काठमाडौं : कुलेश्वरस्थित फलफूलको सबैभन्दा ठूलो थोक बजारमा अहिले बाहिरबाट फलफूल भित्रने क्रम बढेको छ। लकडाउनका केही दिनमा सुनसानजस्तै रहेको फलफूल बजारमा अहिले भने बाहिरबाट आउने फलफूलको मात्रा बढ्दै गएको छ।
आज बिहान यहाँ पुग्दा केरा र खरबुजा बोकेका ट्रकहरु अनलोड गर्न व्यस्त थिए। बजारका सबै पसल खुला छैनन् जति खुलेका छन् तिनमा फलफूलका भरिएका क्रेटहरु टन्नै देखिन्थे।
फलफूल बजारमा अहिले तराईबाट खरबुजा, केरा, भुईकटहर लगायतका फलफूल आइरहेका छन्।
'अहिले तराई र भारतबाट फलफूलहरु आइरहेका छन्। बिहान ७ बजेसम्म यहाँबाट बिक्री हुन्छ,' व्यवसायी नसुद यादवले भने।
लकडाउनका कारण ढुवानीमा असहज परिस्थिति बनेपछि फलफूलको मूल्य समेत केही बढेको छ। स्याउ, सुन्तला, खरबुजा लगायत फूलफुलको मूल्य केजीमा ३० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म बढेको छ। मेवा प्रतिकेजी ६० रुपैयाँ, अनार केजीमा १८० देखि २२५ रुपैयाँ, किवि केजी ३२० रुपैयाँ, कालो अंगुर केजी २०० रुपैयाँ, सुन्तला केजी ८० रुपैयाँसम्म निर्धारण गरिएको छ।
केही दिनअघि ३० रुपैयाँ पर्ने खरबुजा अहिले बढेर ५० रुपैयाँ पुगेको छ। राम्रोखाले स्याउ थोक बजारमै ३ सयभन्दा माथि पुगेको छ। सुन्तला पनि थोक बजारमै ८० देखि १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
लकडाउनका कारण मानिस घरबाट निस्किएका छैनन्। घरघर पुर्याएर बिक्री गर्ने व्यापारी पनि देखिँदैन। साइकलमा लिएर फलफूल बेच्नेहरु बिहान र बेलुकाको समय देखिए पनि उनीहरुको कारोबारको स्थिति सहज छैन।