PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मिडियाको विश्वसनीयताको अंक घट्ला है!



पहिलोपोस्ट

मिडियाको विश्वसनीयताको अंक घट्ला है!

  • राधेश्याम दाहाल -

गलत ढङ्गबाट सूचना संप्रेषण भएका कारण दोस्रो विश्व युद्ध भएको पत्रकारिता अध्ययन गर्ने सन्दर्भमा अहिले पनि सान्दर्भिक छ। आजको दुनियाँमा कुनै पनि देश सबैभन्दा शक्तिशाली वा बलियो हुन सक्ने मुख्य आधार भनेकै उसँग भएको सूचनाको भण्डार नै हो। अहिले जेजस्तो रुपमा अगाडि बढेको छ त्यसको मुख्य कारक तत्व भनेको सूचनाको सार्वजनिकीकरण नै हो। चाहे त्यो सूचना वा जानकारी सही ढङ्गले पुगेको होस् या गलत। समाजमा कुनै न कुनै रुपमा मिडियाको प्रभाव छ। कुनै पनि क्षेत्रको क्षमता र दक्षता कतिसम्म छ र उसले कुन तहको भावना राखेर काम गरेको छ भनेर पुष्टि गर्ने सबैभन्दा बलियो आधार तय गर्न संकट नै आउनु पर्ने रहेछ। संकटमा त्यो क्षेत्रले कस्तो भूमिका निर्वाह गर्छ त्यसबाट नै उसको औकात प्रष्ट हुने रहेछ।

नेपाली पत्रकारिता क्षेत्रमा झण्डै दुई दशकदेखि सक्रिय रहँदैगर्दा धेरै खालका आरोह अवरोहको प्रत्यक्षदर्शी भइयो। कति आरोह अवरोधमा सक्रिय पनि भइयो होला। ती विषय पनि अहिले चर्चा गरिरहनुपर्छ जस्तो लागेन। पत्रकारिताको विद्यार्थी भएका कारण नेपालको पत्रकारिता र संचार क्षेत्र यस्तो भइदिए हुन्थ्यो जस्तो लागेको थियो, छ र रहिररहने छ। पत्रकारिता क्षेत्रबाहेक अन्य क्षेत्रमा लगाव राख्न जानिएन र सकिएन पनि। त्यसैले अब यस क्षेत्रको विकल्प कम्तिमा मेरा लागि छैन।

नेपाल पत्रकार महासंघमा झण्डै तीन वर्ष बिताउँदै गर्दा नेपालको पत्रकारिता क्षेत्रका बारेमा थप बढी बुझ्ने र जान्ने मौका मिल्यो। मोफसलको पत्रकारिता, काठमाडौं भित्रको पत्रकारिता, मिडिया संचालकहरुको भूमिका र मिडिया संचालन गर्नेको नियत जस्ता विषय बुझ्न थप मद्दत मिल्यो। त्यसैले यी तीन वर्ष मेरा लागि अध्ययनको समय सावित भयो भन्दा फरक नपर्ला।

राजनीतिक रुपमा विभिन्न दलको समर्थनमा जुट्ने बानी परेका नेपाली पत्रकारहरुले हरेक विषयमा राजनीति घुसाउने छाड्न नसकेको तीतो यथार्थ हो। कतिले दलको राजनीतिलाई आफनो पत्रकारितामा घुसाएका छन्। कतिले विभिन्न समूदाय, क्षेत्र, गैर सरकारी संस्था र देशी विदेशी राजनीतिलाई आफ्नो पत्रकारितामा घुसाएको तीतो यथार्थ हामीसामु छ। जबसम्म ठूलो संकट आइलाग्दैन तबसम्म यसले भुगोलको एउटा सानो तहलाई मात्र असर गरेको हुँदो रहेछ, जुन देखिँदैन। तर, जब संकट निकै ठूलो हुन्छ, यसको असर ठ्याक्कै देखिने रहेछ। कोरोनाको महामारी फैलँदै गर्दा नेपाली पत्रकारितामा पनि ठूलो संकट मडारिएको आशंका पैदा भएको छ।

आज घरमा बस्ने सबैले सूचनाका लागि भरपर्ने भनेकै संचार क्षेत्रकै हो। तर, संचार क्षेत्रले आफूलाई कति विश्वसनीय रुपमा प्रस्तुत गरेको छ, त्यो सबैभन्दा महत्वपूर्ण विषय हो। विश्वभरकै तथ्यांकलाई हेर्ने हो भने पत्रकारिता क्षेत्रको विश्वसनियता खस्कँदो छ। नेपाल पनि यो मामलामा पछाडि छैन। तर, नेपालजस्ता देशहरुमा सूचनाको प्रवाह डडेलो जसरी भइदिँदो रहेछ। गलत सूचनाको प्रवाह अलि छिटो हुने र क्षतिपूर्तिको अवस्थासम्म आइसक्दा ठूलै क्षति ब्यहोरिसकेको अवस्था हुने रै'छ। यसबाट निश्चित उद्देश्य राखेर पत्रकारिताको खोल ओढ्ने मिडिया संचालक र काम गर्ने मजदुरहरुलाई त फाइदा नै पुग्दोरहेछ। तर, पत्रकारिता क्षेत्र यी र यस्तै चरित्रहरुका कारण दिनदिनै अप्ठेरोमा पर्दै गएको तथ्य तपाईँ हामीसामु छर्लङ्ग छ।

सत्तामा बस्नेहरुले पत्रकारिता क्षेत्रलाई जहिले पनि गलत नियतले हेर्ने विश्वव्यापी मान्यताजस्तै बनिसकेको छ। तर, सत्ताभन्दा बाहिर हुँदा पत्रकारितलाई गलत ढङ्गले प्रयोग गर्न खोज्ने संस्कार पनि विश्वव्यापी नै छ। नेपालमा पनि तथ्यहरु र तथ्यांकहरुले यी कुरालाई पुष्टि गर्नसक्छ।

पत्रकारिताको मूल्य र मान्यताको खिलाप जाने अधिकार यसको परिधिभित्र अटाउने कसैलाई पनि छैन। विश्व नै अहिले कोराना त्रासले आक्रान्त छ। कोरोनाले कति देशलाई अस्तब्यस्त बनाइसकेको छ। कति देश बन्ने क्रममा छन्। कोरोनाले विभिन्न देशका सरकारका काम गराइ र कार्य दक्षता पनि प्रष्ट बनाइरहेकै छ। विभिन्न देशका राजनेताहरुको हैसियत पनि कोरोनाले देखाइरहेको छ। यी सबै विषयको चर्चा गर्दा नेपाल पनि अछुतो रहने कुरै भएन।

नेपाल सरकार र नेपालको नेतृत्व सम्हाल्नेहरुले यस बेला आफ्नो भूमिका कस्तो निर्वाह गरेका छन्, त्यसको लेखाजोखा समयले गर्ला। तर, आज हामीले उठान गर्न खोजेको विषय वर्तमान अवस्थामा नेपालको संचार क्षेत्रले खेलेको भूमिका र खेल्नु पर्ने भूमिकाका विषयमा केन्द्रित छ। पत्रकारिताको भाषामा भन्ने हो भने विज्ञान र स्वास्थ्यका विषयमा सूचना संप्रेषण गर्दा सन्तुलन कायम गर्न विशेष जोड दिनुपर्छ। हुन त अन्य विषयमा पनि सन्तुलन कायम हुनुपर्छ। तर, स्वास्थ्य र विज्ञानका विषयमा अझ बढी सचेत हुनुपर्छ भनिन्छ। त्यसमा पनि नागरिक र आम जनताको स्वास्थ्यको विषयम केन्द्रित विषयमा अझ बढी चनाखो हुनुपर्छ। अहिले यो संकटको बेलामा त मिडिया र पत्रकार धेरै नै सचेत हुनुपर्छ भन्ने नै हो।

अस्पताल र स्वास्थ्यकर्मीले मास्क र सेनिटाइजरको अभाव ब्यहोरिरहेका छन्। कारण आम सर्वसाधारणले घर घरमा लगेर मास्क र सेनिटाइजरको जोहो अनावश्यक रुपमा गरिरहेका छन्। संचार क्षेत्रले विज्ञहरुको धारणा तय गरेर स्वस्थ भएको अवस्थामा मास्क जरुरी छैन, घरमा स्यानिटाइजरको सट्टा साबुन पानीले हात धोए पुग्छ भन्ने सन्देश बेलैमा प्रवाह गर्न सकेको भए बजारमा यस्तो कोलाहालको अवस्था आउने थिएन। सायद्, कालोबजारी रोक्न पनि मिडियाको भूमिका उल्लेख्य रहन्थ्यो।

पत्रकारिताको मुल मन्त्रलाई आत्मसात गर्ने हो भने यस्तो महामारीको समाचार प्रस्तुत गर्दा राजनीतिक अभिष्ट वा स्वार्थ केन्द्रित हुनु हुँदैन भनिन्छ। महामारीको समाचार दिँदा जति मात्रामा खराब पक्षको समाचार दिइन्छ त्यति नै मात्रामा वा त्यसभन्दा बढी राम्रो पक्षको पनि सूचना बाहिर ल्याउनुपर्छ भनिन्छ। जस्तै इटलीमा माहामारीले शुरुमा संक्रमित भएकाहरु उपचारपछि घर फर्केका छन्। सबैले चासोको रुपमा लिएको विषयमा संचार क्षेत्र थप संवेदनशील हुन आवश्यक छ। कोरोना संक्रमणका कारण स्पेनी राजकुमारीको मृत्यु भनेर समाचार आउँदै गर्दा कमैमात्र संचार माध्यमले उनको उमेर ८२ वर्ष थियो भनेर भनेको पाइयो। राजकुमारीको मृत्यृ र ८२ वर्षीय राजकुमारीको मृत्यु भन्ने विषय आफैमा कति फरक छ त्यो सबैले अनुमान गर्नसक्ने विषय हो।

महामारीको बेला धारणाहरु सार्वजनिक गर्दा राजनीतिक उद्देश्य बोक्नेहरुलाई भन्दा विज्ञता हासिल गरेकाहरुको प्रयोग अत्याधिक गर्नुपर्ने देखिन्छ। जुन मामिलामा पनि नेपालका संचार माध्यमहरु केही कमजोर सावित भएकै हुन्। पूर्व प्रधानमन्त्री वा पूर्व स्वास्थ्य मन्त्रीहरुको धारणाको औचित्य कति रहन्छ त्यो विषयमा पनि संचार क्षेत्र गम्भीर हुनुपर्छ।

घर घरमा बन्दी जीवन बिताइरहेकाहरुलाई सकारात्मक समाचार, सकारात्मक सोचको आवश्यकता छ। सूचना प्रविधिमा हामीले मारेको फड्कोले पनि हामीलाई केही अप्ठेरोमा पारेकै हो। 'अल्पज्ञानं भयंकरम्' भने जस्तो धेरै नेपालीमा अल्पज्ञान छ। त्यसैको आडमा धारणा तय गर्ने बानी हामीलाई परिसकेको छ। नेपालका धेरै राजनीतिक परिवर्तन र राजनीतिक दलका गतिविधिले हामीलाई अल्पज्ञानमै रमाउने बनाइसकेको छ। महामारीका बेला पनि अल्पज्ञानकै आडमा धेरै समस्या बल्झेको भन्दा फरक नपर्ला।

पहिलोपटक नेपालीले ब्यहोरेको लक डाउनलाई नेपालको सुरक्षा फौजले कफ्र्यु जस्तो गरी सडकबाट मान्छेहरु समात्दै चौकीमा लगेर थुन्ने काम गरेको पाइयो। कानुनी रुपमा त्यो ठीक वा बेठीक के थियो भन्ने विषयमा पनि संचार जगतले कलम चलाउन पर्ने हो कि? सुरक्षा फौजले यस अवधिलाई जनताको मन जित्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने हो कि जनतलाई परम्परागत शैलीमा डण्डा लगाउने हो? यस्ता विषयमा पनि संचार जगतले केही भूमिका खेल्नु पर्ने हो। हुन त यो महामारी हो तर यसले नेपालको पत्रकारिता क्षेत्रलाई पनि केही सिक्ने अवसर प्रदान गरेको छ। संकटका बेला प्रकाशन कसरी गर्ने, कर्मचारीलाई कसरी राहत दिने भन्ने विषयमा पनि संचार क्षेत्रका केही ठालुहरु चुकेको देखियो। महामारी र नागरिक स्वास्थ्यको विषयमा संचार क्षेत्रले अहिले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्यो भने इतिहासले वर्तमान पत्रकारिताको उच्च मूल्याङ्कन गर्नेछ। अन्यथा हाम्रो विश्वसनीयता माथि फेरि केही अंक घट्ने निश्चित छ। बेलैमा चेतना भया।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell