PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

न बोल्छ, न सुन्छ, न हेर्छ : खोई यो कस्तो सरकार?



पहिलोपोस्ट

न बोल्छ, न सुन्छ, न हेर्छ : खोई यो कस्तो सरकार?

  • भोजराज जोशी -

मध्यरातमा मोबाइलको घण्टी बज्यो। अधकल्चो निद्रामै फोन उठाएँ।

'उद्धार गरिदिनु पर्‍यो हजुर। यहाँ मसुलधारे पानी पर्‍या छ,' फोन उठाउनसाथ सुनियो, 'हुरी बतासले खत्तम भो। बाँच्न गाह्रो भो।'

मलिन स्वर। मध्यरातमा एकोहोरो बोलिरहेको। कसको फोन थियो, ठम्याउन सकिनँ। भर्खरै १२ बजेमात्रै सुतेको थिएँ।

'के भो? भो के? सोधेँ। कुरो बुझिएन अनि फोन राखिदिएँ। केही दिन यता यस्ता फोन रातदिन आइरहन्छ। केही भारतीय मोबाइल नम्बर त कति चाहिँ नेपाली नम्बरबाटै कल गर्छन्। यसरी रातदिन फोन गर्ने धेरैजसो कल खलङ्गा पारिपट्टिको भारतीय क्षेत्र धारचुलामा अलपत्र परेका नेपाली दाजुभाइबाट आउने गर्छ।

बिहान उठ्दा यसो मोबाइल हेरेको त धेरैले फोन गरेका रहेछन्। सबै फोनको आशय एक - उद्धारका लागि पहल गरिदिनु पर्‍यो। एक सातायता कोरोना भाइरसको त्रासपछि घर फर्केका नेपालीहरु सयौँको संख्यामा भारतीय सीमामा अलपत्र परेका छन्। यसबीचमा सञ्चारकर्मीकै दबाबका कारण दुई पटक गरी चार सय भन्दा बढी नेपालीको उद्धार पनि गरियो। अचेल हामी यहाँका सञ्चारकर्मी राति कमै सुत्छौँ। सुत्न खोजे पनि बेला बेलामा भारतबाट नेपालीको फोन आइरहन्छ। मोबाइल अफ गरी ढुक्कले सुत्न मनले मान्दैन।

दुई पटक उद्धार हामीले राति नै गरेका थियौँ। रातभर उनीहरुलाई घर पठाउन धपेडी चल्यो। सधैँ स्थानीय प्रशासनसित कचकच गर्नेमा परेका छौं हामी। प्रहरीसित वाकयुद्ध सधैं चलेकै छ। अलपत्र परेकाको रोदन सुन्दासुन्दा मन विक्षिप्त भइसकेको छ। उनीहरुका तस्बिर कति कैद गर्नु?

महाकाली पारी रोएको, ढुंगामुढा गरेको, नारावाजी गर्दै गरेका तस्बिर कति खिचेँ आफैँलाई थाहा छैन। पत्रकारले यसो गरिरहँदा प्रहरी कति रिसाउँछन् भनिसाध्य पनि छैन। अहिले उनीहरुका प्रमुख दुश्मन हामी पत्रकार बनेका छौं।

स्थानीय प्रशासन र स्थानीय तहका मान्छे राम्रो मुखले हामीसित नबोलेका धेरै भइसक्यो। एकमनले भन्छ - पेशा यही हो, कोहीको पर्वाह नगरी अलपत्र परेकाहरुको खबर ओली सरकारलाई सुनाउनै पर्छ। दिनरात यसो गर्दा थाकिन्छ। कहिलेकाहीँ त लाग्छ- कयौँ दिनदेखि भोकभोकै महाकाली बगरमा अलपत्र मजदुरले भन्दा हुन, 'यी पत्रकार पनि खत्तम हुन्। हाम्रा फोटा खिचेर बेचिरहेका छन्। अचेल पत्रकार मालामाल छन् हाम्रा पीडा बेचेर। पत्रकारलाई फाइदा छ र पो दिनरात नभनी हाम्रा पीडाका समाचार खुब लेखिरहेका छन्।'

अनि उनीहरुलाई त्यसो लागिरहनु पनि स्वभाविक हो किनकि मिडियाबाट जति लेखे पनि सरकार कान सुन्दैन, आँखा देख्दैन र मौन छ। ‘यिनले लेखेर, फोटो खिचेर केही हुन्न’ भन्ने परिसकेको छ अलपत्र परेकाहरुलाई यतिखेर। यो सबै बुझिरहँदा मनमा अत्यन्त पीडाबोध हुन्छ। तर, अर्को मन भन्छ २०७० साल असार २ र ३ गते महाकालीको बाढीले खलङ्गा बगाउँदा पनि त यस्तै थियो पत्रकारको काम। त्यसैले मन दह्रो बनाएँ, अलपत्र परेकाको उद्धारमा खट्नै पर्छ भन्नेमा लागिरहेँ। जसले जेसुकै सोचुन्, जे भनुन्।

मन पेशाप्रति दत्तचित्तका साथ लगाएर घाट बजारतर्फ लागेँ। बिचरा मजदुर भारततर्फको महाकाली बगरमै थिए। नाराबाजीमा उत्रिरहेका कतिपय भने घाँटी सुक्दा त्यही महाकालीको चिसो पानीले भिजाउँदै थिए आँत। धेरैजसोको भोक मेटाउने उपाय पनि यही कालीको पानी नै हो।

कसैले फेरि फोन गर्‍यो पारिपट्टिबाट। सायद् म वारिपट्टि नदी किनारमा देखे।

फोन गर्नेको उही प्रश्नहरुको श्रृङ्खला प्रश्न थियो - के भन्छ सरकार हाम्रो बारेमा? हामी घर कहिले जान पाउने? हाम्रा जहान बच्चा घरमा रुँदै छन्, हामीले कहिले भेट्न पाउने?

प्रश्नपछि फोनमा उनीहरुको आक्रोशको वर्षा हुन थाल्यो।

'हामी भोकै छौँ तीन दिनदेखि, बिस्कुट समेत किनेर खान पाएका छैनौं। भारतीय प्रहरीले गाली गरेको गर्‍यै छ। साला तिमीहरुको सरकार बहिरो छ, अन्धो छ।'

फेरि केही सम्हालिन्छन्। आवेगलेमात्र केही हुन्न थाहा छ।

भने, 'हामी क्वारेन्टाइनमा बस्छौँ, १४ दिन होइन २८ दिन। पुलको ढोका खोल्न सहयोग गर्नुपर्‍यो। बरु आफ्नै देशमा मर्न पाए हुन्थ्यो।'

मैले धेरै सुन्न सकिन। फोन काटेँ। फेरि उनीहरुकै तस्बिर खिच्न लागेँ।

यता प्रहरी र प्रशासनका मान्छेको चर्का कुरा। उनीहरु भनिरहेका हुन्छन् - कति खिच्नु हुन्छ यिनकै फोटो दिनरात?

उनीहरुको पनि आफ्नै समस्या छ। भन्छन्, 'हाम्रो हातमा केही छैन सर। माथिको आदेश आए पुलको ताला खोलिदिन्छौं, खोल्न नै हामीलाई के आपत्ती?'

उतापट्टि फेरि सुनिन्छ चर्को नारा। 'नेपाल सरकार आफ्नो जनता फिर्ता लैजा,' 'नेपाल सरकार मुर्दाबाद।' फोटो खिचेको देखेर आशा गर्नेहरु पनि छन्। पत्रकारले पहल गरे सरकारले हाम्रो पीडा कसो नसुन्ला? 'पत्रकार सरहरु हाम्रो उद्धार गरिदिनु पर्‍यो।'

खलङ्गामा महाकाली साँघुरिएर बग्छ। वारी र पारीको दुरी धेरै छैन। त्यसैले बल गरेर बोले, यताबाट उता र उताबाट यता बोलेको प्रस्ट सुनिन्छ। तर, सिंहदरबारले आफ्नै जनताको आवाज सुन्न नचाहेपछि कसको के लाग्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell