PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

स्वास्थ्य सामाग्री खरीद 'अनियमितता'मा बोले गगन : महासंकटमा पनि यस्तो घीनलाग्दो कृत्य गर्नेलाई दण्डित गर्नैपर्छ



पहिलोपोस्ट

स्वास्थ्य सामाग्री खरीद 'अनियमितता'मा बोले गगन : महासंकटमा पनि यस्तो घीनलाग्दो कृत्य गर्नेलाई दण्डित गर्नैपर्छ

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगनकुमार थापाले कोरोना महामारीको विपत्तीका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारवाही गर्नुपर्ने बताएका छन्।

मेडिकल उपकरण खरीदमा अनियमितता भएको भन्दै चर्को विरोध भएपछि सरकारले बुधवार ओम्नी ग्रुपसँग खरीद ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द भएपछि सत्तारुढ दलभित्रै स्वास्थ्य मन्त्री भानुभक्त ढकालमाथि नैतिकताको प्रश्न उठाइएका बेला प्रतिपक्षी दलका सांसद थापाले दोषीलाई दण्डित गर्नुपर्ने माग गरेका हुन्।

थापाले यो घटनालाई सामान्य रुपमा लिएर बिर्सिन नसकिने स्पष्ट पार्दै दोषी दण्डित नभएसम्म प्रश्न उठाइरहन सबैमा अपीलसमेत् गरेका छन्।

थापाले ट्वीटरमा भनेका छन्, 'महासंकटको अवस्थामा पनि यस्तो घीनलाग्दो कृत्य! स्वास्थ्य सामाग्री खरीद अनियमितताबारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं। दिन ढल्यो, कुरा बिर्सियो हुन हामी कदापी दिने छैनौं।'

उनले चैत २५ पछिको रणनीति र योजनाबारे सरकारलाई प्रश्नसमेत् गरेका छन्। बितेको दुई साताको लकडाउन समयलाई सरकारले सदुपयोग गर्न नसकेको उनको आरोप थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell