
काठमाडौं : 'क्वारेन्टाइन अभियान नाट्य महोत्सव'मा बिहीवार नाटक 'शकुन्तलाको औंठी' प्रसारण हुने भएको छ। नाटकभित्र नाटक ‘अभिज्ञान शाकुन्तलम्’को रिहर्सल गरिरहेका रङ्गकर्मीहरुको कथा देखाइएको छ।
पौराणिक कथा ‘अभिज्ञान शाकुन्तलम्’का पात्रहरु र व्यक्तिगत जीवनको जिम्मेवारी र बाध्यताहरुले बाधिएका रङ्गकर्मीहरुको कथा एकसाथ अघि बढ्छ। भारतीय नाटककार सुरेन्द्र वर्माको अस्तित्ववादी नाटकलाई नेपाली अनुवाद र निर्देशन सुरज मल्लले गरेका हुन्।
कलाकारहरु सुरज मल्ल, आशीष श्रेष्ठ, रन्जना भट्टराई, दीया मास्के, अनुप न्यौपाने, प्रणव केसी, अनिल थापा, विकास न्यौपाने, रोशन खत्री, अनु दाहाल, प्रकृति रायमाझी, प्रमिला कार्की, नीर्मला खत्री, सुनिल खड्का, प्रकाश कट्टेल, हेना नगरकोटी लगायतको अभिनय रहेको छ।
नाटकमा प्रयोग सांगीतिक प्रस्तुतिमा शब्द संयोग गुरागाईंको रहेको छ। उत्सव बुढाथोकीले स्वर र संगीत दिएका छन्। वाद्यवादनमा विकास लामा, विशाल नकर्मी, योगेश भुषाल पनि रहेका छन्।
साँझ पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् नाटकको भिडियो प्रसारण हुनेछ। नाटक यसअघि शिल्पी थिएटरमा मञ्चण भएको थियो।
लकडाउनका कारण घरमै रहेका दर्शकहरुलाई थिएटरसँग जोडिराख्न यस भर्चुअल नाट्य महोत्सव आयोजना गरिएको हो। गत शुक्रबार, विश्व रङ्गमञ्च दिवसको अवसरमा सुरु गरिएको महोत्सवमा स्वदेशी तथा विदेशी नाटकहरु देखाइँदै छ।
थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले संयुक्त रुपमा आयोजना गरेको यस महोत्सव शुक्रबारसम्मका लागि तय गरिएको थियो। 'दर्शकले रुचाउनु भएको छ। महोत्सवको अवधि थप गर्ने बारे सोचेका छौं', निर्देशक केदार श्रेष्ठले भने।
यो पनि पढ्नुस् : दुई समयरेखालाई उभ्याउने एउटा मञ्च : अर्थात् 'शकुन्तलाको औंठी'