PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कोरोना नियन्त्रणका सामग्रीमा भ्रष्टाचार र अपराध भएको छ, जनताले माफ गर्दैनन् : शेखर कोइराला



अनन्तराज न्यौपाने

कोरोना नियन्त्रणका सामग्रीमा भ्रष्टाचार र अपराध भएको छ, जनताले माफ गर्दैनन् : शेखर कोइराला
फाइल फोटो

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कोरोना नियन्त्रणका सामग्रीको आयातमा भ्रष्टाचार गरेर स्वास्थ्यमाथि खेलबाड गर्ने सरकारलाई जनताले माफ नगर्ने चेतावनी दिएका छन्।

नेता कोइरालाले पहिलोपोस्टसितको संक्षिप्त वार्तामा गुणस्तरहीन सामग्री आयात गर्ने सरकारलाई जनताले माफ नगर्ने बताएका हुन्।

‘यस प्रकरणका दुई अलग–अलग पाटा छन्’, कोइरालाले भने, ‘पहिलो त, यो सोझो भ्रष्टाचार हो। सरकारका प्रवक्ता, मन्त्री, स्वास्थ्य विभागका डिजी सबैले २० प्रतिशत त बढी रकम गएको हो भनेर गैरजिम्मेवार कुरा गर्नुभएको छ। कति बढी रकम गएको होला, त्यो छानबिनले देखाउने छ। तर यो भ्रष्टाचार हो।’

‘दोस्रो, भ्रष्टाचारभन्दा पनि ठूलो कुरा यो जघन्य सामाजिक र राष्ट्रिय अपराध हो’, उनले थपे, ‘विश्व स्वास्थ्य सङ्गठन र चीनकै डाक्टरले पनि प्रयोग गर्न इन्कार गरेका नक्कली सामग्री ल्याएर यो महामारीका बेला सरकारले जनताको स्वास्थ्यउपर खेलबाड गरेको छ। सरकारले नेपाली समाज र राष्ट्रमाथि अपराध गरेको छ। यो सबैभन्दा पेचिलो विषय हो र यस्तो सरकारले सत्तामा बसिरहन शोभा दिँदैन।’

उनले जिटुजीको (सरकार–सरकारबिच) तहबाट कोरोना नियन्त्रणका सामग्री छिटो ल्याउन माग गरे।

‘जिटुजीबाट सामग्री ल्याउने बेला यही हो’, कोइरालाको भनाइ थियो, ‘तर नेपालमा दर्ता नभएको ओम्नी कम्पनीले चीनमा पनि दर्ता नभएको कम्पनीसित ल्याएको भन्ने समाचार पढियो। सरकारका मन्त्रीहरू जनताले तिरेको राजस्वउपर महामारीका नाममा दाइँ गरिरहेका छन्।’

उनले ओम्नी कम्पनीको ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालो सूचीमा राख्ने सरकारले ओम्नीसित सम्झौता गर्ने मन्त्रीलाई कारबाहीको दायरामा किन ल्याउन सक्तैन भन्दै आक्रोश व्यक्त गरे।

‘कोरोना नियन्त्रणका सामग्रीको आयात गर्न सरकारले धेरै ढिलो गर्यो’, कोइरालाको धारणा थियो, ‘चीनको वुहान प्रान्तबाट अन्य मुलुकमा कोरोना सर्न थालेपछि नै सरकारले जीटुजी तहबाट किट्स र अन्य सामग्री मगाउनु पर्थ्यो। यति बेलासम्म देशका सबै मुख्य स्वास्थ्य संस्थामा सामग्रीहरू पुगिसक्नु पर्थ्यो।’

उनले जुन कुरामा सरकार जिटुजी तहमा जानु पर्ने हो, त्यसमा नगएर अरू विषयमा जिटुजी तहमा गएको प्रचार गर्छ भन्ने टिप्पणी गरे।

कोइरालाले सरकारले अहिले पनि गुणस्तरीय सामग्री ल्याउन पहल नगरेको प्रतिक्रिया व्यक्त गरे।

‘आएका सामग्रीहरू गुणस्तरहीन भन्दै चिकित्सकहरूले प्रयोग गर्न मानेन, फिर्ता गरिदिए’, उनको प्रश्न थियो, ‘सरकारमा बस्नेहरूमा आत्मसम्मान र स्वाभिमान छ भने योभन्दा लज्जास्पद अवस्था के हुनसक्छ?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell