PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

आर्मी अस्पतालमा कोरोना परीक्षण सुरु, देशभर १०५ जना आइसोलेसनमा, कन्ट्याक्ट ट्रेसिङ सकियो



पहिलोपोस्ट

आर्मी अस्पतालमा कोरोना परीक्षण सुरु, देशभर १०५ जना आइसोलेसनमा, कन्ट्याक्ट ट्रेसिङ सकियो

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको दायरा बढ्दै गएको जानकारी दिएको छ।

बिहीवार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा विभिन्न अस्पतालमा परीक्षण सुरु गरिएको र परीक्षणको दायरा बढ्दै गइरहेको बताए। उनका अनुसार छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालबाट पनि परीक्षण सुरु गरिएको छ। उक्त अस्पतालमा १७ जनाको स्बाब लिएको प्रवक्ता देवकोटाले बताए।

उनका अनुसार हालसम्म ११ सय ८४ वटा परीक्षण भइसकेको छ। ४३ वटा केस प्रयोगशालामा परीक्षणको क्रममा छ।

प्रवक्ता देवकोटाका अनुसार काठमाडौं उपत्यकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा स्वाब परीक्षण भइरहेको छ। त्यसैगरी बुटवल, सुर्खेत, धनगढी र हेटौंडामा ल्याब जडान भइसकेको र परीक्षण हुने क्रममा छ। जनकपुरमा ल्याब जडान कार्य जारी छ। त्यहाँ पनि छिट्टै परीक्षण सुरु हुनेछ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर १०५ जना आइसोलेसनमा छन्। १६ वटा उपत्यकामा र ९९ वटा बाहिर आइसोलेसनमा रहेका छन्।

त्यसैगरी चारवटै केसहरुको कन्ट्याक्ट ट्रेसिङ लगभग सकिएको प्रवक्ता देवकोटाले बताए। 'इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही थोरैको बाँकी छ। आफ्नो काम गरिरहेको छ। परिवारका सबै सदस्यको नमूना संकलनको काम भइसकेको छ। केहीको रिपोर्ट आउन बाँकी छ। यो चार वटा केसको लागि अन्तिम चरणमा छौं', उनले भने।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को कुरा गर्दा सबै प्रदेशमा पठाइसकेको बताउँदै प्रवक्ता देवकोटाले केही अस्पतालले माग गरेको र प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell