PahiloPost

May 15, 2024 | २ जेठ २०८१

लकडाउनमा पशुपतिनाथ क्षेत्रको वाग्मती आरती, 'नियमित आरती खण्डित नहोस् भनेर सांकेतिक प्रयास'

लकडाउनमा पशुपतिनाथ क्षेत्रको वाग्मती आरती, 'नियमित आरती खण्डित नहोस् भनेर सांकेतिक प्रयास'

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : पशुपति क्षेत्रमा हरेक साँझ पशुपतिनाथ मन्दिरको पूर्वबाट मन्दिरतिरै फर्केर वाग्मतीको आरती हुन्छ। तेह्र वर्षदेखि नियमित हुने गरेको यस आरतीमा दैनिक सैयौं भक्त तथा दर्शकको उपस्थिति हुन्छ।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण वाग्मती गंगा आरती समितिले आयोजना गर्दै आएको आरतीमा सांगीतिक प्रस्तुति, भजनकृतन र सयौं दर्शकको भिड भने हुँदैन। यसअघिको नियमित आरती तीन जना पूजारीले गर्थे। पृष्ठभूमिमा प्रत्यक्ष संगीतसहित भजन कृतन हुन्थ्यो। तर, लकडाउन घोषणा हुनुअघि नै सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस जम्मा नहुन निर्देशन दिएको थियो। सोही निर्देशन पालना गर्दै आरतीको सांगीतिक प्रस्तुति स्थगित गरिएको हो।

लकडाउन घोषणा भयो। पशुपति क्षेत्रमा आरती हेर्नकै लागि भनेर आउने भक्त/दर्शक आउन छाडे। यद्यपि आरती खण्डित नहोस् भन्ने उद्देश्यले समितिले सांकेतिक आरतीको सुरुवात गर्‍यो। हाल एक जनामात्र पूजारीले आरती गर्दै आएका छन्।

सांकेतिक आरतीको समयमा संक्रमण सावधानी अपनाउँदै भक्तालुले ल्याउने पूजा सामाग्रीसमेत लिइँदैन भने टीका, प्रसाद पनि वितरण हुँदैन।

‘नियमितता नतोड्नका लागि यस्तो प्रयास गरेका हौं’, पूजारी भूवन चालिसेले भने। उनका अनुसार यसअघि कहिल्यै पनि सांगीतिक प्रस्तुतिसहित आरती रोकिएको थिएन। आरती समितिका संस्थापक सदस्य भीमप्रसाद भट्टराईले पहिलोपोस्टसँग भनेका छन्, ‍’भूकम्पले सिङ्गो सहर लडाउँदा पनि आरती जारी रह्यो। भक्त आइरहे। यो १३ वर्षयता हाम्रो समूहले जितेको विश्वास र साथले यो सबै सम्भव भयो।'

तर हाल भने विश्वव्यापी माहामारीका कारण आरतीको समय पनि पशुपति क्षेत्र शून्य लाग्छ।



ट्रेन्डिङ पोस्ट

Ncell