PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

स्नेहा छिन् र पो यी पशुपक्षीले भोकै बस्नु पर्दैन!

स्नेहा छिन् र पो यी पशुपक्षीले भोकै बस्नु पर्दैन!

समर्थ रञ्जित/पहिलोपोस्ट


स्नेहा केयर्स अर्थात् स्नेहा श्रेष्ठले साँच्चै ख्याल राख्छिन्। आफ्नो अनि आफ्नो वरपर रहेका मानिसको मात्र होइन पशुपक्षीको पनि। त्यसैले त ६ वर्ष यता उनले सयौं जनावरलाई आश्रय दिइरहेकी छिन्। कुकुरदेखि छाडा चौपाया अनि चराचुरुङ्गीसम्मै। आफूले पालेका पशुपक्षीको मात्र होइन सडका छाडिएकाहरुको पनि उस्तै ख्याल राख्छिन् उनी।

त्यसैले लकडाउन शुरु भएपछि आफ्नो केयर सेन्टरको ढोका थुनेर बसिनन्। आवश्यक सरसामानको जोहो गरिन् र निस्किइन् सडकमा, भोका कुकुर, छाडिएका चौपाया, चराचुरुङ्गीलाई खुवाउन। हरेक दिन दुई वटा फरक गाडीमा आहारा लिएर ललितपुर महानगर भित्र र रिङरोडमा भेटिएका पशुपक्षीलाई खुवाउँदै हिँडेकी छिन्।

बिहीवार पनि बागबजार, टुँडिखेल, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल, पुल्चोक र पाटन क्षेत्रका कुकुर, बाँदर, चौपाया, परेवा आदिलाई खान दिइन्। कुकुरलाई भात, बाँदरलाई उसिनेको आलु र सखरखण्ड, गाइवस्तुलाई बन्दा, परेवाका लागि चामल बोकेकी थिइन्।

‘हामीले लकडाउनका कारण मान्छेले भोगेको समस्या त बुझ्यौं तर जनावरलाई बुझेनौं किनकि उनीहरु बोल्न सक्दैनन्। भोक लाग्यो, तिर्खा लाग्यो भन्दैनन्। तर, कति कुरा महसुस गर्नसक्नु पर्छ,’ खाना खुवाउँदै गरेकी स्नेहाले भनिन्।

नेपालमा पशुपक्षीलाई चाडपर्व विशेषमा पूजिने र लकडाउन जस्तो अवस्थामा तिनै पशुपक्षीका लागि खाना पानीको समेत व्यवस्था नगरिएकोमा दु:ख व्यक्त गरिन्।

‘राज्यले आफ्नो ठाउँमा जीवित प्राणीको बारेमा सोच्दैन भने एक दिन पूजा गरेर के गर्नु?’ उनले प्रश्न गरिन्।

उनले व्यक्तिगत् एवं संस्थागत् तवरमा भोका जनावर खुवाउँदै हिँड्दा पनि दुर्व्यवहार भोग्नु परेको समेत जनाएकी छिन्।

उनले भनिन्, ‘यसैगरी आहारा लिएर हिँड्न पास लिन गएँ। तर मेरो निवेदन च्यातेर फालिइयो। यस्तो दुर्व्यवहार कसैले सहन नपरोस्। सरकारले पशुपक्षी प्रतिको जिम्मेवारी वहन गरोस्।’



ट्रेन्डिङ पोस्ट

Ncell