PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विमान काठमाडौंमा ल्यान्ड भएको १६ दिनपछि कोरोनाको नयाँ केस, त्यही विमानका १८ सम्पर्क बाहिर



पहिलोपोस्ट

विमान काठमाडौंमा ल्यान्ड भएको १६ दिनपछि कोरोनाको नयाँ केस, त्यही विमानका १८ सम्पर्क बाहिर

काठमाडौं : कतारको दोहाबाट आएको क्युआर ६५२ विमानमा सवार रहेका ३ जनामा कोभिड १९ को संक्रमण देखिँदा विमानमा यात्रारत १ सय ५८ जना नै शंकाको घेरामा परे। एकै विमानमा रहेका तीनजना महिलामा कोरोना संक्रमण देखिएको छ। चैत ४ गते नेपाल ल्यान्ड भएको थियो कतार एयरको उक्त विमान।

नेपाल ल्यान्ड भएको १६ दिन पछि संक्रमित पहिचान हुनुले कोरोनाविरुद्ध सरकार कति सुस्त गतिमा अगाडि बढिरहेको छ, प्रस्ट भएको छ। त्यसपछि पनि विमानहरु नेपाल आएका छन्। आएका सबैजनालाई सरकारले ट्र्याकिङसमेत गर्न सकेको छैन।

क्युआर ६५२ मा आएकामध्ये अझै १८ जना सरकारी संयन्त्रको सम्पर्कबाहिर नै छन्। प्रहरीले प्राथमिकताको साथ उनीहरुलाई खोजी गरिरहेको जानकारी दिएको छ। प्रत्येक जिल्लामा सर्कुलर जारी गरेर नै खोजी गरिरहेको बताएको छ।

४८ जिल्लाका मानिसहरु सो विमानबाट काठमाडौं ओर्लिएका थिए। राहदानीमा भएको जानकारी अनुसार प्रहरीले खोजी गरेको थियो। तर, केहीको सम्बन्धित ठेगानामा नभएको र अन्यन्त्र भएकाले खोज्न केही ढिला भएको नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले जानकारी दिए।

प्रहरीको सम्पर्कमा आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। नभेटिएकको अवस्था अज्ञा छ, उनीहरु सेल्फ क्वारेन्टाइनमा हुन पनि सक्छन्, नहुन पनि।

यता स्वास्थ्य मन्त्रालयले गरेको ब्रिफिङमा भने पछिल्ला तीन विमानमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइसकेको दावी गरिएको छ। पछिल्ला तीन विमानमा ४ सय ४० जना मानिस नेपाल आएका छन्। तीमध्ये ३ सय २४ जनामात्र सम्पर्कमा रहेको प्रहरीले आजमात्र पहिलोपोस्टलाई जानकारी दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell