PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदा पनि ट्रम्पले किन लकडाउन गर्न मानेनन्?



पहिलोपोस्ट

अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदा पनि ट्रम्पले किन लकडाउन गर्न मानेनन्?
PHOTO : Shutterstock

काठमाडौं: अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख नाघेको छ। दिन दुई गुणा रात चौगुणाका दर संक्रमण बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउन लगाउने पक्षमा छैनन्।

जोन होप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा २ लाख १३ हजार ३ सय ७२ मानिस कोरोनाबाट संक्रमित छन् भने ४ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

न्युयोर्कमा सबैभन्दा धेरै संक्रमित छन्। प्रदेशका गभर्नर एंड्रू कुओमोले बाँकी प्रान्तमा पनि स्थिति भयावह हुनसक्ने चेतावनी दिएका छन्।

मंगलवारमात्रै उपराष्ट्रपति माइक पेन्सले अमेरिकामा महामारीले इटालीजस्तै भयावह स्थिति निम्त्याउन सक्ने चेतावनी दिँदै सतर्क रहनुपर्ने बताएका थिए।

पुरै विश्वमा कोरोनाबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ। इटालीमा कोरोनाको संक्रमणबाट हालसम्म १३ हजार १ सय ५५ जनाको मृत्यु भइसकेको छ भने १ लाख १० हजार ५ सय बढी संक्रमित छन्।

मेडिकल आपूर्ति अपर्याप्त

बुधवार साझ कोरोना टास्क फोर्ससँग सम्बन्धित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भनेका थिए, 'तपाईहरुले एउटा मास्कलाई स्टेरिलाइज गरेर पटक पटक प्रयोग गर्न सकिन्छ। एउटा एन ९५ मास्कलाई स्टेरिलाइज गरेर कम्तीमा २० पटक प्रयोग गर्न सक्नुहुन्छ।'

देशमा मास्क, ग्लोब्सजस्ता मेडिकल सुरक्षा उपकरण कमी हुन नदिन सरकारले सबै प्रयासहरु गरिरहेको उनको भनाई थियो।

ट्रम्पले देशभित्र मात्र नभई अन्य देशमा पनि चाँडो भन्‍दा चाँडो मास्क, ग्लोब्स, भेन्टिलेटरजस्ता मेडिकल उपकरण पठाउन उत्पादनको कामलाई तीव्रता दिइएको र ११ कम्पनीले देशका लागि भेन्टिलेटर बनाइरहेको जानकारी दिए।

यसअघि मंगलबारमात्रै ट्रम्पले मास्क नहुनेले मुख छोप्नका लागि स्कार्फको पनि प्रयोग गर्न सकिने बताएका थिए। बुधबार पनि ट्रम्पले स्कार्फ प्रयोग गर्न जोड दिए।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि अमेरिकामा एन ९५ मास्क र सर्जिकल मास्कको अभाव देखिएको छ। स्वास्थ्यकर्मीले आफूहरुलाई एउटै मास्क पटक पटक प्रयोग गर्न भनिएको र आवश्यक परे स्कार्फ पनि प्रयोग गर्ने भनिएको बताएका छन्। अमेरिकी स्वास्थ्य अधिकारी सबै नागरिकले मास्क प्रयोग गर्ने कि नगर्ने भन्ने परामर्शमै छन्।

वाशिंगटन पोस्टको रिपोर्टका अनुसार सेन्टर अफ डिजिज कन्ट्रोल एण्ड प्रपीवेन्शनका लागि जारी गरिएको एक इन्टरनल मेमोमा साधारण कपडा मास्क पनि भाइरस फैलिनबाट रोक्न सहयोगी बन्नेछ।

यसअघि अमेरिकी सरकारले यसबारे आफ्ना नागरिकलाई मास्क लगाएर बाहिर जान भनेको थिएन।

ट्रम्पले अमेरिकाका लागि आउने दिनहरु भयावह हुनसक्ने चेतावनी दिँदै अमरिकी नागरिकहरु डराउने होइन डटेर सामना गर्न तयार रहनुपर्ने बताएका थिए। महामारीसँग लड्नका लागि सरकारले अस्पताल पनि बनाइरहेको उनको भनाई थियो।

बुधवारको पत्रकार सम्मेलनमा उपस्थित संक्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले भने, 'कोरोनाबाट बच्न सबैभन्दा उपयोगी तरिक यसको खोप नै हो। यसमा काम भइरहेको छ। खोपको परीक्षण चलिरहेको छ। तर, आम नागरिकका लागि बजारमा खोप आउन कम्तीमा एक वर्ष लाग्न सक्छ।'

ट्रम्पले अस्वीकार गरे लकडाउन

पत्रकारहरुको प्रश्नमा ट्रम्पले लकडाउन नगर्ने अडान दोहोर्‍याए। अहिलेको समयमा देशमा रेल र आन्तरिक उडान रद्द गर्ने कुनै योजना नभएको उनको भनाई थियो।

उनले यो ठूलो निर्णय भएको र यसको असर देशको अर्थ व्यवस्थामा पर्न सक्ने भन्दै लकडाउन नगर्ने मुडमा छन्। विश्लेषकहरुका अनुसार एकतिर अर्थ व्यवस्थाको कुरा छ भने अर्कोतिर विश्व महाशक्तिको ताज गुम्ने चिन्ता ट्रम्पलाई छ। त्यहीँ भएर ट्रम्प अर्थव्यवस्थालाई असर पर्ने गरी लकडाउन नगर्ने पक्षमा छन्।

उल्टै उनी नागरिकको अधिकतम जाँच गराउने पक्षतर्फ विचार गरिरहेका छन्।

स्वीडेनको उदाहरण दिँदै ट्रम्पले देशमा आम जनजीवन चलिरहनु जरूरी रहनुपर्ने बताउँदै आएका छन्। जुन देशमा पूर्णरुपमा लकडाउन गरिएको छ ती देशमा अन्य समस्याहरु उत्पन्न हुने उनको भनाई छ। स्वीडेन सरकारले देशमा हाई स्कूल र कलेज बन्द गरेको छ भने विरामीले अरुसँग दुरी बनाउन जोड दिइएको छ। तर, लकडाउन गरिएको छैन।

विश्व स्वास्थ्य संगठनको चिन्ता

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयिससले संसारभर कोरोना भाइरस बढ्दो संक्रमणले आफू चिन्तित रहेको बताएका छन्। उनले अघिल्लो हप्ताको तुलनामा कोरोनाबाट मृत्यु हुने संख्यामा दोब्बर वृद्ध भएको बताउँदै संक्रमितको संख्या चाँडै १० लाख पुग्ने र मृतक संख्या ५० हजार पुग्ने बताए।

जोन होप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट विश्वमा ४२ हजार ७५ जनाको मृत्यु भइसकेको छ।

विश्व स्वास्थ्य संगठन, वर्ल्ड बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले महामारीविरुद्ध लड्न र अर्थव्यवस्था बचाउनका लागि विकासशील देशको ऋण मिनाहा गर्नुपर्नेमा जोड दिएका छन्। बीबीसी हिन्दीबाट अनुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell