
- क्रान्तिशिखा धिताल
आमासँग कुरा गरिसकेको ५ मिनेट पनि भएको थिएन। फेरि फोन गर्दा अचम्ममा परेँ। आमाको प्रश्न थियो, छोरी कस्तो छ? जवाफसँगै प्रश्न गरेँ - ठिक छु किन र?
आमाले अत्यास मानेझै उत्तर दिनुभयो। नानी एउटाले नेपालभरि कोरोना फैलिँदै छ। गाह्रो हुन्छ बाँच्न भनेर भिडियो राखेको छ। त्यो हेरेँ! डर लाग्यो र कुरा गर्न खोजेको।
घटना एउटा उदाहरण मात्रै हो। विश्व नै कोरोनाको त्रासमा डुबेको बेला त्यस्तो अत्याशलाग्दो भिडियो हेर्दा कसलाई पीडा नहोला। उनी त आमा थिइन्। एकैछिन सोचेँ, भाइरलका नाममा पोस्ट भएका यस्ता भिडियो कोरोनाभन्दा कम खतरनाक छैनन्। सरकारले लकडाउन गरेसँगै सामाजिक सञ्जाल सूचना सम्प्रेषणको माध्यय बनेको छ। इन्टरनेट र हातमा साधन हुँदै गर्दा जसले जे पनि राख्न सक्छ र कसैले केही भन्दैन पनि। सामाजिक सञ्जालमा कैयौँले स्ट्याटस, कमेन्ट, माइ स्टोरी तथा अन्य एम्बुस राखेका छन्। यसले जनमानसमा प्रत्यक्ष असर गरेको छ। सामाजिक सञ्जाल नियमन नहुँदा अत्यास बढाइरहेको छ।
सूचना शक्ति हो। हिजो मूलधारका मिडियामा रहेको शक्ति अहिले विस्तारै वैकल्पिक माध्यममा पनि स्थापित हुँदैछ। तर कतिपय अवस्थामा सामाजिक सञ्जाल अभिषाप पनि बनिरहेका छन्। सामाजिक सञ्जाल 'इन्फरमर्ल एक्टिभिज्म' हुँदै 'अल्टरनेटिभ जर्नालिज्म'को माध्यम पनि बनेको छ।
हरेक सञ्चारमाध्यमका आफ्ना मानक हुनुपर्छ। इथिकल जर्नालिज्ममा सत्य, तथ्य, निष्पक्षता, स्वतन्त्रता र उत्तरदायी हुनुपर्ने मान्यता राखिन्छ। व्यावसायिक पत्रकारितामा यी सिद्धान्त लागू भए पनि सामाजिक सञ्जालमा यस्तो मानक हुने कुरै भएन।
सामाजिक सञ्जाल नियमनका लागि सरकारले नयाँ कानुनको प्रस्ताव गरे पनि विवादरहित भएन। कानुन निर्माण प्रक्रिया विचाराधीन रहेका बेला अन्य वैकल्पिक व्यवस्था गरेको छैन। स्पष्ट रुपमा कुनै पनि नियमनको व्यवस्था नहुँदा सामाजिक सञ्जालको कानुन विपरीत प्रयोग घटेको छैन।
यसो त सञ्चारमाध्यमले पनि आचारसंहिताका व्यवस्था पूर्ण परिपालना गरेका छैनन्। हालै प्रेस काउन्सिलले केही अनलाइन मिडिया बन्द र स्पष्टीकरण समेत गरेको छ। विपदका समयमा सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग भएका छन्। जसले समाजमा नकारात्मक भावना र त्रास बढाएको छ।
मूलधारको मिडियाको विश्वसनीयता कायम राख्न पनि सामाजिक सञ्जाललाई नियमनको खाँचो छ। त्यसो नभएमा मूलधारको पत्रकारितालाई बदनाम बनाउन अल्टरनेटिभ मिडिया नै काफी छन्।
आज विश्व एकजुट भएर महामारीसँग लड्दै छ। रोकथामका लागि सबै उपाय अवलम्बन भइरहेका छन्। समयसँग पर्खनुको विकल्प छैन। तर त्रासमय तथा संवेदनशील अवस्थामा पनि केही व्यक्तिलाई सामाजिक सञ्जालमा भाइरलको आशक्ति चढेको छ।
अष्ट्रेलियाली पत्रकार मार्गरेट सिमोन्सका अनुसार पत्रकारिताको स्वरुप परिवर्तन व्यवसायिक पतनभन्दा पनि अवसर हो। जहाँ एकपटकको सफल सधै सफल हुँदैन भन्ने देखाउँछ। पत्रकारिता जुनसुकै माध्यमबाट गरिए पनि त्यसको गहनातालाई बुझेर समयसापेक्ष हुनुपर्छ। दर्शकलाई मिठास ल्याउने हुनुपर्छ। यसलाई मौकाका रुपमाभन्दा अवसर मानेर व्यावसायिक मर्यादालाई जोगाउनु पर्छ। यो आवश्यक पनि हो। अन्यथा गलत सूचनाका कारण गम्भीर घटना घट्न सक्नेछ। नागरिक पत्रकारितालाई सही रुपमा उपयोग गरेमा सूचनाको दायरा फराकिलो बनाउन सकिन्छ।