्त तालिकाबाट टाढा छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कोटेश्वरस्थित निवासमा लकडाउनको समय पूर्ण सदुपयोग गर्ने मुडमा छन्। निवासमा कार्यकर्ताहरुको भीडभाड छैन। बैठकमा जानुपर्ने छैन। समय निकै बचत भएको छ, नेता नेपालको।

लकडाउनले दैनिकी बदले पनि बिहान उठ्ने समयमा भने कुनै परिवर्तन आएको छैन।

'लकडाउनले बिहान उठ्ने समयमा प्रभाव पारेको छैन। पहिले पनि बिहान ५:३० तिर उठ्थेँ। अहिले पनि त्यतिबेला नै उठ्छु,'उनले भने।

बिहान चियाखाजा खाएपछि उनी किताब, म्यागेजिन लिएर छतमा उक्लन्छन्। घाम ताप्दै बढीभन्दा बढी समय अध्ययनमा दिन्छन्।

नेपाल भन्छन्, 'म देश कसरी बनाउने भन्ने मिसनमा लागेको छु। देश कसरी बनाउन सकिन्छ भनेर लेखिएका बढीभन्दा बढी किताब पढ्ने योजनामा छुँ। यसका लागि भिजन नेपाल, संमृद्ध नेपाल, संमृद्ध नेपालको मार्गचित्र, समाजकोआर्थिक रुपान्तरण लगायतका २० वटा किताब जम्मा पारेको छु। यी सब‌ै पढ्छु।'

अहिले भने भिजन नेपाल अध्ययन गरिरहेको उनले बताए। म पार्टीको महासचिव हुँदा डिल्लीराज खनालको टिमले अध्ययन गरेर भिजन नेपाल तयार पारेको थियो। २०६४ सालमा प्रकाशन भएको यो पुस्तक पढिरहेको छु।

अध्ययनका अलवा? जवाफमा नेपालले भने, 'पहिले भेटघाट र बैठकमा धेरै समय खर्चिनु पर्थ्यो। अहिले अध्ययनबाहेक अनलाइन पनि हेर्छु। मनोरञ्जन पनि लिइरहेको छु।'

त्यसबाहेक नेता नेपाललाई चेस खेल्न पनि मन पर्दो रहेछ।

'मलाई चेस खेल्न रमाइलो लाग्छ। कम्युटरमा चेस खुल्छु। सानी नातिनी पनि छे। उसँग खेलेर समय बिताउँछु।'

यद्यपि पार्टीको वरिष्ठ नेताको हैसियतले पनि उनको दिनचर्या यतिमा सीमित हुन सक्दैन। आशा र भरोसासहितका फोन कलहरु आइरहन्छन् उनलाई।

'यति धेरै फोन आउँछ। पढ्नै नपाउने भएपछि फोन नलाग्ने बनाउन बाध्य हुन्छु कहिलेकही त', हाँस्दै नेपालले थपे।

जनताको समस्याको समाधान त गर्नैपर्छ। गाउँ, नगर, जिल्ला प्रदेशमा कोरोनाले सिर्जना गरेको सिर्जना गरेको परिस्थितिबारे अपडेट भइरहन्छन्।

'नगर, जिल्ला, प्रदेशका समस्याबारे जानकारी लिन्छु। दैनिक ज्यालादारी गरेर जीवन निर्वाहा गर्ने श्रमिकहरुले सहयोग पाएका छन् कि छैन। रोगीहरुले उपचार पाएका छ कि छैनन् यसबारे बुझ्छु,' नेपालले भने।

नेता नेपाललाई सिमामा अलपत्र परेका नेपालीहरुको उद्दारका लागि पहल गरिदिन पनि फोन आइरहन्छन्।

सिमामा अलपत्र परेकाहरुलाई पिटिएको सुन्दा पटक्कै मन परेको रहेनछ नेपाललाई। भन्छन्, 'संकटमा मानिस डराउँछ। आँतिन्छ। खोलामा हाम फाल्यो भनेर उनीहरुलाई पिट्ने होइन। सचेतना पो जगाउनुपर्छ।'

सीमामा अलपत्र परेका नागरिकहरूलाई उनीहरुको गाउँ पुर्‍याउनुपर्छ यो हाम्रो दायित्व हो भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ।

'सीमा नाकामा आइसकेका नागरिकहरुलाई जाँच गर्ने, क्वारेन्टाइनमा राख्नुपर्ने भए राखेर गाउँ पुर्‍याउने दायित्व सरकारको हो। विपद्ममा आँत्तिएर नाकामा आएकाहरु बारेमा ध्यान दिन मन्त्रीहरुलाई भनेको छु,' नेपालले भने।

त्यस्तै कोरोनाले उत्पन्न गराएको समस्याबारे विदेशी नेताहरुसँग पनि छलफल गरिरहन्छन् नेपाल। 'कोरोना भाइरसबारे भारत, बंगलादेशका नेताहरुसँग कुराकानी गरिरहेको छुँ,'उनी भन्छन्।

यसरी लकडाउनलाई घरमै सदुपयोग गरिरहेका नेपाल बेलुकी भने खाना खाएपछि अध्ययनलाई जारी राख्ने गरेको सुनाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell