काठमाडौं : फ्रान्सबाट दोहा हुँदै चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएकी किशोरीमा कोरोना संक्रमण देखिएपछि प्रहरीले विमानका यात्रुहरुको खोजी कार्य तीब्र पार्यो। खोजी तथा सम्पर्क गर्न थालेको दश दिनपछि प्रहरीले विमानमा आएका १ सय ५८ जना यात्रु मध्ये १ सय ४० जना सम्पर्कमा आएका छन्।
चैत ४ गते स्वदेश फर्किएका उनीहरुमध्ये केही अहिलेसम्म १८ जना भने अझै पनि सम्पर्कमा आएका छैनन्। प्रहरीले प्राथमिकताको साथ उनीहरुलाई खोजी गरिरहेको जानकारी दिएको छ। प्रत्येक जिल्लामा सर्कुलर जारी गरेर नै खोजी गरिरहेको बताएको छ।
४८ जिल्लाका मानिसहरु सो विमानबाट काठमाडौं ओर्लिएका थिए। राहदानीमा भएको जानकारी अनुसार प्रहरीले खोजी गरेको थियो। तर, केहीको सम्बन्धित ठेगानामा नभएको र अन्यन्त्र भएकाले खोज्न केही ढिला भएको नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले जानकरी दिए। प्रहरी सम्पर्कमा आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
सरकारले चैत १ गतेबाट विदेशमा आएका र सम्पर्कमा नआउनेलाई कैदसम्मको कारबाही गर्ने चेतावनी दिइसकेको छ। तर, पनि अझै उनीहरु सम्पर्कमा आउन चाहँदैनन्।
त्यस्तै, चैत ६ गते नेपाल आएको एयर अरेबियाबाट एक यात्रुमा पनि कोरोनाको संक्रमण देखियो। विमानमा १ सय ७० जना यात्रु रहेको थिए। संक्रमण देखिएपछि प्रहरीले त्यस विमानका यात्रुसमेत खोज्न थालेको छ। अहिलेसम्म १ सय २६ जना यात्रुमात्र सम्पर्कमा आएका छन्। 'हामीले अरुलाई पनि कोही कसै विदेशबाट आएको भए जानकारी दिन भनेका छौं। अबको केही समयमा सबै जनाको सम्पर्क होला,' प्रहरी प्रवक्ता एसएसपी जोशीले भने।
दुवईबाट भारत हुँदै एयर भिस्तराको बाट चैत ७ गते नेपाल आएका एक अर्का यात्रुमा पनि कोभिड १९ देखियो। उनीसँगै विमानमा १ सय ३० जना यात्रु थिए। अहिलेसम्म उनीसँगै आएका ४० जनामात्र सम्पर्कमा आएका छन्। भिस्तराबाट काठमाडौं आएका यात्रु चैत ८ गते नेपालगञ्ज उडेका थिए। बुद्ध एयरलाइन्सबाट उनी नेपालगञ्ज पुगेका थिए। विमानमा भएका ७१ जना यात्रु मध्ये ३० जना प्रहरीको सम्पर्कमा आएका छन्।
वाग्लुङमा संक्रमित किशोरी पनि यति एयरलाइन्सबाट पोखरा हुँदै गएकी थिइन्। यतिबाट यात्रा गर्ने ५७ जना मध्ये ११ जना फेला परेको एसएसपी जोशीले बताए।