सरकारले चीनबाट कोरोना परीक्षण गर्ने पोर्टेवल पीसीआर मेसिन ल्याएसँगै सबै प्रदेशबाट कोरोना परीक्षण हुने भएको छ। मेसिनसँगै कोरोनाका संक्रमितको उपचारका लागि आवश्यक पर्ने सुरक्षा उपकरण पनि ल्याइएको छ। सुरक्षा कवच नभएको भन्दै धेरै अस्पतालहरूले कोरोना आशंकामा अस्पताल आएकाहरुलाई भर्ना गर्न मानिरहेका छैनन्। सरकारले सुरक्षा उपकरण, परीक्षण मेसिन ल्याइसकेपछि अब चिकित्सकलाई उपचारमा के अप्ठेरो छ त? यसै विषयमा केन्द्रित भएर नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीसँग गरिएको कुराकानी।
++++
सुरक्षा उपकरण ल्याइसकेपछि अब चिकित्सकलाई काम गर्न केले असहज छ?
अप्ठ्यारो भनेकै होइन, सुरक्षाका उपकरण ल्याऊ भनेको हो। हातमा चक्कु छैन भने अप्रेसन हुँदैन नि। उपकरण बिना त केही हुँदै हुँदैन। हामीले लक्जरी मागेको होइन। केही सामाग्री आएपछि राहत भएको छ। तर कहाँ बाँडिन्छ भन्ने महत्त्वपूर्ण कुरा हो। हिजो भूकम्पका बेला पनि पाल लगायतका राहत सामाग्री आएका हुन्। त्यति बेला पनि सबैले पाएनन्। पाल बाँडेजस्तो नहोस् भन्न खोजेको हो। चिकित्सकले आज लगाएको मास्क गोजीमा राखेर भोलि फेरि लगाएर उपचार गरिरहेका छन्।
सरकारले ल्याएका सामानहरू वितरण गर्दा न्यायसंगत हुँदैन भन्न खोज्नुभएको हो?
त्यसरी शंका गरेको त होइन। सबै प्रदेशमा पठाइयो भन्ने सुनेका छौँ। ती उपकरण सबै अस्पतालमा बाँड्न त पुग्दैन होला। मैले हिजो सामाजिक सञ्जालमा जनप्रतिनिधिले पीपीई लगाएको एउटा फोटो हेरेको थिएँ। त्यो कतिको साँचो हो थाहा भएन। यदि त्यसो हो भने त्यो आपत्तिजनक छ।
अहिले आएका सामान सही मान्छे र सही ठाउँमा पुग्नुपर्यो। सही समयमा पनि पुग्नुपर्यो। अहिले एक लाख उपकरण आयो भन्दा हामी त उत्साहित छौँ। यसको दुरुपयोग नहोस्। दुरुपयोग हुन थाल्यो भने महामारी हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ।
अहिले धेरैजसो अस्पतालले बिरामी फर्काइरहेका छन्। यो बेलामा यस्तो किन भयो?
दुई हिसाबले लिनुपर्छ। टिका-टिप्पणी गर्न सजिलो छ। राज्यले पहिला त हरेक अस्पतालले आइसोलेसन बेड राख्नुपर्छ भन्यो। हरेक ठाउँमा कोरोनाको उपचार गर्ने कुरा भो। त्यो बेला भनेका थियौँ हामीले सिक्ने अरू महामारी फैलिएका राष्ट्रबाट हो। त्यसरी सबै ठाउँमा कोरोनाको उपचार हुन सम्भव छैन। त्यसो गर्दा जनशक्ति र उपकरण दुवैको अभाव हुन्छ। कोभिडको लागि डेडिकेटेड अस्पताल भयो भने काम गर्न सजिलो हुन्छ। अरू देशले पनि कोभिडका लागि छुट्टै अस्पताल बनाए। र त्यसरी बनाएपछि कोभिडका शंका लागेका बिरामी त्यहाँ जाने भए र त्यहाँबाट फर्कने कुरा भएन।
त्यसो भने कोभिड संक्रमित हेर्ने छुट्टै अस्पतालको आवश्यकता छ?
हो, एकदम आवश्यक छ। डेडिकेटेड अस्पताल चाहिन्छ। जहाँ डेडिकेटेड डाक्टर हुन्छन्। अरू अस्पतालमा अरू बिरामीको उपचार हुने भयो। त्यसो भयो भने अरू बिरामी बाँकी अस्पतालमा जाने भए। र त्यहाँ कोभिडको जस्तो सुरक्षाका उपकरण चाहिँदैन। सामान्य मास्क र पञ्जामात्रै लगाएर पनि उपचार गर्न सकिन्छ। बिरामी फर्कँदैन। यसमा राज्य सुरुमा चुक्यो।
सबै अस्पतालमा आइसोलेसन राख्दा कोभिडको आशंकामा बिरामी सबै अस्पतालमा गए। त्यहाँ उपकरण पनि चाहिए। उपकरण त फेरि त्यहाँ पनि छैन। अस्पतालले बाध्य भएर फर्काउनु परेको छ। अहिले डाक्टर पनि डराएको उपकरण नभएको अवस्थामा कोभिडका बिरामी भर्ना भएमा क्रस इन्फेक्सन हुन्छ भनेर हो। अर्कोतिर आफैँ पनि इन्फेक्सन हुने डर भयो।
सुरक्षा उपकरण नभएर मात्रै हो कि मनोबल पनि कमजोर भएर हो बिरामी फर्काइएको?
मनोबल पनि हुन सक्ला अर्को कारण। डाक्टरको मनोबल बढाउने खासै काम भएको छैन। खाली बीमा गरेर मात्रै हुँदैन। एकातिर कोरना परीक्षण गर्ने उपकरण दिएको छैन भने अर्कोतिर सेफ्टी छैन। अहिले सिमामा लड्दा-लड्दै मरेको सेना जस्तै हो डाक्टर पनि।
यदि भोलि बिरामीको उपचार गर्दागर्दै आफैँ संक्रमित भइयो भने तिम्रो परिवारको जिम्मा राज्यले लिन्छ भन्नुपर्यो। त्यसरी पनि मनोबल बढाउन सकिन्छ। बीमा ५० लाख भनिएको छ। तर मानौँ म नै कोभिडको संक्रमित भएर मरेँ भने मेरी श्रीमती र साना बच्चाहरूले के गर्ने यो सबै जिम्मा राज्यले लिनुपर्यो।
यति धेरै डराउँदा पेशागत धर्म कसरी निभाउनु हुन्छ? यस्तै बेलामा हो नि डाक्टरको आवश्यकता पर्ने त?
यो कुरामा त दुइमत भएन। पेसा नै यस्तै हो तर यसोभन्दा भन्दै पनि बिना उपकरण बिना सुरक्षा काम गर भन्दा संसारको कुनै पनि ठाउँमा काम हुँदैन। हामी त डराएको भन्ने होइन हिजो भूकम्पको बेला पनि खुल्ला पालमुनि बिरामीलाई उपचार गरेका हौँ। आफ्नो परिवारका आफन्तका लासहरुको पनि बेवास्ता गरेर हामीले उपचार गरेका हौँ।
तर अहिले संसारभर हेर्ने हो भने धेरैजना चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएर ज्यान गुमाउनु परेको छ। यो त डाक्टरका लागि पनि युद्ध नै हो। उ बाँच्ने नबाँच्ने सवाल उठ्छ। इटालीमा हेर्नुस् या चीनमा मर्ने डाक्टर पनि उतिकै छन्। विश्वभर हेर्नु भो भने १८ प्रतिशत त चिकित्सक मरेका छन्। यो त मानव जातिकै लडाईँ हो।
सबै जना मर्छन् भन्ने होइन। हामी त मर्न पनि तयार भएरै गएको हो नि। केही व्यवस्था नगरी खाली डाक्टरलाई उपचार गर भन्यो भने त्यो सफल हुँदैन। यस्तो बेलामा सरकारी प्राइभेट केही भनिनु हुँदैन सबै डाक्टरको मनोबल बढाउनुपर्छ।
भोलि इटालीको जस्तो हाल भयो भने मेडिकल साइन्स पढिरहेका विद्यार्थीलाई नै ब्याटलमा उतार्नुपर्ने हुन सक्छ। अहिले त हिजो आफ्ना सेनालाई हिट्लरले मनोबल बढाएर म लड्छु, लड्छु भन्ने बनाएजस्तो बनाउनु पर्यो।
क्वारेन्टाइन र आइसोलेसनमा बसेका मान्छे मरिरहेका छन्। यो त अस्पताल र डाक्टरको लापरबाहीले पनि त हो नि?
हामीले त धेरै अगाडि नै लकडाउन गरौँ भनेको हो। अहिले भो। यस्तो अवस्थामा त लकडाउन गरेर इन्फेक्सन रोक्ने नै हो एउटा विकल्प। तर निकै ढिलो गरी लकडाउन भयो। यस्तो अवस्थामा अरू देशबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइन र आवश्यक परेकालाई आइसोलेसनमा राख्नुपर्यो। खाली केही व्यवस्था नगरी क्वारेन्टाइनमा राख्दा ज्यान गइरहेको छ। यसमा त राज्यले कमजोरी गर्यो नि। तयारी बिना कुनै काम गर्न सकिँदैन। बिना तयारी क्वारेन्टाइनमा राख्दा ज्यान जाने नै भयो। केही त अरू रोगका नै बिरामी थिए होलान् नि।
के त्यसो भने राज्यले गरेको तयारी नाजुक अवस्थामा छ?
थियो। तर केही समय यता तयारी भएको छ। अब हामी पनि आशावादी भएका छौँ। केही उपकरण नभएका बेलामा उपकरण ल्याएर कम्तीमा परीक्षण गर्छौँ भनेपछि राम्रै कुरा हो। अब अहिले सरकारले केही तयारी राम्रै गरेको छ। अझै पनि विदेशबाट आएका सबैको ठेगाना पत्ता लगाएर अनिवार्य जाँच्ने काम गर्न सकेको छैन। यसले पनि भोलि भयावह स्थिति निम्त्याउन सक्छ।
अहिले त दिनमा सय जनाको पनि कोरोना परीक्षण भएको छैन। संक्रमित पनि ५ जना मात्रै छन्। यसलाई कसरी हेरिरहनुभएको छ?
धेरै जसोलाई ५ जनामात्रै त हुन संक्रमित भनेर खुसी लागेको देखेँ। तर मलाई डर नै यसमा छ। बरु एकसय दुइसय संक्रमित भएको भए म त्यति डराउने थिइनँ। अब त के खतरा छ भने एकैपटक हजार जना संक्रमित देखिए भने के गर्ने। कहाँ राख्ने हजार जनालाई? लकडाउनको अर्थ पनि संक्रमित बढ्न नदिने भन्ने नै हो। तर मेरो विचारमा धेरैजना संक्रमित त खुलेआम घुमिरहेका छन्। परिवारमा घुलमिल गरेरै बसेका छन्। यसो भयो भने भोलि लकडाउन खोलेपछि पनि फेरि लकडाउन गर्नुपर्ने स्थिति आउँछ। मेडिकल साइन्समा पनि के हुन्छ भने महामारीका बेलामा संक्रमितको ग्राफ कसरी घटाउने भन्नेमै सबै उपाय अवलम्बन गरिन्छन्।
के इटाली र चीनको जस्तो स्थिति आउँछ?
हामी नेपाली त्यति धेरै अनुशासित छैनौँ। अहिले त जहाँको जनता धेरै अनुशासित भए त्यहाँ मात्रै रोक्न सकिएको छ। चीनमा सरकारले बाध्य भएर पनि जनतालाई अनुशासित बनायो। कोरिया, ताइवान, हङकङ र जापान लगायतमा पनि नियन्त्रणमै छ। तर अमेरिका इटाली लगायतका देशमा फैलिरहेको छ। त्यहाँ जनता त्यति अनुशासित भएनन्। लकडाउन भनेपछि त सबैले मान्नुपर्यो नि। यहाँ त एक दुई घण्टा क्वारेन्टाइनमा बस्यो अल्छी लाग्यो छ्याङ खान निस्क्यो। मान्छेलाई कुटेर पनि क्वारेन्टाइनबाट भागेका छन्। राज्यले त आर्मी पुलिस के लगाएर हुन्छ अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ। अर्कातिर विदेशबाट आएका कहाँ छन् खोज्नुपर्यो। तिनलाई कहाँ राख्ने संरचना तयार गर्नुपर्यो।
एकातिर सरकारले परीक्षण गरेर संक्रमित को हो छुट्ट्याउन सकेको छैन अर्कोतिर जनता अनुशासित भइदिएका छैनन्। एकैपटक संक्रमितको संख्या धेरै देखिन्छ अबको केही दिनमा र त्यसको सम्पूर्ण तयारी सरकरले गरिसक्नुपर्छ। नभए इटाली र चीनको जस्तो भयो भने हामीले नियन्त्रण गर्न सक्ने स्थिति हुँदैन। अहिलेसम्म त त्यही टेकुले गरेको त हो। त्यो पनि कति नै छ र। यो त केही पनि होइन।