कोरोनाको कहर छ। लकडाउन चल्या छ। छिमेकका दाइ भाउजु गन्थन गरी रहन्छन्। सुन्यो बस्यो।
कसैले के चल्दै छ? भनेर सोध्यो भने आफ्नो चलेको दैनिकी यति नै हो। यसभन्दा धेरै चलेको त कोरोना हो।
देश लकडाउनमा छ। ‘ग्लोबल भिलेज’ को बारेमा पढिएको थियो। अहिले ‘ग्लोबल’ को कुरा छाडौं आफ्नै छिमेकीको घर पनि धेरै टाढो जस्तो भएको छ। कोरोनालाई हराउन भित्रै बसिरहिएको छ। र, बस्नै पनि परिहाल्यो।
लेखिरहने बानी। के भयो होला भन्ने लाग्छ। बिहानै ब्युझिने बित्तिकै आज रातिको खेल अपडेट हेर्न मनलाग्छ। कोठामा आइपुग्नेबित्तिकै खुला हुने त्यो टिभी आजकल दिनभर कोठामै बस्दा पनि खोल्न मन लाग्दैन। एउटा कारण, खेल गतिविधि छैन। अर्को कारण, कोरोनाको बाहेक कुरै चलेको छैन। जति हेर्यो त्यति डर लाग्ने।
खेलको कथा अर्कै छ। सरूवा रोग लागेको छ। प्रिमियर लिग सर्यो। ला लिगा सर्यो। सिरी ए सर्यो। यता एभरेस्ट प्रिमियर लिग सर्यो। नेपालले धेरै समयपछि घरेलु मैदानमा खेल्न लाग्दै थियो, अस्ट्रेलिया र चाइनिज ताइपेइसँग। त्यो पनि सर्यो। युरो कप सर्यो। धिपधिप हुँदै होला नहोलाको अवस्थामा रहेको ओलम्पिक सर्यो। आइपिएल रद्द हुन आधिकारिक घोषणामात्र बाँकी छ।
नेपालकै थप कुरा गर्ने हो भने नेपाली क्रिकेट टिमले खेल्ने सिरिजहरु प्रभावित बने। खेलाडीहरुको अभ्यास प्रभावित बन्यो। विश्व प्रभावित हुँदा खेल कसरी प्रभावित नहोस पनि?
हप्ता दिनको लकडाउन सकियो। खेलाडीको लकडाउन अनुभव र फलानो खेल सर्यो भन्दाभन्दै आजको दिन आइसक्यो। अब त सर्न बाँकी पनि केही देखिँदैन। र, भइहाल्ने प्रतियोगिता पनि छैन।
+++
‘अब कोरोनाको कहर सकिएपछि खेलकुद कता जाला?’ प्रश्न उठछ। दक्षिण एसियाली खेलकुदको क्रममा दशरथ रंगशालामा फुटबल हेर्न आइपुगेका दर्शकहरुको भिड सम्झन्छु।
‘ल लकडाउन सकियो रे। जनजीवन सामान्य अवस्थामा फर्किन लाग्यो रे,’ त्यतिकै ठूलो संख्यामा समर्थकहरु रंगशालामा भेला हुन कति समय लाग्ला?
समर्थक नआए खेल पनि के खेल?
यसो विचार गर्दै गयो लाग्छ : ‘खेल’ त राजनीतिमा मात्र टिक्ने रहेछ।
कतै टेन्डर हुने भन्या छ।
कतै रद्द भयो भन्या छ।
कतै कामदारका लागि लकडाउनको समयमा लागि छुट्याएको राहतका लागि हुनेखाने प्राइभेट गाडीमा आउँदैछन् भन्न सुनिएको छ।
कहिले सुकिला मुकिलालाई ‘चार्टर’ गरेर ल्याएर झिनामसिनालाई बोर्डमै बेवारिसे पारिएको खबर पढिएको छ।
त्यसबाहेक अर्को खाले ‘खेल’ देखिन्छ फेक न्युज र म्यासेजवालाको। हुन त गो लेख्नुहोस चरो उड्छ भनेर गरेको पोष्टमा हजारौं ‘गो’ हरु आउँछन् यहाँ तर चरा उड्दैन। हल्ला गर्न गाह्रो छैन।
‘इटलीमा नालीमा पैसा फाले रे’ भने पनि भएकै छ।
‘इटलीमा मान्छे चोकमा यसरी मरे’ भन्दिए पनि भएकै छ।
‘पुटिनले शहरमा सिंह छोडेका छन् रे’ भन्दिए पनि भएकै छ।
यस्तै बिजोक देखेरै कवि भूपी शेरचनले भनेका थिए होलान्- यो हल्लै हल्लाको देश हो।
हल्ला र गफको यहाँ कमी छैन। दक्षिण एसियाली खेलकुदपछि गलाभरी पदक नै पदक हात पारेकी गौरिका सिंहलाई झापाली पारामा प्रधानमन्त्रीले ‘म पनि पौडीबाज हो नि’ भन्न भ्याएका थिए।
लाग्छ, नेपालमा पौडीवाजको कमी छैन। प्रतीभा त साँच्चै हामीले नचिनेकै पो हो कि? भारतबाट नेपाल छिर्न महाकालीमै पौडनेहरु छन् यहाँ। प्रतीभा देखाउन यस्तो अवस्था कुर्नुपर्ने रहेछ।
+++
फुर्सदै छ। विचार गर्दै गयो। अवस्था हेर्दा चाल्स डिकेन्सको एउटा पुरानो शब्दावलीको याद आउँछ : ‘टेलस्कोपिक फिल्यान्थ्रोपी।’ उनको उपन्यास ब्लिक हाउसमा ‘टेलिस्कोपिक फिल्यान्थ्रोपी’ अवस्थालाई देखाइएको छ।
यसको एकजना जेलिबी नामकी महिला पात्र अफ्रिकाको अवस्था सुधार गर्ने एउटा प्रोजेक्टमा लागि परेकी हुन्छिन्। तर, उनलाई न त आफ्नो घरको लठबद्र अवस्थाबारे थाहा हुन्छ न त आफ्नो परिवार लथालिङ्ग भएको नै। उनलाई आफ्नो सामान्य दायित्वबारे पनि बोध हुँदैन तर टाढाको अफ्रिका सुधार्न ठूला कुरा गरिरहेकी हुन्छिन्। उनको त्यो अवस्थालाई टेलिस्कोपिक फिल्यान्थ्रोपीको रुपमा वर्णन गरिएको छ।
यसो विचार गर्यो नेपालको अवस्था पनि उस्तै छ। अर्थात् जसरी दुरबिन लगाएपछि नजिकको देखिँदैन, टाढाको मात्र देखिन्छ नेपालको सबैभन्दा माथिल्लो निकायमा सम्मानितहरुलाई अमेरिकाको अवस्थाबारे चिन्ता र चासो छ तर नेपालकै दार्चुलामा के भइरहेको छ, पत्तो छैन। बोर्डरमा अड्किएकाको थाहा छैन, जो टाढै भए पनि सुरक्षित छन्, तिनमा ध्यान केन्द्रित छ। उहिले कम्युनिस्टहरुले गाउँमा पुँजीबाद भनेर गाली गरेको सुन्थेँ, सायद यही होला कि?
+++
खैर। कोरोनाले विश्वभर धेरै पक्षमा असर पारेको छ। त्यसमा सबैभन्दा प्रभावित मध्येमा खेलकुद अग्रणी नै आउँछ। न मेस्सीले गोल हानेका छन्, न वार्नरको सर्ट नै।
नेपालकै व्यस्त रहने खेलाडी सन्दीप लामिछानेसमेत चितवनमा आनन्दले घरै बसेका छन्। सामाजिक सञ्जालमा लाइभ आएर समर्थकहरुसँग गफिन भ्याएका छन्। उनीमात्र होइन अधिकांश खेलाडी फुर्सदिला देखिन्छन्। सामाजिक सञ्जालमा सक्रिय बनेका छन् उनीहरु, जति उनीहरु केही समय अघिसम्म मैदानमा सक्रिय देखिन्थे।
केही दिन अघिको कुराकानीमा भरत खवास त्रिभुवन आर्मी क्लबका खेलाडीहरु अहिले आफ्नो युनिटमा फर्किसकेको बताउँदै थिए। त्यस्तै ओलम्पिकको तयारीमा जुटेका खेलाडीहरुको अवस्था पनि छ। दक्षिण एसियाली खेलकुदमा कराँतेमा स्वर्ण जितेका नविन रसाइली घरमै अभ्यास गरिरहेको बताउँछन्।
जे होस् खेलाडीहरु कोरोना जित्न भित्रै बसेका छन्। लखरलखर चोकतिर निस्केका छैनन्।
यता कुरा सुन्दै गयो। सन् २०२० का खेलहरु त लगभग स्थगित नै भइसके। २०२१ पनि अनिश्चित नै पो हो कि भन्ने भइसक्यो। सन् २०२२ पनि ‘टाइट’ होला जस्तो भइसक्यो।
अनि यसो अफिसको ग्रुपमा हेर्यो सहकर्मीहरुको भ्याइनभ्याइ छ। आफ्नो हेर्यो उही ‘स्थगित भयो’ भन्दा ठूलो विषय खासै केही पनि छैन। सोच्छु : ‘खै के गरौं?’
अनि, साबुन पानीले हात धोएर आउँछु।